
काठमाडौं । एभरेष्ट फिल्म एकेडेमीबाट फिल्म संकायमा स्नातक उत्तिर्ण विदुषी गिरीको लेखन र डेब्यू निर्देशनमा बनेको छोटो फिल्म ‘चिसो घर’ मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको छ ।
आगामी अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने उक्त महोत्सवमा गिरीको सोसल ड्रामा जनराको उक्त फिल्म विश्व प्रिमियर हुने तयारीमा छ । थर्ड डाईमेन्सन पिक्चर्स, सिमल सिनेमा र एभरेष्ट फिल्म एकेडेमीद्वारा संयुक्त रुपमा निर्माण गरिएको ११ मिनेट लामो फिल्ममा सोनिका शाही ठकुरी, सरिता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन र मारिया कार्कीले अभिनय गरेका छन् ।
विदुषीकै कथा, पटकथा र संवाद, विपिन स्थापितको पाश्र्व संगीत र साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर, चक्र महर्जनको छायांकन र पासाङ दावाको सम्पादन छ ।
निर्देशक गिरीका अनुसार फिल्म फोकस साउथ एसिया सेक्सनअन्र्तगत वल्र्ड प्रिमियरका लागि छानिएको हो । यो फिल्म उक्त फेस्टिभलमा अप्रतिपस्र्धी फिल्मका रुपमा छनौट भएको हो । ‘पहिलो प्रयासस्वरुप बनेको फिल्म प्रतिष्ठित फेस्टिभलमा छनोट हुनु गौरवको विषय हो’ उनले भनिन् ।
फेस्टिभलमा सहभागि भएर विभिन्न देशका फिल्म हेरी त्यहाँबाट प्राप्त ज्ञानबाट आगामी दिनमा अघि बढ्न सरल हुने समेत बताइन् ।
७० भन्दा धेरै देशका दुई सय ५० फिल्म सहभागि हुने फेस्टिभलमा यस वर्ष छोटा र लामा गरेर ६ नेपाली फिल्म स्क्रिनिङ हुँदैछन् जसमा नवीन सुब्बाको ‘गाउँ आएको बाटो’, सौरभ राईको गुराँस र फिडेल देवकोटाको ‘द रेड सुटकेस’ छन् ।
यो फिल्म फेस्टिभलको अध्यक्षमा बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा जोनस रहेकी छन् ।
प्रतिक्रिया 4