
५ मंसिर, काठमाडौं । पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदूत एवम् नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्म’ लोकार्पण भएको छ ।
काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा मंगलबार आयोजित एक विशेष समारोहबीच सांसदद्वय डा. स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, पत्रकारद्वय सुधीर शर्मा, हरिबहादुर थापा र लेखक डा. भेषबहादुर थापाले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे ।
पुस्तकमा डा. थापाले आफूले बाँचेको परिवेश, अपनाएको पेशा र सङ्गत गरेका पात्रहरूको सुन्दर एवम् सजीव चित्रण गरेको सांसद डा. स्वर्णिम वाग्लेले बताए । ‘यस पुस्तकमा काजी खलकको कथा, कर्तव्य, दायित्वको सन्तुलन, पात्रहरूका विराट सम्बन्धहरूको कूटनीतिक व्याख्या छ’ डा. वाग्लेले भने, ‘डा. थापाको यो पुस्तक कर्तव्य र सेल्फ इन्ट्रेस्टको सन्तुलन हो । जिम्मेवारीको सामाजिक र आर्थिक पक्षको डकुमेन्टेसन पनि हो ।’
पुस्तकमा डा. थापाको आफ्नो कर्मजीवन एवम् पारिवारिक जीवन आदि विविध पक्षको चित्रण जीवन्त रूपमा आए पनि कतिपय विषयवस्तुमा थप व्याख्या र विस्तार आवश्यक रहेको सांसद सुमना श्रेष्ठले बताइन् । ‘म जस्ता युवाका लागि देशको अतीतको ज्ञान दिन यो पुस्तक सहयोगी छ । मलाई लाग्छ, अर्को यस्तै पुस्तक पनि डा. थापाको आउनुपर्छ ।’
पुस्तक पुस्ता हस्तान्तरणको एउटा दस्तावेज रहेको उनको भनाइ छ । नेपालको कूटनीतिदेखि शासन–प्रशासनसम्मका विषयमा रहेका वास्तविकता पुस्तकमा रहेकाले यसले वर्तमान पुस्तालाई देशको विगत बुझाउन सहयोग पुग्ने उनले जनाइन् ।
डा. भेषबहादुर थापाले जीवनको ६५ वर्ष राज्यका लागि कूटनीतिक जिम्मेवारीमा बिताएको भनिदिए पनि हुने लेखक तथा पत्रकार सुधीर शर्माले बताए । ‘यो पुस्तक पढ्दा उहाँ नेतृत्वको भन्दा पनि देशप्रति उत्तरदायी रहेको बुझ्न सकिन्छ’ उनले भने, ‘उहाँलाई राजाको मान्छे भन्ने गरिए तापनि राजदरबारसँगै टसल परेको पनि देखिन्छ ।’ पुस्तकमा आवश्यकताभन्दा बढाइचढाइँ गरी केही पनि नलेखिएको उनले जनाए ।
प्रतिक्रिया 4