+

मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले देखेका मुटुसम्बन्धी खास समस्या

२०८० साउन  १९ गते १२:५२ २०८० साउन १९ गते १२:५२
मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले देखेका मुटुसम्बन्धी खास समस्या

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजुले बिरामीहरूको मुटु छामेको २० वर्षभन्दा बढी भइसक्यो । चिकित्सा उनको पेसा हो । यसबाहेक उनी लेख रचनामा पनि उत्तिकै सक्रिय रहन्छन्, गीत गुन्गुनाउन र चित्र कोर्न पनि रुचि राख्छन् ।

डा. कोजु हेल्थ असिस्टेन्ट, मेडिकल अफिसर, मुटुरोग विशेषज्ञ, अस्पतालको निर्देशक हुँदै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको दुई कार्यकाल डिन समेत भए । एक हप्ताअघि मात्र उनले डिनको कार्यभारबाट अवकाश पाएका छन् । धुलिखेल अस्पतालको संस्थापक सदस्य पनि हुन् डा. कोजु ।

उनै प्रा. डा. कोजुले धुलिखेल अस्पतालमा मुटुरोग विशेषज्ञको रूपमा काम गरिरहँदा र काठमाडौं  विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको डिन हुँदा बटुलेको अनुभव हामीसँग साटेका छन् ।

काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको डिन

धुलिखेल अस्पतालको स्थापना २०५३ सालमा भयो । अस्पतालको स्थापनाकालदेखि नै डा. कोजु धुलिखेल अस्पतालसँग जोडिए । चार वर्ष धुलिखेल अस्पतालमा फिजिसियन भएर बिरामीको सेवा गरे । त्यसपछि एमडी अध्ययनको लागि उनी बंगलादेश पुगे । मुटुको विशेषज्ञ डाक्टर बनेर सन् २००३ मा नेपाल फर्किए । एमडी सकाएर नेपाल फर्किएपछि उनले फेरि धुलिखेल अस्पताल नै रोजे ।

उनले धुलिखेल अस्पतालमा रहेर धेरै मुटुरोगीको सेवा गरे । उनी काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको डिन भएर सेवा गरेको पनि ६ वर्ष पूरा भएको छ । कोजु डिन हुँदा उनकै नेतृत्वमा मेडिकलका थुप्रै कोर्सहरू थपिएका छन् ।

अहिले धुलिखेल अस्पतालमा एमबीबीएस, बीडीएस, बीपीटी, बीएस्सी नर्सिङ, बीएनस, बीएस्सी ल्याब, बीएमआईटी, एमडी, एमएस, एमडीएस, एमएस्सी नर्सिङ, एमपीटी, एसएस्सी माइक्रोबायोलोजी, पीएचडी लगायतका कोर्स सञ्चालन भइरहेका छन् ।

काठमाडौबाहिर मुटुरोगको उपचारको लागि धुलिखेल अस्पताल

डा. कोजुले मुटुरोग विशेषज्ञ भएर धुलिखेल अस्पतालमा काम गरिरहँदा अनगिन्ती मुटु खोतले । तर ६ वर्ष डिन भएपछि जिम्मेवारी फेरियो । जसले गर्दा उनले धेरै समय बिरामीलाई दिन पाएका थिएनन् । अब डिनबाट अवकाशपछि बिरामीको सेवामा बढी केन्द्रित रहने उनी बताउँछन् ।

‘धुलिखेल अस्पतालको मुटुरोग विभाग अहिले तीन जना मुटुरोग विशेषज्ञ, दुई जना रेसिडेन्ट चिकित्सक गरेर पाँच जना चिकित्सकको नेतृत्वमा चलिरहेको छ,’ डा. कोजु भन्छन् ।

अस्पतालमा मुटुरोगसम्बन्धी उपचारका लागि आवश्यक पर्ने स्रोत साधनको पनि राम्रो व्यवस्था छ । क्याथ ल्याब, इको कार्डियोग्राफी, ट्रान्सेसोफेगल इको, मुटुमा पेसमेकर राख्ने लगायत सेवा उपलब्ध भएको कोजु बताउँछन् ।

हरेक दिन बहिरंग विभागमा १५० जना बढी मुटुरोग बिरामीको उपचार हुन्छ । हार्ट अट्याक, हार्ट फेलियर, मुटुको बाथरोग भएका बिरामीहरूलाई भर्ना नै गरेर पनि उपचार भइरहेको छ । अस्पतालमा मुटुरोगको लागि २४ सै घण्टा इमर्जेन्सी सेवा पनि उपलब्ध छ । मुटुको शल्यक्रियासम्बन्धी काम यो हप्ताबाट धुलिखेल अस्पतालमा सुरु हुँदैछ ।

काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा सिन्धुलीलगायतका जिल्लाबाट मुटु र अन्य रोगको उपचारको लागि धुलिखेल अस्पताल आउने गर्छन् ।

डा. कोजु भन्छन्, ‘यो मुनाफारहित अस्पतालले सस्तो शुल्कमा उपचार सेवा दिइरहेको छ । अशक्त, निमुखाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ । साथै भौतिक पूर्वाधार, उपकरण, सेवासुविधामा यसले आफूलाई अरू उन्नत र सहज बनाउँदै लगेको छ ।’

मुटुमा देखिने मुख्य समस्याहरू

मुटुमा लाग्ने विभिन्न रोगहरूलाई समग्रमा दुई किसिमले विभाजन गर्न सकिने डा. कोजु बताउँछन् । ‘एउटा जन्मजात मुटुरोग, जुन मान्छे जन्मिंदै कुनै न कुनै मुटुरोग लिएर आउने भयो । वयस्कमा हृदयघात, मुटु फेल, मुटुको बाथ रोग, मुटुमा पानी जम्ने र मुटुको भल्बहरू खराब हुने लगायत मुटुको समस्या देखिन्छ,’ उनी भन्छन् ।

