
१७ भदौ, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले हालै बढाएको शुल्क फिर्ता लिने नयाँ सहमति भएको छ । पाँचबुँदे सहमतिसँगै स्ववियु पुल्चोक र अनेरास्ववियुले गरेको आन्दोलनका सबै कार्यक्रम पनि फिर्ता भएको छ ।
इन्जिनियरिङ अध्ययन संस्थानले हालै मात्र पूर्ण शुल्कमा पढ्ने विद्यार्थीहरुको शुल्क बृद्धि गरेको थियो । जसअनुसार ३ लाख १८ हजार रहेको शुल्क बढेर ७ लाख ७७ हजार पुग्ने भयो ।
शुल्क बृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिए । १३ भदौमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले सत्तारुढ दलहरुसम्वद्ध विद्यार्थीहरुसँग सहमति गरे । बृद्धि गरिएको शुल्क फिर्ता लिन संस्थानलाई निर्देशन दिने, शुल्क पुनरावलोकनका लागि नयाँ समिति बनाउने लगायतको सहमति थियो ।
त्यो सहमति गर्दा इन्जिनियरिङ अध्ययन संस्थान र नेकपा एमालेसम्वद्ध अनेरास्ववियुको प्रतिनिधि थिएन । उधारो सहमति भएको भन्दै अनेरास्वविुयले आन्दोलन जारी राख्यो भने स्ववियु पुल्चोकले पनि विरोध गर्यो ।
आइतबार त्रिवि पदाधिकारीका साथै इन्जिनियरिङ अध्ययन संस्थानका प्रतिनिधिले अनेरास्ववियु र स्ववियु पुल्चोकका प्रतिनिधिहरुसँग नयाँ सहमति गरेका छन् । पाँचबुँदे सहमतिमा संस्थानले बृद्धि गरेको शुल्क फिर्ता लिने, कर्णली र मधेस प्रदेशमा क्याम्पस स्थापना प्रक्रिया अगाडि बढाउने, संस्थानको आर्थिक संकट समाधानको विकल्प खोज्न सर्वपक्षीय सहमति बनाउने उल्लेख छ ।
हेर्नुहोस् सहमतिपत्र
प्रतिक्रिया 4