११ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट यस पटक राउण्ड रोविन लिगको आधारमा सञ्चालन भइरहेको छ ।
यसअघि नकआउट फर्म्याटमा हुँदा लिग चरणबाट बाहिरिने टिमले ३ खेल मात्र खेल्न पाउँथे ।
लिग फर्म्याटमा हुँदा सहभागी सबै टिमले कम्तीमा पनि ७ खेल खेल्न पाउनेछन् । जसले गर्दा खेलाडीले धेरै खेल खेल्न पाउँछन् र एक्सपोजरको मौका पाउँछन् ।
यस पटक लिग चरणमा एकले अर्कासँग खेलपछि शीर्ष चारमा रहने टोलीहरु प्लेअफमा पुग्नेछन् ।
एपीएफ प्लेअफमा
बुधबार पाँचौ चरणको खेलपछि एपीएफ अपराजित छ र प्लेअफ पुग्ने पहिलो टिम बनेको छ ।
प्रधानमन्त्रीकपको सर्वाधिक सफल टोली एपीएफले यस पटक सबैभन्दा बलियो देखिएको छ । एपीएफले लगातार पाँच खेल जित्दै प्लेअफमा स्थान पक्का गरिसकेको छ । अपराजित एपीएफ ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ ।
बुधबार भएको खेलमा एपीएफले जितविहिन कर्णालीलाई ९२ रनले हराउँदै २ खेलअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।
पहिलो खेलमै साविक विजेता सुदूरपश्चिममाथि ९ विकेटको सानदार जित निकाल्दै एपीएफले विजयी सुरुवात गरेको थियो ।
यस्तै दोस्रो खेलमा मधेश प्रदेशलाई १० विकेटले सहजै पराजित गरेको एपीएफले तेस्रो खेलमा लुम्बिनी परदेशलाई ९० रनको पराकिलो अन्तरले हरायो । चौथो खेलमा एपीएफले कोशी प्रदेशलाई ८ विकेटले नै हराएको थियो ।
अब एपीएफले गण्डकी र बागमतीसँग खेल्न बाँकी छ ।
कोशी र सुदूरपश्चिम प्लेअफ नजिक
एपीएफलाई पछ्याउँदै कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश पनि प्लेअफ नजिक छ । एपीएफसँग मात्र पराजित भएको कोशी र सुदूरपश्चिमले चार खेल जितिसकेको छ । दुवैको ५ खेलबाट समान ८ अंक छ ।
बुधबार भएको खेलमा कोशीले गण्डकी प्रदेशलाई ५५ रनले हराउँदै चौथो जित निकाल्यो ।
यस्तै सुदुरपश्चिमले मधेश प्रदेशलाई ५ विकेटले हराएर लगातार चौथो जित निकालेको हो । साविक विजेता सुदुरपश्चिम पहिलो खेमा एपीएफसँग पराजित भएको थियो ।
चौथो जितपछि कोशी र सुदूरपश्चिम पनि लगभग प्लेअफमा पुगिसकेका छन् ।
ममताको लगातार दोस्रो अर्धशतक
एपीएफको सानदार प्रदर्शन गरिरहँदा ममता चौधरीले लगातार दुई अर्धशतक प्रहार गरेकी छन् ।
उनले लुम्बिनी विरुद्ध ५८ बल खेल्दै ५ चौका मदतमा ५९ रन बनाएकी थिइन् । यस्तै कर्णाली विरुद्ध उनले ५५ बल खेल्दै ८ चौका मदतमा ६२ रन बनाइन् ।
पाँच खेल नै खेलेको ममताले जम्मा दुई खेलमा मात्र ब्याटिङ गर्ने अवसर पाएकी थिइन् र दुवैमा अर्धशतक प्रहार गरिन् ।
ममताले दुवै खेलमा ओपनिङ गरेकी थिइन् ।
अलराउण्डर हावी
