 
																			२१ पुस, सुर्खेत । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा ३ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । तर आपसमा मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धन दलबाट १२४ जना आकांक्षी देखिएका छन् ।
नेपाली कांग्रेसले ९२, नेकपा माओवादी केन्द्रले २६ र नेकपा एकीकृत समाजवादीले ६ जनाको नाम सिफारिस गरेका छन् । ६ वर्षअघि राष्ट्रियसभा सदस्यमा चुनिएका भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार र नन्दा चपाईंको ठाउँमा चुनाव हुन लागेको हो ।
जाजरकोटका श्रेष्ठ अन्य, कालीकोटका लुहार दलित र सुर्खेतकी चपाईं महिला क्लस्टरबाट राष्ट्रियसभा सदस्य भएका थिए । अब उनीहरु निर्वाचित भएकै क्लस्टरमा चुनाव हुने भएकाले सत्ता गठबन्धनबाट अन्य, दलित र महिला १÷१ जनाले मात्र उम्मेदवार बन्ने अवसर पाउनेछन् ।
सात प्रदेशमा गरी १९ सिटमा हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागवण्डा मिलेको छैन । त्यसैले कुन प्रदेशको कुन क्लस्टरमा कुन दलले उम्मेदवार उठाउने भन्ने टुंगो लागेको छैन ।
गत मंगलबार बसेको कांग्रेसको कर्णाली प्रदेश समितिको बैठकले गठबन्धनबाट चुनाव लड्दा पनि कर्णालीमा दुई सिट आफूहरुले पाउनुपर्ने माग गरेको छ ।
प्रदेश समितिका प्रवक्ता दमन शाहीले भने, ‘हामीले जिल्लाबाट आएका सबै नामहरू केन्द्रमा पठाएका छौँ । अब बाँकी निर्णय पार्टी केन्द्रले नै गर्ला, सबै क्लस्टरबाट आएका नामहरु पठाउँदा संख्या धेरै देखियो ।’
उनका अनुसार कांग्रेसबाट भूपेन्द्रजंग शाही, पूर्वमन्त्री हिमबहादुर शाही, दिनबन्धु श्रेष्ठलगायत ९२ जनाको नाम सिफारिस गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले २६ जनाको नाम सिफारिस गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।
‘जिल्ला कमिटीबाटै आएका २६ जनाको नाम उम्मेदवारका लागि केन्द्रमा पठाएका छौं,’ अध्यक्ष केसीले अनलाइनखबरसँग भनिन, ‘बाँकी निर्णय पार्टी केन्द्रले नै लिनेछ ।’
माओवादीले डा. दीपेन्द्र रोकाया, विद्यार्थी नेता पञ्चा सिंह, गोमा गौतम कुँवर, विष्णु विकलगायत २६ जनाको नाम सिफारिस गरेको छ ।
नेकपा एकीकृत समाजवादीले कर्णालीमा एउटा सिट आफूले पाउनुपर्ने दावी गरेको छ । केन्द्रीय परिषद सदस्य बसन्तकुमार विश्वकर्माका अनुसार एकीकृत समाजवादीले ६ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।
‘तीन दलले १–१ सिट पाउनुपर्छ भन्ने हाम्रो माग छ । सोही अनुसार केन्द्रीय गठबन्धनमा छलफल गर्न शिर्ष नेताहरुसँग आग्रह गरेका छौं’, उनले भने ।
राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले भने रिक्त १९ वटै पदमा उम्मेदवारी दिने बताइसकेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4