+
+

निष्क्रिय कर्जा बढ्नेजति बढ्यो, अब व्यवस्थापन हुन्छ : बैंकर

अघिल्लो वर्षको तुलनामा पहिलो पटक बैंकहरुको नाफा घट्यो, निजी क्षेत्रको स्लोडाउनको प्रभाव बैंकिङ क्षेत्रमा पर्‍यो ।

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २० गते १७:५५

२० कात्तिक, काठमाडौं । बैंकरहरुले बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा उच्च विन्दुमा पुगेकोले अब क्रमशः व्यवस्थापन हुँदै जाने बताएका छन् ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणपत्र सोमबार नेपाल बैंकर्स संघले पत्रकारसँगको अन्तरक्रियामा अब निष्क्रिय कर्जा व्यवस्थापन हुँदै जाने बताएका हुन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले समग्र निजी क्षेत्रको व्यवसायमा स्लोडाउन हुँदा बैकहरूमा त्यसको प्रभाव देखिएको बताए ।

‘असोजमा वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा अनुपात ३.६१ प्रतिशत पुगेको छ,’ अध्यक्ष केसीले भने, ‘असारमा २.९८ प्रतिशत रहेकोमामा असोजमा पनि वृद्धि भयो । यसको पृष्ठभूमि कोभिड–१९ को समयदेखिको हो । अन्तर्राष्ट्रिय बजारमा त्यतिबेला बढेकोमा हामीले पुनर्संरचना गरेर ल्याएका थियौं ।’

यसले सजग भएर अगाडि बढ्नुपर्ने अवस्था आएको अध्यक्ष केसीले बताए । उनले पहिलो पटक अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा घटेको उनले बताए ।

‘खुद ब्याज आम्दानी बढेको छैन । अन्य शुल्क तथा आम्दानी करिब १ अर्बले मात्रै बढेको छ,’ उनले भने, ‘व्यवसाय खासै बढ्न सकेको छैन । २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्ष लागेपछि १७ कात्तिकसम्म ८४ अर्ब कर्जा र निक्षेप १२० अर्बले बढेको छ ।’

उनले बैंकहरूको डाइभर्सिफाईट पोर्टफोलियो भएकोले निष्क्रिय कर्जा केही बढेपनि जोखिम नै भने नरहेको बताए ।

‘कर्जा डिफल्ट केही बढेको हो,’ उनले भने, ‘खराब कर्जा नै हुने सम्भावना कम छ । अहिले प्रोभिजन गरेर जाँदा भोलि रिकभरीसँगै राइटब्याक हुन्छ ।’

बैंकर संघका पूर्वअध्यक्ष तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अर्थतन्त्रमा स्ट्रेथ रहेको बताए । सोही कारण नेपाल राष्ट्र बैंक र बैंकरहरूले कर्जा टाइट गरेको उनले बताए । जसले गर्दा बैंकहरुको निष्क्रिय कर्जा बढेको उनले बताए ।

तर, निष्क्रिय कर्जा व्यपवस्थापन नै गर्न नसकिने लेभलमा भने नरहेको उनले बताए । ‘अहिले निष्क्रिय कर्जा पिकमा पुगेको छ । अब त्यसलाई व्यवस्थापन गर्दा घट्दै जान्छ,’ उनले भने, ‘बैंकहरूले जुन लेभलमा प्रोभिजन गरेका छन् त्यसले र पूँजीकोषले गर्दा बैंकिङ क्षेत्र स्वस्थ नै छ ।’

बैंकर्स संघका अध्यक्ष केसीले निमार्ण तथा साना व्यवसायमा प्रभाव बढी परेको बताए । जसले अर्थतन्त्र स्लोडाउनमा जाँदैछ भन्ने प्रष्ट संकेत गरेको उनले बताए ।

‘अहिले देखिएको निष्क्रिय कर्जा समग्रमा हो । खुद निष्क्रिय कर्जा कम छ,’ उनले भने, ‘समस्याकै अवस्था होइन । व्यवस्थापन गर्न सकिन्छ । विस्तारै व्यवस्थापन गर्दै जाने हो ।’

ब्याजदर बढ्दैन

अध्यक्ष केसीले ब्याजदर बढ्न अवस्था नरहेको समेत बताए । लगातार ब्याजदर बढाइरहेको अमेरिकाले पनि पछिल्लो पटक स्थिर राखेकोले अन्तर्राष्ट्रिय बजारमा पनि अब ब्याजदर बढ्दैन भने सन्देश दिएको उनले बताए ।

नेपालमा भन्दा बाह्य क्षेत्रमा अहिले पनि ब्याजदर उच्च छ रहेको र नेपालमा अहिले नै घटिसकेको समेत उनले बताए ।

‘करिब ११ प्रतिशत पुगेको वाणिज्य बैंकहरुको औसत आधार दर ९.९४ प्रतिशतमा झरेको छ । प्रथम त्रैमासको औसत आधार दर नै १०.०९ प्रतिशतमा आएको छ,’ उनले भने ।

बैंकर्स संघका पूर्वअध्यक्ष समेत रहेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पनि अब ब्याजदर स्थिर नै रहेने र अझै घट्दो क्रममा नै जाने बताए । ‘आगामी दिनमा ब्याजदर स्थिर नै हुन्छ । बढ्नेभन्दा पनि घट्ने अवस्था देखिन्छ,’ उनले भने ।

बैंकहरुले जाजरकोट भूकम्पको लागि बैंकर्स संघको आग्रहमा ५ करोडभन्दा बढीको सहयोग गर्ने प्रतिबद्धता जनाएको केसीले बताए ।

एसियन बैंकिङ कन्फरेन्स हुँदै

नेपालमा पहिलो पटक २३/२४ कात्तिक गते एसियन बैंकर्स एसोसिएसनको कन्फरेन्स हुने भएको छ ।

नेपाल बैकर्स संघको पहलमा एसियन बैंकर्स संघले पहिलो पटक नेपालमा उक्त कन्फरेन्स गर्न लागेको बताए ।

एसियाका २५ देशका बैंकर्स संघहरु उक्त संघमा आबद्ध रहेको समेत उनले बताए ।

‘रोडम्याप, रिकभरी एण्ड सस्टेनएबल ग्रोथ भन्ने थिममा कन्फरेन्स हुनेछ,’ उनले भने, ‘एसियाका ठूला बैंकहरुको प्रमुख कार्यकारी अधिकृत र पत्रकार समेत सहभागी हुुँदैछन् । जसले नेपालको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?