+
+

स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले संचालनमा ल्याए भिडियो म्यागजिन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते २०:४७

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट संकायका विद्यार्थीले पहिलोपटक एसओएमटीयू भिडियो म्यागजिन संचालनमा ल्याएका छन् । आयोजित समारोहमा भिडियो म्यागजिनको शुभारम्भ गरियो ।

टीयूको व्यवस्थापन संकायका डीन प्राध्यापक डिल्लीराज शर्माले उक्त डिजिटल प्लेटफर्मको उद्घाटन गरे । यो प्लेटफर्ममा मानव स्रोत, वाणिज्य, प्रविधि, बजारीकरण, उत्पादन, भिडियो सम्पादन विषयवस्तु र अनुसन्धानजस्ता पक्ष समावेश छन् ।

यो भिडियोबाट विद्यार्थीले संस्थाहरुको कार्यसंचालनको पद्दति सिक्ने बताइएको छ । साथै भिडियोमा यस संकायमा अध्ययन गरेर दिगो व्यवसाय र उद्यमशिलतामा सफलता हासिल गरेका पूर्वविद्यार्थीको कथा पनि मासिकरुपमा भिडियोमार्फत प्रस्तुत गरिने जनाइएको छ ।

प्रमुख अतिथि डीन शर्माले उद्यमशिल व्यक्ति र विद्यार्थीबीच अन्तक्रिया, अनुभव आदानप्रदान र अध्ययन गर्न भिडियो म्यागजिन लाभदायक हुने बताए । ‘मुलुक र समाजको लागि आवश्यक कुरा के हुन् ? वर्तमानको आवश्यकता के हो भनेर छलफल गर्न यो प्लेटफर्म उपयुक्त हुने देखेको छु’ शर्माले भने ।

भिडियो सम्पादक मञ्जिल खुलालले अनलाइनखबरसँग भनिन्, ‘हामीले केस स्टडी पढ्छौं । विश्लेषण गछौं, उत्तर लेख्छौं तर भि-म्यागले चाहिँ वास्तविक संस्थालाई विश्वविद्यालयमै अभ्यास गर्ने अवसर दिन्छ ।’ विद्यार्थीले आफूसँग भएको प्रतिभालाई उक्त प्लेटफर्ममा देखाउन सक्ने खुलाल बताउँछिन् ।

उक्त भी-म्यागमा मासिकरुपमा नयाँ विषयवस्तु प्रस्तुत गरिने भएको छ । नेपाली विश्वविद्यालयमा पहिलोपटक यसरी भिडियो म्यागजिन संचालनमा ल्याइएको सम्पादक खुलालले जानकारी दिइन् । ‘हाम्रो प्रमुख उद्देश्य भनेको विद्यार्थीको प्रतिभालाई डिजिटलरुपमा समृद्ध तुल्याउनु हो’ उनले भनिन् ।

साथै, विश्वविद्यालयभित्रको संस्थाको वास्तविक समयको संस्कृति र व्यवहार अध्ययन गर्न पनि यो प्लेटफर्मबाट सघाउ पुग्ने आशा लिइएको छ । नेटिजनले यो भी–म्याग युट्युव र यसको वेबसाइटमार्फत ब्राउज गर्न पाउनेछन् । गंगाराम विश्वकर्मा प्रधान सम्पादक रहेको यो म्यागजिनमा खुलालसहित नरेश मुखिया, शरद श्रेष्ठ र सन्तोष शाह भिडियो सम्पादक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?