
२१ असोज, धनगढी । आजबाट शुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा तीन जनाले अध्यक्ष पदमा दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । अहिलेका प्रदेश उपाध्यक्ष कमल तिमिल्सिना, सचिवालय सदस्यहरु कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहले अध्यक्ष पदमा दाबी गरेका हुन् ।
यी तीनै जनाले अधिवेशनका लागि धनगढी आइपुगेका प्रतिनिधिहरुसँग भेटघाट बढाएका छन् । तिम्सिनाले आफू अध्यक्ष पदको स्वभाविक उम्मेदवार भएको बताएका छन् । ‘म २०४४ सालदेखि पार्टीमा काम गर्दै आएको छु । प्रदेशमा पार्टीले भोगिरहेका समस्याबारे जानकार छु’ तिमिल्सिनाले भने, ‘यो क्षेत्रभित्र रहेका नयाँ पुरानो सबै नेताको मन जितेर पार्टीलाई एकताबद्ध र सबल बनाउन सक्छु भन्ने दृढ विश्वास छ ।’ उनले आफ्नो नेतृत्वको प्रदेश कमिटीले आगामी चुनावमा एमालेलाई प्रदेशमा पहिलो शक्ति बनाउने बताए ।
२०४४ सालदेखि विद्यार्थी राजनीतिमा लागेका तिमिल्सिनाले लामो समय अछामको पार्टी राजनीति गरेका छन् । उनी जिल्ला सदस्य, सचिवालय सदस्य, प्रचार विभाग प्रमुख हुँदै जिल्ला अध्यक्ष बनेका थिए ।
अध्यक्ष पदका अर्का आकांक्षी जैशी पनि बलियो र सुदृढ पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन् । ‘हामीले जबजको ३० वर्ष अभ्यास गरेका छौँ । यसलाई जनताबाट निर्वाचित बलियो पार्टी बनाउनुपर्छ भनेर मेरो उम्मेदवारी हो,’ उनले भने ।
जैशी सुदूरपश्चिम प्रदेशमा स्थापित नेता हुन् । शिक्षण पेशा छोडेर राजनीतिमा लागेका जैसीले एमालेको गाउँ कमिटी हुँदै पार्टीको जिल्ला उपसचिव र दुईपटक सचिव भएर काम गरेका छन् । उनी पार्टी अध्यक्ष केपी शर्मा ओली प्ररायुसंघ (हालको युवा संघ नेपाल) को अध्यक्ष हुँदा उक्त कमिटीका केन्द्रीय सदस्य थिए ।
२०५४ मा जिल्ला विकास समिकिो सभापति भएर करीब १६ वर्षसम्म जिल्ला विकास समिति महासंघको प्रवक्ता र स्थानीय निकाय सम्वद्ध एशिया प्यासेभिकको सहअध्यक्ष भएर काम गरिसकेका छन् ।
अध्यक्षका अर्का दाबेदार प्रदेश सचिवालय सदस्य वचनबहादुर सिंहले पार्टीलाई संगठित, सुव्यवस्थित र सक्षम बनाउन अध्यक्षमा आफ्नो उम्मेदवारी भएको बताए । ‘पार्टीलाई प्रदेश स्तरमा पुर्नस्थापित गराउने, जनवर्गिय संगठनहरुलाई व्यवस्थित, मर्यादित, समयानुकुल, विधिसम्मत, व्यवसायिक, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउन म प्रदेश अध्यक्ष हुन चाहेको हुँ,’ सिंहले भने ।
सिंह युवा पुस्ता र पूराना नेताले आफ्नो नाममा सहमती गर्ने विश्वास समेत रहेको दाबी गरेका छन् । ‘पार्टीलाई बलियो बनाउन युवा जोस र अग्रजको सल्लाहका आधारमा अघि बढाउने प्रयास गर्ने छु । सबै कमरेडहरुको सहमतीबाट अध्यक्षमा निर्वाचित हुनेछु,’ उनले भने । प्रदेश सचिवालय सदस्य सिंह राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य हुन् ।
प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सकभर समझदारीका आधारमा नेतृत्व चुन्ने बताएका छन् । तर त्यो प्रयास सम्भव नभए समूह बनाएर नभइ व्यक्तिगत रुपमा आकांक्षा राखेको पदमा चुनाव लड्न सबै प्रतिनिधिले सक्ने उनको भनाई थियो ।
प्रतिक्रिया 4