
३ कात्तिक, काठमाडौं । बुढानीलकण्ठ स्कुलले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको छ । शुक्रबार प्रधानाध्यापक छनोट उपसमितिले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
बुढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको हो ।
उपसमितिले प्रधानाध्यापकको लागि ४० वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको २१ दिनभित्र (२३ कात्तिकभित्र) दरखास्त दिन सक्ने जनाएको छ ।
सूचना अनुसार आवेदकको योग्यता कम्तिमा माध्यमिक (कक्षा १२ सम्म) विद्यालय स्तरको प्रिन्सिपल वा भाइस प्रिन्सिपल वा बुढानीलकण्ठ स्कुलको शिक्षकका रुपमा कम्तिमा १० वर्षको शैक्षिक तथा प्रशासनिक अनुभव हासिल गरेको, शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण वा कुनै विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी शिक्षा शास्त्र विषयमा स्नातक तह उत्तीण गरी माध्यामिक /उच्च माध्यामिक तहमा १० वर्ष शिक्षकको रुपमा काम गरेको लगायत तोकिएको मापदण्ड पूरा गरेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन् ।
इच्छुक उम्मेदवारले दरखास्त फारम स्कुलको वेबसाइटबाट डाउनलोड गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया 4