
३० जेठ, काठमाडौं । खानेपानी तथा सरसफाइ आयोजना धादिङमा नगर विकास कोषको ४ करोड ७७ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको छ । सह–लगानी तथा साझेदारी नीति अवधारणामा सरकार तथा उपभोक्ताको संयुक्त सह–लगानीमा निर्माण हुने मनपाङ खोला सल्यानटार सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनामा कोषले ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।
आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएका बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्तितर्फ)को लागत २३ करोड ८५ लाख ४९ हजारको २५ प्रतिशतले हुने रकम ४ करोड ७७ लाख ९ हजार कोषबाट ऋण लगानी हुनेछ ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र मनपाङ खोला सल्यानटार सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कृष्णकुमारी थापाबीच हस्ताक्षर भएको छ । सम्झौतामा त्रिपुरासुन्दरी गाउँपालिका धादिङका अध्यक्ष राजु उप्रेती र उपाध्यक्ष देवराज धरेलले जमानतकर्ताको रुपमा हस्ताक्षर गरेका छन् ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ सेवाक्षेत्र रहेको उक्त आयोजनाका लागि कुल लागतको सरकारबाट ७० प्रतिशत अनुदान, कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिनेछ । उक्त आयोजना निर्माणपछि सन् २०२३ मा २ हजार ८९७ घरधुरीका ९१४४८१ जनसंख्यालाई २४ सै घन्टा खानेपानी सेवा पुर्याउने लक्ष्य छ ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजनालाई गाउँपालिकाकै राष्ट्रिय गौरवको आयोजनाको रुपमा महत्व दिँदै समयमै गुणस्तरीय रुपमा सम्पन्न गराउन तथा दिगो रुपमा सञ्चालन गराउन संस्थाले आवश्यक कार्यविधि निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रतिक्रिया 4