
३ भदौ, पोखरा । नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले जनतातिर नफर्केकै कारण पार्टी निरन्तर ओरालो लागेको बताएका छन् । आइतबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारकै नेतृत्व गरेको भए पनि अब जनतातिर नफर्किने हो भने पार्टीको जीवन नरहने धारणा राखेका छन् ।
यही निष्कर्षसहित गत साउन २१ गते सकिएको केन्द्रीय समितिको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गरेको उनको भनाइ छ ।
‘संगठनात्मक रुपमा गर्नुपर्ने काममा चुकेर कहिले नगर्ने कुरा गर्यौं, कहिले गर्नुपर्ने छोड्यौं । कहिलेकाहीँ भन्यौं तर गरेनौं’, पौडेलले भने, ‘जसरी जनताबाट कार्यकर्ता उत्पादन गरेका थियौं, निरन्तरता दिन सकेनौं । कतिपय पार्टीमा हुनुहुन्छ कति विदेश जानुभयो ।’
युवालाई प्रशिक्षण नदिँदा व्यवस्थाप्रति नै निराशा जागेर पलायन भइरहेको भन्दै पौडेलले देशमा र पार्टीमा कार्यकर्ता जोगाइरहन कठिन भइरहेको बताए । पार्टीहरु जनतामाझ नजाँदा केही नयाँ कुरै नआउने पौडेलको भनाइ थियो ।
‘जनतामाझ गएकै छैनौं । पुरानै पंक्तिले मात्रै मैले पाइनँ, यतिले मलाई अझै पुगेन भन्ने यस्तै चक्रमा मात्र हामी घुम्यौं’, पौडेलले भने, ‘२०६४/०६५ सालमा जुन हैसियतमा माओवादी थियो । त्यो स्थितिमा हामी छैनौं ।’
पहिलो संविधानसभा निर्वाचनमा २२० सिट ल्याउँदै पहिलो बनेको माओवादी केन्द्र २०७९ को निर्वाचनबाट ३२ सिट जितेर तेस्रो पार्टी बनेको छ । २०६४ सालको पहिलो पार्टी २०७० यता भने निरन्तर तेस्रो पार्टीमा कायम छ । मतसंख्या घट्नुमा पार्टीकै व्यवस्थापकीय कमजोरी रहेको पौडेलको समीक्षा छ ।
राज्यको जिम्मेवारीमा रहेका पार्टीका नेतालाई पार्टी पुनर्निर्माणसँग जोड्ने, सिंगो पार्टीलाई पनि नयाँ ढंगले अगाडि बढाउने संकल्पसहित देशका ६ हजार ७४३ वटै वडामा अभियान सञ्चालन गर्ने पौडेलले बताए ।
पछिल्लो समय शहरी क्षेत्रमा स्वतन्त्र उम्मेदवार र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव जित्नु पुराना पार्टीका लागि चुनौती भएको उनले बताए । ‘पछिल्लो पुस्ता र मतदातालाई दलले गरेको कामलाई सकारात्मक प्रत्याभूति हुन नसकेको कुरा शिक्षाका रुपमा लिनुपर्छ । अब हामी सच्चिनुपर्छ भनेर प्रण गर्ने कुरा हो’, पौडेलले भने ।
माओवादीले प्राप्त गरेका उपलब्धि र अहिलेसम्मका जसअपजस सबै ग्रहण गर्दै घरघर पुग्ने पौडेलले बताए । ‘साँचो कुरा के हो भने चाहे लडाकु होस्, चाहे घाइते होस् चाहे पनि नचाहे पनि गाली खाए पनि तिनको संरक्षण गर्ने माओवादी नै हो’, पौडेलले भने, ‘आलोचना पनि सहने र शहीद, बेपत्ता, घाइते परिवारमा पनि नजाने हो भने अब पार्टीको जीवनकै रुपमा रहँदैन ।’
सधैं अरुसँग गठबन्धन गरेर होइन, आफैं पनि प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने सचिव पौडेलको भनाइ थियो । पौडेलले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प सोच्न नसकिने बताए ।
‘हाम्रो पार्टीको अध्यक्ष अहिले पनि सक्रिय हुनुहुन्छ । कुनै रोगव्याधिले अप्ठेरो पारेको छैन । राज्यको भूमिकामा पनि पार्टी कमिटीमा पनि उहाँले सक्रियतापूर्वक भूमिका निर्वाह गरेर, अझ भनौं पार्टीको अध्यक्षमात्र नभएर अरु पार्टीहरुका अप्ठेरा पनि मिलाउन सक्ने भूमिकामा हुनुहुन्छ’, उनले भने ।
नेतृत्वका लागि क्षमता, योग्यता, कार्यदक्षता र कार्यकर्ताको स्वीकारोक्ति आवश्यक पर्ने पौडेलले बताए । नेत्रविक्रम चन्द विप्लवलाई महासचिव बनाउने विषय पनि बाहिरका हल्लामात्र भएको उनको भनाइ छ ।
‘हिजोका साथीहरु एकीकरण हुँदा प्रचण्डभन्दा कहिल्यै माथि नभएका बाबुराम भट्टराईलाई फेरि उपाध्यक्ष स्वीकार्न समस्या हुँदैन । हिजो विप्लवले पाएको जिम्मेवारीमै फर्किए पनि पाउन सक्नुहुन्छ’, पौडेलले भने, ‘एकीकरण नै गरेर आउँदा प्राप्त गर्ने हिजोकै भूमिकामा कसैलाई समस्या हुँदैन तर संस्थापक हिसाबमै पदको बार्गेनिङको कुरा आउँदैन ।’
प्रतिक्रिया 4