+
+

आईपीएलबाट सन्यासबारे धोनी भन्छन् : निर्णय गर्न मसँग ८-९ महिना छ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १० गते १२:४४

१० जेठ, काठमाडौं । महेन्द्र सिंह धोनीले ४१ वर्षमा पनि इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सको कप्तानी गरिरहेका छन् ।

उनकै कप्तानीमा चेन्नाईले मंगलबार साविक विजेता गुजरात टाइटन्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । चार पटकको च्याम्पियन चेन्नाई फाइनल पुगेको यो दशौं पटक हो ।

उमेर चार दशक काटिसक्दा पनि महेन्द्र सिंह धोनी आईपीएलबाट सन्यास लिन हतारोमा छैनन् । ४१ वर्षीय धोनीले यसबारे निर्णय लिन आफूसँग पर्याप्त समय भएको बताएका छ । अर्को सिजनको आईपीएलको लागि डिसेम्बरमा अक्सन हुने हुँदा आफूले त्यतिबेला नै निर्णय गरे हुने उनको भनाइ छ ।

‘मसँग निर्णयका लागि ८-९ महिना समय छ । किन अहिले टाउको दुखाउनु ?’  चेन्नाईलाई दशौं पटक फाइनल पुर्‍याएपछि धोनीले पोष्ट म्याच प्रिजेन्टेसनमा भने ।

चेन्नाई(१७२/७) ले घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा भएको पहिलो क्वालिफायरमा गुजरातलाई (१५७/१०) १५ रनले पराजित गरेको थियो ।

यस सिजनको आईपीएल सुरु भएदेखि नै २०२३ धोनीका लागि अन्तिम आईपीएल हुन सक्ने चर्चा चलिहरेको थियो । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट भने यसअघि नै सन्यास लिइसकेका छन् ।

‘म सधैं चेन्नाई आउनेछु । म जनवरीदेखि घर बाहिर छु । मार्चदेखि प्राक्टिस गरिरहेको छु । त्यसैले हामी हेर्दैछौं’, भारतीय राष्ट्रिय टिमका पूर्व कप्तान धोनीले भने ।

चार पटकको च्याम्पियन चेन्नाई गत सिजन नवौँ भएको थियो । तर यस सिजन भने चेन्नाईले साविक विजेता गुजरातलाई नै हराएर फाइनल पुगिसकेको छ ।

‘मेरो विचारमा आईपीएल धेरै ठूलो छ । यहाँ १० टिम छन् । र यो अझै कठिन बन्दै छ । दुई महिना भन्दा बढीको कडा मिहेनतको नतिजा हो । सबैले क्यारेक्टर देखाएका छन् । सबैले योगदान गरेका छन् । मिडल अर्डरले धेरै अवसर पाएका छैनन् । तर हामी जहाँ छौँ त्यसमा हामी खुशी छौं।’

धोनीले गुजरात पनि राम्रो टिम रहेको बताउदै जडेजाले राम्रो खेल्दा फाइदा भएको बताए । चेन्नाईका जडेजाले अलराउण्ड प्रदर्शन गर्दै महत्वपूर्ण २२ रन बनाएका थिए भने बलिङमा ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?