अर्को जन्मजात मुटुरोग सामान्यदेखि एकदमै जटिल खालका हुन्छन् । त्यसमा सामान्य मुटुमा प्वालदेखि मुटुको मुख्य नली उल्टो बस्ने, बच्चा जन्मिंदा नै निलो हुने कडा खालका मुटुरोग पनि हुन सक्छन् ।

कार्डियो सर्जन र कार्डियोलोजिस्टको काम फरक हुन्छ

आम सर्वसाधारणले मुटुको उपचार गर्ने चिकित्सक सबै कार्डियोलोजिस्ट भन्ने पनि बुझ्छन् । तर मुटुको उपचार कार्डियो सर्जन र कार्डियोलोजिस्ट दुई विशेषज्ञ चिकित्सकबाट हुन्छ ।

मुटुसम्बन्धी समस्या भएको व्यक्तिलाई भर्ना गरेर उपचार गर्ने, औषधि दिने र मुटु नचिरी हातखुट्टाको नसाबाट पाइप छिराएर बन्द भएको रक्तनली खोल्ने, बन्द भएको भल्ब खोल्ने काम कार्डियोलोजिस्टको हो ।

बेहोस बनाएर मुटुलाई चिरेर शल्यक्रिया गर्ने, मुटुको भल्ब फेर्ने काम भने कार्डियो सर्जनको हो ।

बालबालिकामा मुटुरोग

बालबालिकामा मुख्यतया दुई किसिमको मुटुरोग बढी देखिने डा. कोजु बताउँछन् । ‘एउटा जन्मजात मुटुरोग जस्तो मुटुमा प्वाल हुने, मुटुको भल्ब असामान्य हुने हुन्छ । अर्को पाँचदेखि १५ वर्षसम्मका बालबालिकालाई घाँटीको संक्रमण भएर मुटुको बाथ रोग र मुटुमा पानी जम्ने । कुनै बालबालिकामा मुटुको धड्कन तलमाथि हुने समस्या पनि हुन्छ,’ उनी भन्छन् ।

बालबालिकामा मुटु रोगको संकेत

बच्चाको शरीर निलो भएको छ भने उसमा मुटुको समस्या हुन सक्छ । बच्चा थोरै खेल्दा पनि थाक्छ, मुटुको धड्कन छिटो भएको छ, अलिकति हिंड्दा पनि स्वाँस्वाँ गर्छ, बारम्बार निमोनिया भइरहन्छ, उमेर अनुसार बढेको छैन भने पनि बच्चाको मुटुमा समस्या छ कि भनेर शंका गर्नुपर्ने डा. कोजु बताउँछन् ।

अहिले नयाँ प्रविधिको विकाससँगै गर्भावस्थाको १८ हप्तामै फिटल इको कार्डियाग्राफी गरेर बच्चाको मुटुमा समस्या भए नभएको पत्ता लगाउन सकिन्छ ।

कारण

बच्चामा देखिने जन्मजात मुटुरोगको एउटा प्रमुख कारण वंशाणुगत नै हुने डा. कोजु बताउँछन् । साथै  यो रोग विभिन्न कारणको सम्मिश्रणबाट हुने सम्भावना हुन्छ । गर्भावस्थामा आमाले चुरोट रक्सीको सेवन गरेको छ, विभिन्न औषधिको सेवन गरेको छ भने बच्चामा मुटुको समस्या हुने सम्भावना हुन्छ ।

गर्भावस्थामा विभिन्न भाइरल इन्फेक्सन भएको छ, महिलामा पहिलेदेखि भएका केही रोग जस्तै मधुमेह, उच्च रक्तचाप छ भने पनि बच्चामा मुटुको समस्या हुने सम्भावना रहन्छ ।

उपचार

बच्चाको मुटुमा प्वाल छ भने त्यसलाई बन्द गरेर उपचार गरिन्छ । मुटुको बाथरोग लाग्नै नदिन रोकथाम गर्नुपर्छ । जसका लागि खोप लगाउनुपर्छ । बाथको कारण भल्ब बिग्रियो भने भल्ब नै परिवर्तन गरेर उपचार गरिन्छ ।

मुटुमा पानी जम्ने समस्यामा भने पानी झिकेर उपचार गरिन्छ । संक्रमणको कारण पानी जमेको छ भने संक्रमणको पनि उपचार गर्नुपर्छ । अहिले करिब ९० प्रतिशत मुटु रोगको उपचार नेपालमा नै सम्भव छ ।

डा. राजेन्द्र कोजु मुटुरोग स्वास्थ्य
प्रा. डा. राजेन्द्र कोजु
लेखक
प्रा. डा. राजेन्द्र कोजु
मुटुरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २०१६ कार्डियोलोजीमा एमडी धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

उच्च रक्तचाप भएकालाई उपयोगी १३ खानेकुरा

उच्च रक्तचाप भएकालाई उपयोगी १३ खानेकुरा

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

के हुन्छ जब हामी धेरै नुन खान्छौं ?

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड कसरी हुन्छ ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

सहरमा बस्नेलाई किन जरुरी छ भिटामिन डी सप्लिमेन्ट ?

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘जुत्ता सुँघाएर निको हुँदैन छारेरोग, उपचारको नयाँ प्रविधि छ’

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)

‘तौल घटाउन ८० प्रतिशत भूमिका खानाको हुन्छ’ (भिडियो)