
१ जेठ, काठमाडौं । कीर्तिपुरको प्यंगःथामा स्थापित रातो मच्छिन्द्रनाथ र याकःमिसाको मूर्ति विवादमा काठमाडौं महानगरपालिकाले चासो देखाएको छ ।
ललितपुर र कीर्तिपुर शहरबीच उक्त मूर्तिलाई लिएर सांस्कृतिक विवाद कायमै रहेको समयमा काठमाडौं शहरको समेत प्रवेशले तीन शहरबीच असामान्जस्य पैदा हुने संकेत देखिएको छ ।
कीर्तिपुरको उपमहेश्वर फेदी प्यंगःथामा सुखी गँछेः समाजले १५ मंसिर २०७९ मा उक्त मूर्ति स्थापना गरेको थियो । सो कार्यक्रममा काठमाडौं महानगरका मेयर बालेन शाह आफैं सहभागी भएका थिए ।
दुई शहरबीच विवाद कायमै रहेपछि २४ वैशाखमा कीर्तिपुरका बासिन्दाले प्यंगःथाबाट ती मूर्तिहरु निकालेर नगरपालिकामा राखेका थिए । ती मूर्ति बनाउन काठमाडौं महानगरले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
प्यंगःथाबाट ती मूर्तिहरु निकालेर नगरपालिकामा राखेको पाइएपछि काठमाडौं महानगरको टोली सोमबार कीर्तिपुरमा मूर्ति माग्न पुगेको छ ।
‘हामीले आर्थिक सहयोग गरेर निर्माण गरेको मूर्ति दिनुस् भन्दै महानगर प्रहरीसहित काठमाडौंको टोली कीर्तिपुर आएको थियो’, कीर्तिपुरका मेयर राजकुमार नकर्मीले भने ।
उनले काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर र नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टिमले कीर्तिपुरमा आएर मूर्ति मागेको बताए ।
‘मूर्ति बनाउन दिएको रकम फर्छ्यौट गर्न हामीलाई गाह्रो भयोे । मूर्ति राख्ने कि नराख्ने भन्ने विवाद तपाईंहरु बीच छ । त्यही भएर हामी मूर्ति माग्न आएका हौं, उहाँहरुले भन्नुभयो’, नकर्मीले अनलाइनखबरलाई भने ।
मंगलबार ललितपुरमा मूर्ति स्थापनाबारे ‘फाइनल मिटिङ’ हुने भन्दै काठमाडौंबाट आएको टोलीलाई कीर्तिपुरबाट फिर्ता पठाइएको उनले बताए ।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले कीर्तिपुरमा विरोध भएर मूर्ति निकालिसकेको अवस्थामा मूर्ति लिन महानगरको टोली गएको बताए । ‘हामीले सहयोग गरेर बनाएको मूर्ति मन्दिरबाट निकालेपछि हामीले आफैं राख्न लिन गएका थियौं । तर उहाँहरुले दिनुभएन, यत्तिकै फर्केर आयौं’, प्रवक्ता मानन्धरले भने ।
मूर्ति स्थापना गरेपछि ललितपुरको ह्यगृब भैरवनाथ र ३२ पानेजु (पुजारी) संघले लिखित असहमति जनाउँदै कीर्तिपुरमा प्रसाद नै नलैजाने चेतावनी दिएका थिए ।
मूर्ति स्थापना गरेलगत्तै ह्यगृब भैरवनाथ र ३२ पानेजु (पुजारी) संघले १९ मंसिरमा असहमति जनाउँदै विज्ञप्ति निकालेर विरोध जनाएका थिए । संघले २१ मंसिरमा गुठी संस्थानको कार्यालयमा ध्यानाकर्षण पत्र पनि बुझाएको थियो ।
विरोधका बाबजुद कीर्तिपुरले बेवास्ता गरेपछि ३ पुसमा अर्को विज्ञप्ति निकाल्दै संघले मच्छिन्द्रनाथको प्रतिमूर्ति र याकःमिसाको मूर्ति नहटेसम्म प्रसाद ग्रहण नगर्ने चेतावनी दिएको थियो ।
पानेजु संघ, ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिका बीच समस्या समाधानका लागि पटक पटक वार्ता भए पनि सहमति नहुँदा पानेजु संघले प्रसाद नलैजाने भन्दै १२ वैशाखमा आधिकारिक निर्णय गरेको थियो । त्यसपछि २४ वैशाखमा कीर्तिपुरका स्थानीयहरुले प्यंगःथाबाट मूर्ति निकालेर नगरपालिकामा राखेका थिए ।
करिब १६०० वर्ष अघिदेखि कुनै मूर्ति नभएको ऐतिहासिक तथा धार्मिक स्थलमा करुणामय, मच्छिन्द्रनाथको प्रतिमूर्ति र शक्ति स्वरुपा कन्या याकःमिसाको मूर्ति स्थापना गरेपनि सिर्जना भएको विवादले परम्परा नै रोकिने खतरा बढ्दै गएको छ ।
मच्छिन्द्रनाथको जात्रा अगाडि मंगलबजारको सोह्रखुट्टे पाटीमा बसी साइत हेरेपछि निस्केको उपयुक्त साइतको ४ दिन अगाडि करुणामयको प्रतिनिधिस्वरुप जल पानेजुले नाङ्गो खुट्टाले हिँडेर कीर्तिपुरमा रहेको याकःमिसालाई प्रसाद ग्रहण गराउनुपर्ने परम्परा छ ।
रातो मच्छिन्द्रनाथको प्रत्येक वर्ष पाटनमा गरिने जात्रा र १२ वर्षको १ पटक बुंगमतीबाट पाटनमा लामो रथ यात्रा हुने गरेको छ ।
प्रतिक्रिया 4