२२ साउन, जनकपुरधाम।जनकपुरधाम उपमहानगरपालिका-१९ बेंगाशिवपुरका ३५ वर्षीय सञ्जय महरालाई ५ साउनमा मुजेलियामा ट्याक्टरले ठक्कर दियो ।
तिघ्रामा चोट लागेर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका उनलाई तिघ्रामा हड्डी भाँचिएको भन्दै चिकित्सकले स्टिल हाल्नुपर्ने बताए । त्यसका लागि ९ साउनमा शल्यक्रियाको समय पनि दियो । ज्याला मजदुरी गरेर गुजारा गर्ने महरासँग स्टिल किन्ने पैसा नहुँदा शल्यक्रिया नै भएन ।
१३ साउनमा सर्जिकल वार्डको बेड नम्बर ११७ मा भेट्दा पुनः साउन १५ गतेको समय दिएको बुबा श्रीकृष्ण महराले बताए । निःशुल्क स्टिल हालिदिने भनेर चिकित्सकले शल्यक्रियाको नयाँ मिति दिएको श्रीकृष्णको भनाइ छ ।
‘सरकारी अस्पताल छ । तर समयमा अपरेसन हुँदैन । हामी गरीब असहाय मान्छे । बिरामीले पाउने निःशुल्क खाना छोराले पाउँछ । म पनि त्यसैबाट खाएर कुरुवा बसेको छु’, श्रीकृष्णले भने, ‘ठक्कर दिने ट्याक्टर पक्राउ परेन । चाँडो अप्रेसन भए निको भएर छिट्टै घरजान पाइन्थ्यो ।’
यही वार्र्डको १२४ नम्बर बेडमा भर्ना भएकी थिइन् धनुषाको औरही गाउँपालिका-६ चक्करकी ६० वर्षीया फेकनी देवी मण्डल । साउन ९ गते सामाजिक सुरक्षा भत्ताको कामले वडा कार्यालय पुगेर फर्किने क्रममा ठेस लागेर लडेपछि उनको बायाँ खुट्टा भाँचिएको छ ।
त्यसै दिन भर्ना भएकी उनलाई पनि १५ साउनमा नै शल्यक्रिया गर्ने भनिएको छ । सरकारी अस्पतालमा शल्यक्रियाका लागि हप्ता दिन नै कुर्नुपर्ने कारणले फेकनीसंगै कुरुवा बसेकी बुहारी सुमित्रा र छोरा प्रदीप वाक्क दिक्क थिए ।
‘सरकारी अस्पतालमा हामी गरिबलाई यस्तै छ । धनी त बाहिर निजीमा र सोर्सफोर्स लगाएर यसैमा पनि तुरुन्तै अप्रेसन गराइहाल्छन् । हामी जस्ताले हप्तौं कुर्नुपर्छ’, फेकनीले दुखेसो गरिन् ।
अस्पतालमा हाल दुई वटा शल्यक्रिया कक्ष मात्र सञ्चालनमा छन् । त्यसैले शल्यक्रिया गर्नुपर्ने बिरामीका जटिलता हेरेर मिति निर्धारण गर्ने गरिएको चिकित्सकहरु बताउँछन् ।छिटो अपरेशन गुर्नपर्ने खालका बिरामीहरु निजी अस्पतालमा उपचार गराउनुपर्ने बाध्यता छ ।

अस्पतालका निर्देशक डा. रामनरेश पण्डितका अनुसार सञ्चालनमा रहेको दुईवटा शल्यक्रिया कक्षमा एउटामा इमर्जेन्सी र प्रसुतिसम्बन्धी शल्यक्रिया हुन्छ ।
अर्कोमा तीन/तीन दिनमा अर्थोपेडिक (हाडजोर्नीसम्बन्धी) र सर्जरीका बिरामीको शल्यक्रिया हुन्छ भने एक दिन नाक, कान र घाँटी सम्बन्धी बिरामीको ।
