
२१ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सरकार गठनका लागि दाबी पेश गर्ने क्रममा सभामुख नभई प्रदेशसभा सदस्य बाबुराम गौतमको समर्थन लिएको बताएका छन् ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका थापाले मुख्यमन्त्रीमा दाबी गर्दा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका साथै सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेका थिए ।
मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले सभामुखलाई विवादमा पार्ने काम आफूहरुले नगरेको दाबी गरेका छन् । ‘उहाँ सभामुख मात्र होइन, प्रदेशसभा सदस्य पनि हो । ९३ जना प्रदेशसभा सदस्यमा बाबुराम गौतम पनि हो’, उनले भने, ‘हामीले सभामुखको नाताले होइन, प्रदेशसभा सदस्यको नाताले समर्थन लिएका छौं ।’
सभामुख निर्वाचित भएसँगै गौतमले दलको सदस्यता त्यागेको भन्दै थापाले आफूहरुले पनि तटस्थ सदस्यका रुपमा गौतमको समर्थन लिएको दाबी गरेका छन् ।
उनले प्रदेशको संरचनाभित्र रहेर सरकार विस्तार लगायतको काम गर्ने र संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने बताए ।
प्रतिक्रिया 4