यस पटक अलराउण्डर हावी भएका छन् । सुदूरपश्चिमकी कविता जोशी गण्डकीकी सुमन खतिवडा एपीएफकी इन्दु बर्मा कोशी प्रदेशका रुबिना क्षेत्री र अप्सरी बेगम, मधेश प्रदेशकी पुजा महतोले ब्याट र बल दुवैमा राम्रो प्रदर्शन गरिरहेका छन् ।
प्रतियोगितामा सर्वाधिक रन बनाउने तीन खेलाडी कविता, सुमन र इन्दुले अलराउण्ड प्रदर्शन गरिरहेका छन् । कविताले ५ खेलमा एक अर्धशतक सहित सर्वाधिक १७७ रन बनाएकी छन् । यस्तै सुमनले १४६ र इन्दुले १३७ रन बनाएका छन् ।
बलिङमा सुमनले ६ तथा कविता र इन्दुले समान ५ विकेट लिएका छन् । सुमन सर्वाधिक विकेट लिनेमा सातौं स्थानमा छिन् ।
बलिङतर्फ सुदूरपश्चिमकै लक्ष्मी साउदले सर्वाधिक ८ विकेट लिएकी छन् ।
कोशी प्रदेशकी कप्तान रुबिनाले १ अर्धशतकसहित १२९ रन बनाएर सर्वाधिक रन बनाउनेमा पाँचौ स्थानमा छिन् । उनले बलिङमा पनि ५ विकेट लिएकी छन् ।
यस्ते कोशिकै अप्सरी ९४ रन बनाउँदै सर्वाधिक रन बनाउनेमा दशौँ स्थानमा छन् ।
अप्सरीले बलिङमा ६ विकेट लिएकी छन् ।
यसैगरी पहिलो पटक घरेलु प्रतियोगिता खेलिरहेकी मधेशकी पुजाले ब्याटिङमा १०३ रन बनाएकी छन् भने बलिङमा ७ विकेट लिएकी छन् ।
कर्णालीको साहस
यस पटक लिग फर्म्याटमा प्रतियोगिता हुँदा सहभागि टिमले धेरे खेल खेल्न पाएका छन् । त्यसमा पनि कर्णाली जस्ता कमजोर टिमले पनि धेरै खेल खेल्दा एक्सपोजरको अवसर पाएका छन् ।
कर्णालीले खेलेको पाँचवटै खेलमा हार बेहोर्यो । तर कर्णालीले सबै पाँच खेलमा पूरा २० ओभर नै ब्याटिङ गर्दै साहस देखाएको छ ।
पहिलो खेलमा कोशी प्रदेश विरुद्ध १६ ओभरमा छोट्याइएको खेलमा कर्णालीले ९ विकेट गुमाएर ३३ रन बनाएको थियो ।
कोशीले चौथो ओभरमै विना क्षती कर्णाले दिएको लक्ष्य पूरा गरेको थियो ।
यस्तै दोस्रो खेलमा गण्डकीसँग कर्णाली ४४ रनले पराजित भयो । गण्डकीले दिएको १४२ रनको लक्ष्य पछ्याएको कर्णाले पूरै २० ओभर ब्याटिङ गर्दै ९६ रन बनाएको थियो भने ६ विकेट गुमाएको थियो ।
तेस्रो खेलमा सुदूरपश्चिम विरुद्ध १५२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले ९ विकेट गुमाएर ७० रन बनाएको थियो । यसमा पनि २० ओभर नै ब्याटिङ गरेको थियो ।
लुम्बिनी विरुद्ध चौथो खेलमा भने कर्णालीले सय रनको आँकडा पार गरेको थियो । लुम्बिनीले पहिले ब्याटिङ गर्दै १३३ रन बनाएको थियो । जवाफमा कर्णालीले २० ओभर खेल्दै ७ विकेट गुमाएर १०३ रन बनाएको थियो ।
पाँचौ खेलमा बलियो टोली एपीएफ विरुद्ध पनि कर्णालीले पूरै २० ओभर ब्याटिङ गर्दै ६८ रन बनायो भने ८ विकेट गुमाएको थियो ।
पहिले ब्याटिङ गर्दै १६० रन बनाएको एपीएफ ९२ रनले विजयी भयो ।
कर्णालीबाट ५ खेलमा तृसना विकले सर्वाधिक ७६ रन बनाएका छन् । बलिङतर्फ यमुना थारुले ४ विकेट लिएकी छन् । कर्णालीले अब बागमती र मधेश प्रदेशसँग खेल्न बाँकी छ ।
प्रतिक्रिया 4