+
+

गत वर्षको तुलनामा सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते २०:००

२३ पुस, काठमाडौं । नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा गत वर्षको तुलनामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिडको कारण थला परेको सौराहाको पर्यटन पछिल्लो समय बिस्तारै लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित छन् ।

२०२२ मा भन्दा २०२३ मा ५० प्रतिशत पर्यटक आगमन भएसँगै यति बेला सौराहाका होटलहरु वाह्य पर्यटकहरुले भरिभराउ छन् । सौराहामा घुम्न आउने वाह्य पर्यटकमा चिनियाँ र भारतीय पर्यटकको संख्या उच्च छ ।

अंग्रेजी नयाँ वर्षसँगै सौराहामा आन्तरिक र वाह्य पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको व्यवसायीको भनाइ छ ।सौराहामा पर्यटन आगमनमा वृद्धि भएपनि व्यवसायीहरुले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाई थप गर्न सक्नुपर्ने बताएका छन् ।

पर्यटन व्यवसायीहरुले पर्यटकहरुको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी ५ देखि ७ दिनसम्मको लागि बनाउनुपर्ने माग राखेका छन् ।

क्षेत्रीय होटल संघका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै सौराहामा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको बताए । उनले २०२३ मा सौराहामा ४० प्रतिशत आन्तरिक र बाँकी ६० प्रतिशत पर्यटक वाह्य रहेको बताए । उनले सौराहामा एकै पटक ७ हजार पर्यटकलाई राख्न सक्ने क्षमता रहेको बताए ।

उनले जिप सफारी,हात्ती सफारी लगायतका कार्यक्रमहरु भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताउनु भयो । उनले सरकारले निकुञ्जमा अन्य रुटहरु पनि खुला गरिदिए पर्यटकहरुको लागि राम्रो हुने उल्लेख गरे ।

उनले भने, ‘सौराहामा ४० प्रतिशत आन्तरिक पर्यटक हुनुहुन्छ भने २० प्रतिशत भारतीय चिनियाँ पर्यटक तथा ४० प्रतिशत अन्य देशका पर्यटक हुनुहुन्छ । सौराहाले एकै पटक ६४ सय भन्दा बढी पर्यटकलाई राख्न सक्छ ।’

क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष दीपक भट्टराईले पछिल्लो समय सौराहाको पर्यटन लयमा आएको बताए । उनले पछिल्लो समय सौराहामा आन्तरिक तथा वाह्य गरी ७५ प्रतिशत पर्यटक आगमन भएको उल्लेख गरे ।

उनले सौराहामा गुणस्तरीय होटलहरुमा लगानी बिस्तार हुँदै गएको बताए । उनले व्यवसायीहरुले सौराहामा आउने पर्यटकको लागि पुराना गतिविधि नै दिइरहेको भन्दै नयाँ पर्यटकीय गन्तव्य र गतिविधि दिन आवश्यक रहेको बताए ।

उनले राष्ट्रिय निकुञ्जको नियम कानूनसँग बसेर होटल सञ्चालन गर्नुपर्ने हुँदा जङ्गल वाक,हात्ती सफारी,जीप सफारी,बोटिङ बाहेक नयाँ कार्यक्रम दिन नसकिएको बताए । उनले सरकारले राष्ट्रिय निकुञ्जको ऐनलाई नै परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले निकुञ्जको पुरानो ऐनको कारण पर्यटक व्यवसायीहरुलाई धेरै असर परेको भन्दै  निकुञ्जमा सफारीको लागि अन्य रुट खोल्न आवश्यक रहेको बताए ।

उनले भने, ‘चितवनको पर्यटन क्षेत्र लयमा आएको छ । ७५ प्रतिशत पर्यटक चितवनमा आगमन भएको छ । सडक मार्ग समय–समयमा बिग्रने गरेकाले सौराहा आउने पर्यटकलाई असर पर्दा लयमा आउन थालेको पर्यटक अर्को बाटोमा जाने चिन्ता बढेको छ ।’

सौराहाका होटल व्यवसायी माधव दुवाडीले अहिले २०१९ लाई बिर्सने गरी सौराहामा पर्यटकहरुको आगमन भइरहेको बताए । उनले पर्यटक आगमन वृद्धि भएसँगै सौराहाका होटल व्यवसाय फस्टाएको बताए ।

उनले आन्तरिक पर्यटकहरु समूहगत रुपमा आएर सभा सम्मेलनहरु गर्ने गतिविधिहरु वृद्धि समेत भइरहेको बताए । उनले राष्ट्रिय निकुञ्जलाई विगतको नीतिअनुसार उपयोग गरिरहेकाले बताए । उनले  विगतकै गन्तव्यका आधारमा पर्यटकहरुलाई आकर्षण गर्ने भन्दा पनि नयाँ गन्तव्यको खोजि गर्न आवश्यक रहेको बताए ।

उनले सौराहा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिए पनि त्यहाँबाट पर्यटन व्यवसायीले अझै फाइदा लिन नसकिरहेको उल्लेख गरे ।

उनले भने, ