
भाषण आफैंमा एउटा कला हो । जुन कलाको प्रयोग गरी विश्वमा ठूल्ठूला क्रान्ति सम्भव भएका थुप्रै उदाहरण छन् । यो एकदमै धेरै शक्तिशाली हुन्छ । यसको सही सदुपयोग गर्न सकियो भने गान्धी, मण्डेला र बुद्धहरू जन्मिन सक्छन् ।
भाषणले हेप्नोटाइज गर्ने क्षमता पनि आफूसँग राखेको हुन्छ । र, जब मानिस भाषणको मायाजालमा परी हेप्नोटाइज हुन थाल्छन्, तब तानाशाहको जन्म अनि तानाशाही सुरु हुन्छ । यो गुण–सिद्धान्तलाई पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बडो राम्ररी आत्मसात् गरेको देखिन्छ ।
ग्रीकका दार्शनिक एरिस्टोटलले भनेका छन्-चलाख भाषणबाजले भाषण गर्दा मुख्यतः तीन वटा कुरा इथोस, लोगोस र प्याथोसमा ध्यान दिने गर्दछन् । इथोसमा एउटा आधिकारिकता बनाइन्छ, लोगोसमा तर्क दिइन्छ र प्याथोसमा भावनाको प्रयोग गरिन्छ ।
राजनीतिज्ञहरूले आफ्नो भाषणकलामा प्याथोसको धेरै नराम्रो तरिकाले दुरुपयोग गर्छन् । २०७२ सालमा १६ बुँदे षड्यन्त्र गरी जब संविधान निर्माणको सबै प्रक्रियालाई मिचेर द्रुतमार्गबाट संविधान जारी गरियो त्यतिबेला पनि शासकहरूले प्याथोसको खुब प्रयोग गरे ।
उनीहरू भन्दै हिंड्न थाले-अब तुरुन्तै संविधान द्रुतमार्गबाट ल्याइएन भने देशमा राजा आइहाल्छ, मधेशीहरूले देश टुक्र्याइहाल्छ । जसको सबभन्दा जबर्जस्त फिल्डिङ खड्गप्रसाद शर्मा ओलीले गरेका थिए । जसका कारण उनको पार्टीले भारी बहुमतले चुनाव जित्यो ।
हो, उनी नेता थिए, उनले यस्ता भाषण दिनु फरक तरिकाले सायद ठिकै होला । यसैलाई सियासी भनिन्छ । तर, हामीलाई यस्तै भाषण विरुद्ध भाषण गर्न मन छ । तर, हामीले कतै भाषण दिन पाएनौं । त्यसैले हामीले भाषण लेख्नु नै उपयुक्त ठान्यौं । अब हाम्रो भाषण यसरी सुरु हुन्छ’
आदरणीय जनसमुदाय, जखन ई काठमाडौं खाडल में भाषण करैछी, तखन अपने आपके उपर बहुत दबाब महसुस करैछी । कियाक त हमर मातृभाषा मैथिली/मगही है और मौसी भाषा भोजपुरी/बज्जिका । लेकिन बाज परैय नेपाली भाषामें । जई भाषामें अपना सब आइयो, हिजो आ भोलिमें अलमलमें रहैछी । और त और तीजसँ एकदिन पहिने खाइबाला चिज के ‘दर‘ कहै है से बात भर्खर बितल तीजमें बुझ्ली । खैर, केहनो टुटल फुटल नेपाली भाषामें भाषण देनाई बाहेक कोनो विकल्प सेहो नई है !
यस कार्यक्रममा उपस्थित हाम्रा अग्रज, बुद्धिजीवी, पत्रकार, बौद्धिक वर्ग, सुरक्षाकर्मी लगायत तमाम आन्दोलनकारी साथीहरूमा रूपान्तरणकारी अभिवादन । मित्रहरू, आज माइतीघरमण्डलमा आयोजकमा बृहत् मधेशी युवा आन्दोलन लेखेर आन्दोलन गरिरहँदा एकदम धेरै आनन्द र गौरवान्वित महसुस हुँदैछ ।
तपाईंहरूले काठमाडौंमा थुप्रै आन्दोलन गर्नुभयो, सहभागीहरू पनि राम्रै रहेको देखिन्छ । तर, तपाईंहरूले दिने भाषणको खरो आवाजभित्र कन्टेन्ट भरपुर देखिएन, सुनिएन । यसलाई अर्को अर्थमा भन्नुपर्दा भरुवा बन्दुक पड्काएको जस्तो देखियो । पड्काउँदा आवाज त दिने तर गोली ननिस्किने । र, कदाचित निस्के पनि कतै नलाग्ने ।
तपाईंहरूको भाषण सुन्दा यस्तो लाग्यो कि तपाईहरू पनि काठमाडौंका ती तथाकथित चार-पाँच जना अभियन्ता, नेता जो पछिल्ला वर्षमा यस्तै चर्का भाषण, अराजक गतिविधि, भिजिलान्ते प्रवृत्ति र जहाँ पनि ३ करोड जनताको धम्की दिंदै एरिस्टोटलकै तीन गुणमध्ये प्याथोसको प्रयोग गरी जन्मेको अभियन्ता जस्तो हुँदै गइरहनुभएको छ ।
अरे तपाईं विद्यापति, अष्टावक्र, जनक र दुनियाँलाई ज्ञानको पाठ सिकाउने बुद्धको भूमि मधेशबाट हुनुहुन्छ । तपाईंले त विचार दिन सक्नुपर्छ, ज्ञान दिन सक्नुपर्छ, भिजन दिन सक्नुपर्छ, सिद्धान्त प्रतिपादन गर्न सक्नुपर्छ, आन्दोलनलाई नयाँ सोच र नयाँ शिराबाट उठान गर्न सक्नुपर्दछ ।
तपाईं त शोषित वर्गबाट हुनुहुन्छ । तपाईंको समाज, तपाईंको मधेश त २५० वर्षदेखि खाडलमा छ । तपाईंले त अभियानी र लोकप्रियतावादी मनोभावनाभन्दा माथि उठेर काम गर्न सक्नुपर्छ, लोकरिझ्याइँ भाषण विरुद्धको भाषण गर्न सक्नुपर्दछ ।
अब यो शान्त भाषण दिइरहँदा कसैले यो न भन्नुहोला कि डराएर भाषण दिंदैछन् । किनभने जहाँ उभिएर हामी बोलिरहेका छौं नि, यो मधेशको जनकपुर होइन कि मेरो टाउको र छातीमा पोइन्ट ब्ल्यांकबाट ताकी–ताकी गोली हानिदिन्छ ।
यो त काठमाडौंको माइतीघर हो । यहाँ त सयकडौं हतियारधारी मित्रहरू हाम्रो पछाडि सुरक्षाका निम्ति खडा छन् । मधेशमा मात्रै हामी प्रहरीको दुश्मन हुन्छौं, उनीहरूको बन्दुकको निशानामा हुन्छौं । काठमाडौंमा त ‘प्रहरी हाम्रो साथी’ !
मित्रहरू, भाषण केवल भाषण दिनका लागि होइन के, भाषण दिशाबोध गर्नका लागि दिनुस्, भाषण मार्गप्रशस्त गर्नका लागि दिनुस्, भाषण स्वान्तःसुखायका लागि दिनुस्, भाषण अराजकतालाई निरुत्साहित गर्नका लागि दिनुस् । भाषणलाई अभियान, संघर्ष, आन्दोलनको इन्धन पनि भनिन्छ । जसरी मानवलाई बाँचिराख्न पानी चाहिन्छ, जसरी गाडीलाई इन्धन चाहिन्छ, हो त्यसैगरी आन्दोलनलाई भाषण चाहिन्छ नै ।
तर, मानवले खाने पानी र गाडीमा हालिने इन्धन शुद्ध चाहिं हुनैपर्छ । प्रदूषित भयो भने मानव धेरै बाँच्न र गाडी धेरै चल्न सक्दैनन् । गन्तव्यसम्म पुग्नै नसकी नाश हुन्छ । अब भन्नोस् त, मानव शुद्ध पानी विना धेरै बाँच्न सक्दैन भने, गाडी शुद्ध इन्धन विना धेरै चल्न सक्दैन भने प्रदूषित भाषणको बलमा आन्दोलन कसरी बाँच्न र चल्न सक्छ ? आन्दोलन गन्तव्यसम्म कसरी पुग्न सक्छ ?
अचेल चलनचल्तीका नयाँ र पुराना सबै राजनीतिक दलका नेताहरूले लोकरिझाउने भाषण दिन्छन् । भीडले जे सुन्न चाहिरहेको छ, त्यस्तै कुरा उनीहरूले गरेर लोकरिझाउने काम गरिरहेका छन् । झन् नयाँ खुलेका दलका नवनेताहरू खुल्लमखुल्लै भनिरहेछन्– जनता जे भन्छन्, हामी त्यही भन्छौं । जनता जे चाहन्छ, हामी त्यही गर्छौं ।
उनीहरूलाई थाहा छ – भीड अचेत छ, अशिक्षित छ, खाडलमा छ । तर, अचेत भीडलाई चेतनशील बनाउने कुरा उनीहरू गर्दैनन्, अशिक्षित भीडलाई शिक्षा दिने कुरा उनीहरू गर्दैनन्, खाडलमा रहेका नागरिकलाई बाहिर निकाल्न उनीहरू प्रयास गर्दैनन् ।
आखिर किन गर्दैनन् त ? किनकि, खाडलमा रमाइरहेको भीडलाई त्यही खाडल संसार लागिरहेको छ । उनीहरूले बाहिरी संसार बुझेकै छैनन् । त्यसकारण बाहिरी र वास्तविक संसारका कुरा, दर्शनका कुरा उनीहरू तुरुन्तै बुझ्न पनि सक्दैनन्, तत्कालै मन पनि पराउन सक्दैनन् ।
जसरी कुनै कुलतमा फसेका मान्छेलाई कसैले ‘यो राम्रो काम होइन’ भन्दा उसलाई मन पर्दैन, त्यस्तै अवस्था छ नागरिकको । राजनीतिक दलका नेताहरू बाहिरी र वास्तविक संसारको कुरा गर्दा जनताले मन नपराउने, जनाकर्षित नहुने डरले भयभीत छन् ।
त्यसैले उनीहरू लोकरिझाउने भाषण दिइरहेका छन्, धमिलो पानीमा माछा मारिरहेका छन् । उनीहरूका भाषण सुन्दा लागिरहेको हुन्छ– यो देशमा अहिले के भइराखेको हो ? वक्तृत्वकला कि राजनीति ? बुझ्नै सकिएन । मलाई त स्कुल पढ्दाको वक्तृत्वकला प्रतियोगिताको स्मरण भइरहेको छ । खासमा राजनीतिको काम समाजलाई सही दिशामा डोर्याउने हो ।
राजनीतिका भाषणहरूले गलत बाटोमा हिंडिराखेको समाजलाई सही बाटो देखाउनुपर्ने हो । तर, सत्ता र लाभको राजनीतिका आसिक उनीहरू अहिलेको अचेत समाजमा यो काम गरेर जोखिम मोल्न चाहँदैनन् ।
उनीहरूले जे गरिरहेका छन्, समाजलाई गुमराहमा पारेर अपराध गरिरहेका छन् । समाजलाई उनीहरूले झन्–झन् खाडलमा धकेलिरहेका छन् । उनीहरूले गरिरहेको अपराधलाई हामीले अंगीकार ग¥यौं भने हामी पनि उनीहरूकै ग्याङको अपराधी हुनेछौं । हामीलाई अपराधी हुने छुट कदापि छैन ।
मधेश ज्ञानको भूमि हो । हाम्रा भाषणहरू झुर हुनुहुँदैन, तीन करोड जनताको धाक लगाउने कथित अभियन्ताको जस्तो । हामीले समाजलाई सही दिशामा डो¥याउने कुरा गर्न सक्नुपर्छ । दर्शन, इतिहास, तथ्य, चोटिला शब्द, बुलन्द आवाज, ओजिलो तर्क, स्वच्छ भाव र आकर्षक शैली समेटिएको भाषण दिन सक्नुपर्छ ।
यसका निम्ति हामी सबैले अब ज्ञान निर्माण, ज्ञान उत्पादनतर्फ ध्यान दिनुपर्छ । जुन मधेशमा पछिल्लो समय हराउँदै गइरहेको छ । विना ज्ञान गला च्यात्ने र माइक फोड्ने गरी बोलेर तपाईंलाई लाग्छ कि नेता भइहाल्छु भने त्यो तपाईंको दिवास्वप्न मात्र हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाषण गर्दा ‘मित्रों, भाइयाें और बहनाें’ बडो जोडले श्वास तानेर भन्ने गर्छन् । यसैलाई व्यंग्य गर्दै बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवले एक कार्यक्रममा बडो मजाकका साथ भनेका थिए– मोदीजी, थोडा धीरे से बोलिए, नहीं तो नस फट जाएगा !
हो, तपाईंको पनि लालुजीले व्यंग्य गरे झैं हुनसक्छ । तसर्थ, सावधान हुनुहोला । हामीले आउने पुस्तालाई काठमाडौंका केही तथाकथित अभियन्ताहरूको जस्तो भिजिलान्ते र भाइरल प्रवृत्ति हस्तान्तरण नगरौं ।
प्रतिक्रिया 4