+
+
WC Series
पोखरा एभेन्जर्स 2025
130/4 (15.6)
VS
२४ बलमा ३६ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

इजरायल-प्यालेस्टाइन युद्धबारे ७ पूर्वराजदूतको आह्वान : राज्य आतंक बन्द गर, मानवीय मूल्यको रक्षा गर

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ५ गते २०:४६

५ कात्तिक, काठमाडौं । इजरायल र प्यालेस्टाइन युद्धमा हजारौँ नागरिकको ज्यान गएको प्रति नेपालका विभिन्न देशका ७ जना पूर्वराजदूतले चिन्ता व्यक्त गरेका छन् ।

आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आफ्नो अधिकारको खोजी गर्दा निर्दोष र निहत्था नागरिकलाई हत्या गर्ने कार्य भएको भन्दै त्यसको भत्र्सना गरेका हुन् ।

जारी हिंसामा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि गरेको आक्रमणबाट नेपाली र अन्य धेरै मुलुकका निहत्था १४०० भन्दा बढी नागरिकको हत्या, अरू हजारौँलाई घाइते बनाउने र कैयौँलाई बन्धक बनाउने काम भएको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल र प्यालेस्टाइन बिच चलेको हिंसाको नयाँ लहरबाट हामी गम्भीर रूपमा चिन्तित छौँ ।’

विज्ञप्तिमा अगाडि उल्लेख गरिएको छ, ‘हामी प्यालेस्टिनी जनताको अधिकारका पक्षमा छौँ, तर आफ्नो अधिकारको खोजी गर्ने क्रममा निर्दोष र निहत्था मान्छेलाई हतियारबन्द हमला गरी हत्या गर्ने र बन्धक बनाउने जस्ता क्रियाकलापको भने निन्दा तथा भत्र्सना गर्दछौँ । हमास समूहको यो निन्दनीय कार्यको प्रतिक्रियाका नाममा इजरायली सरकारले मानवीय मूल्य, मान्यताका सबै मानकलाई तोड्दै जुन प्रतिहिंसाको सिलसिला सुरु गर्यो, त्यसबाट गाजा पट्टीमा सर्वसाधारणका बस्तीमा बम गोलाबारी गरी ४३०० भन्दा बढीको हत्या र अरू हजारौँ घाइते बनाउने काम भयो ।’

हिंसाका घटना जारी रहँदा गाजा क्षेत्रमा ठुलो मानवीय सङ्कट पैदा भएको भन्दै उनीहरूले अस्पताल जस्तो ठाउँमा गोलाबारी गरी स्वास्थ्यकर्मी, बिरामी, घाइते र बिरामी कुरुवाको हत्या जस्तो बर्बर र जघन्य अपराधको जति भत्र्सना गरे पनि नपुग्ने धारणा सार्वजनिक गरेका छन् ।

‘इजरायलको यो राज्य आतङ्क निन्दनीय छ । यस सङ्कटपूर्ण घडीमा संयुक्त राष्ट्रसङ्घले तत्काल युद्ध रोकी वार्ताद्वारा समस्याको समाधान गर्न, सर्वसाधारणको ज्यान जोखिमबाट जोगाउन र सर्वसाधारणलाई तत्काल मानवीय सहायता पुर्याउन असमर्थ हुने हो भने यसको औचित्यमा नै प्रश्न उठ्ने छ’, उनीहरूले भनेका छन् ।

उनीहरूले युद्ध र हिंसाले कुनै समाधान दिदैन भन्नेमा दृढ विश्वास रहेको भन्दै संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुरूप दुई राज्य सिद्धान्तअन्तर्गत प्यालेस्टिनी राज्यको सही कार्यान्वयनले मात्र मौजुदा समस्याको दीर्घकालीन समाधान हुने बताएका छन् ।

‘हामी इजरायल र प्यालेस्टिन दुबै पक्षलाई संयम रहन र पूर्ववर्ती समस्त सम्झौतालाई सम्मान गर्न तथा सम्पूर्ण मामिलाको शान्तिपूर्ण ढङ्गले समाधान खोज्न आह्वान गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ, ‘सर्वप्रथम युद्ध र हिंसा रोकिनुपर्दछ, सम्झौताका निम्ति शान्तिपूर्ण वातावरण बनाइनुपर्दछ र वार्ता र कुटनीतिलाई माध्यम बनाइनुपर्दछ भन्ने हाम्रो दृढ मान्यता रहेको छ । युद्ध र हिंसा भड्किदा नेपालजस्तो शान्तिप्रिय मुलुक र असंलग्न राष्ट्रका नागरिकलगायत सम्पूर्ण विश्व नै यसको नकारात्मक असरको चपेटामा परेका छन् ।’

इजरायल प्यालेस्टिनी समस्या लामो समयदेखि थाती रहँदै आएको समस्या भएको भन्दै उनीहरूले यस समस्याको चिरस्थायी समाधानमा नेपाल सरकारलगायत अन्तर्राष्ट्रिय समुदाय उदासीन रहनु उचित नहुने धारणा राखेका छन् ।

‘यसमा सकरात्मक हस्तक्षेप जरुरी छ । यस सङ्कटपूर्ण घडीमा हामी विशेष गरी संवद्ध अन्तर्राष्ट्रिय समुदायलाई चालु स्थितिमा आगोमा घिउ थपेर होइन, यो सङ्कट समाधनका निम्ति आफ्नो ठाउँबाट तत्काल युद्धविराम र गाजाक्षेत्रमा मानवीय सहायता पुर्याउनका लागि सकारात्मक पहल गर्न आह्वान गर्दछौँ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पुर्वराजदूतहरू निलाम्बर आचार्य, हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, डा. दुर्गेश मान सिंह श्रेष्ठ, टंक कार्की, लीलामणि पौड्याल र महेश मास्केले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?