‘बिरामीको चापले अहिलेको जनशक्तिबाट भ्याउन गाह्रो छ । तत्कालै अपरेसन गर्नुपर्ने र प्रसुति गराउने अपरेशन इमर्जेन्सीबौ गर्ने गरिन्छ’, निर्देशक पण्डित भन्छन् ।
अस्पतालमा गत वर्ष निर्माण गरिएका तीनवटा विशिष्ट शल्यक्रिया कक्ष (मोडुलर ओटी) भने प्रयोगमा आउन सकेको छैन ।
प्रादेशिक अस्पताल मधेश सरकारको सबैभन्दा ठूलो र गौरबको अस्पताल हो । पछिल्लो समय मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको यस अस्पतालमा ३० भदौ २०७९ मा तत्कालिन सामाजिक विकास मन्त्री नवलकिशोर साहले नवनिर्मित तीनवटा मोडुलर अपरेशन थिएटरको उदघाटन गरेका थिए ।
इमरर्जेन्सी कक्ष रहेको भवनको पहिलो तल्लामा न्यूरो, अर्थो र जेनरल शल्यक्रिया कक्ष निर्माण गर्न झण्डै १० करोड रुपैयाँ खर्च गरिएको थियो । तर उद्घाटनको वर्षदिन पुग्न लाग्दा सञ्चालनको कुनै अत्तोपत्तो छैन ।
बरु गम्भीर प्रकृतिका बिरामीलाई पनि उपचार सम्भव नभएको भन्दै अन्यत्र रेफर गर्ने गरिन्छ । झन् न्यूरो सम्बन्धी सामान्य बिरामीलाई पनि उपचार नहुने भन्दै इमर्जेन्सी कक्षबाटै फर्काउने गरेको पाइएको छ ।
अस्पतालका इमर्जेन्सी ईन्चार्ज डा. शरद यादवका अनुसार दैनिक गम्भीर प्रकृतिका २ जनासम्म बिरामी बाहिर रेफर गर्ने गरिन्छ । न्यूरो र मुटुरोगको सर्जरी सम्बन्धी उपचारका लागि अन्यत्र रेफर गर्ने गरिएको उनको भनाइ छ ।
अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले केही दिनभित्र तीनवटै अपरेशन थिएटर सञ्चालनमा ल्याउने प्रयास गरिरहेको बताए । केही साताअघि मात्रै अस्पतालका निर्देशकको जिम्मेवारी पाएका उनले भने, ‘जनशक्तिको अभाव छ । तर जनशक्ति व्यवस्थापन गरेर एकसातामा तीनवटै मोडुलर ओटी सञ्चालनमा ल्याउने हाम्रो प्रयास छ ।’
शल्यक्रियामा ठूलो लगानी गरेपनि स-साना उपकरण खरिद र सञ्चालन गर्ने जनशक्तिमा प्रदेश सरकारले ध्यान दिएको छैन । तत्कालिन मन्त्री र कर्मचारीले कमिसनका लागि ठूला र महगा उपकरण खरिद गरे पनि त्यसको सञ्चालनमा ध्यान नदिएको एक कर्मचारीले दाबी गरे ।
‘ठूला उपकरण खरिद गर्दा त्यसलाई तत्कालै कहाँ जडान गर्ने, कसरी सञ्चालन गर्ने, के के आवश्यक पर्छ भन्ने कुराको सुनिश्चिता गर्नुपर्छ’, ती कर्मचारीले भने, ‘महंगो उपकरण खरिद गर्दा बढी कमिसन आउँछ भनेर मनपरी ढंगले करोडौंको उपकरण खरिद गरेर अलपत्र छाडिदिन्छन् ।’
यी अपरेशन थिएटर सञ्चालनमा ल्याउन सकेमा गम्भीर प्रकृतिका बिरामी र घाइतेको पनि उपचार गर्न सकिने अस्पतालका चिकित्सकहरु बताउँछन् ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4