
२१ साउन, काठमाडौं । काठमाडौंको कमलादीमा निर्मित स्काइ वाक सन्चालनमा आएको एक महिनामै स्वदेशी तथा विदेशी पर्यटक उल्लेख्य संख्यामा आउँदा उत्साहित भएको वन्डर्स नेपाल प्रालिले जनाएको छ ।
सबै कानुनी प्रक्रिया पूरा गरेर व्यवसाय सञ्चालन गरेको र त्यसवापत नेपाल सरकार तथा काठमाडौं महानगरपालिकालाई कानुन बमोजिमको कर तिर्दै राजश्व संकलनको प्रक्रियामा आबद्ध हुन पाउँदा गौरव लागेको प्रालिले जनाएको छ ।
स्काइ वाक गत असार १५ गतेबाट सन्चालनमा आएको थियो । २५ तले अग्लो स्काइ वाक टावरबाट काठमाडौं उपत्यका अवलोकन गर्न सकिन्छ । टावरको सबैभन्दा माथिल्लो भागमा सिसामाथि हिँड्न मिल्छ ।
सन्चालनको एक महिना पूरा गरेको अवसरमा विज्ञप्ति जारी गर्दै वन्डर्स नेपाल प्रालिले नेपाल सरकार, काठमाडौं महानगरपालिका तथा मातहतका निकायहरुबाट पूरा गर्नुपर्ने सबै कानुनी प्रक्रियाहरु पूरा गरेको जनाएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणबाट योजना अनुमति, नागरिक उड्डयन प्राधिकरणबाट उचाइ अनुमति, काठमाडौं महानगरपालिकाबाट नक्सा पास, निर्माण अनुमति र भवन निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गरेको प्रालिले जानकारी दिएको छ । साथै वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन अनुमति र पर्यटन विभागबाट सन्चालन इजाजत पत्रसमेत प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्रम, सुरक्षा, पार्किङ र समाजमा स्थापित आधारभूत मान्यताहरु समेतलाई पूर्णरुपमा आत्मसाथ व्यवसाय सन्चालनमा ल्याएको बताउँदै वन्डर्स नेपालले भनेको छ, ‘आगामी दिनहरुमा पनि नीतिगत तथा प्रक्रियागत पक्षहरुलाई पूर्णरुपमा परिपालना गर्न हामी प्रतिबद्ध छौं ।’
प्रतिक्रिया 4