 
																			२५ वैशाख, काठमाडौं । सिटी होटल लिमिटेड (हायात प्लेस) ले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ । कम्पनीले २५ वैशाख सोमबारदेखि आईपीओ निष्कासन खुला गरेको हो । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुने करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएको सेयरमध्ये पहिलो चरणमा १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्कासन गरिसकेको छ । यस्तै ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।
होटलको आईपीओमा २८ वैशाखसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने म्याद ८ जेठसम्म थप हुनेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यको स्वीकृति पाएका बैंक तथा वित्तीय संस्था र मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले काठमाडौंको सोल्टीमोडमा हायात प्लेस ब्राण्डबाट पाँचतारे होटल सञ्चालन गरिरहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4