
२६ जेठ, काठमाडौं।नेपाली कांग्रेसका महामहामन्त्री गगन थापाले एउटै व्यक्ति दुई पटक भन्दा प्रधानमन्त्री किन बन्ने भन्दै प्रश्न उठाएका छन्।
सभापति शेरबहादुर देउवा प्रमुख अतिथि भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको कार्यक्रममा महामन्त्री थापाले भने, ‘एउटै व्यक्ति दुई पटक भन्दा बढी प्रधानमन्त्री किन बन्ने? दुई, तीन, चार चोटि प्रधानमन्त्री हुने कुरा व्यक्ति वा नेतासँग जोडिएको प्रश्न होइन। विधिसँग जोडिएको प्रश्न हो।’ सभापति देउवा पाँच पटक प्रधानमन्त्री बनिसकेका छन्।
एउटै व्यक्ति पटक पटक एउटै पदमा रहने विषय पार्टीभित्र खुलेर छलफल गर्ने बेला भएको थापाले बताए। कांग्रेस ठीक ठाउँमा उभिएन भने नेपालमा विधिको शासन नरहने थापाको जिकिर छ।
पार्टीभित्र क्रियाशील सदस्यता वितरणको प्रक्रियाले गुट बनेको थापाले बताए। सीमित व्यक्तिलाई सदस्यता दिने, दिइएको सदस्यताका आधारमा प्रतिनिधि छान्ने प्रणाली गलत रहेको थापाको निचोड छ। ‘गुट भत्काउने हो भने सदस्यता दिने प्रणाली भत्काउनुपर्नेछ’ महामन्त्री थापाले भने,‘आम सदस्यले उम्मेदवार छान्ने विधि बनायौं भने गुटहरु रहँदैन।’
कांग्रेसको शुभेच्छुक संस्था डीएलएको ११औं महाधिवेशन चितवनमा शुक्रबारदेखि सुरु भएको छ।
प्रतिक्रिया 4