
२८ साउन, काठमाडौं । रौतहटका उखु किसानले श्रीराम सुगर मिल्स सञ्चालन गर्न माग गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको ध्यानाकर्षण गराएका छन् ।
आइतबार चिनी मिल बचाउ संघर्ष समितिको तर्फबाट उनीहरुले सिंहदरबारस्थित उद्योग मन्त्रालयमा मन्त्री रिजाललाई भेटेर मिल्स सञ्चालनका लागि पहल लिन आग्रह गरेका हुन् ।
रौतहटमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड अप्रत्याशित रुपमा ११ साउन २०७७ देखि बन्द गर्ने सूचना प्रकाशित हुनु र ४ साउन २०८० मा बैंकले उद्योग बिक्री गर्ने सूचना प्रकाशित गरेको घटनाप्रति मन्त्री रिजालको ध्यानाकर्षण गराउने काम भएको उनीहरूले बताए ।
उनीहरुले उद्योग स्थापनाको समयमा स्थानीयहरुले भविष्यको लागि भन्दै जग्गा सहुलियतमा उद्योग खोल्न बिक्री गरेको र अहिले बन्द भएसँगै किसानहरुलाई दैनिकी चलाउनै असहज भएको बताए ।
अप्रत्याशित रुपमा गरिएको टेण्डर प्रक्रिया रद्द गर्नुपर्ने, उद्योग सञ्चलनमा राज्य पक्षले आवश्यक समन्वय एवम् सहयोग गरी सञ्चालन गर्नुपर्ने, उद्योगको नाम/स्वामित्वमा रहेको जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न नपाउने, उद्योगलाई धराशायी बनाउने कर्मचारीलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग उनीहरूले राखेका छन् ।
आफूहरुका माग नजरअन्दाज गरे जनसंघर्षका कार्यक्रम थाल्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।
ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री रिजालले सरकारको कानुनले भनेअनुसार मिल्स उद्योगको काम कारबाही अघि बढाउने प्रतिवद्धता जनाएकाे किसानहरुले बताएका छन् ।
प्रतिक्रिया 4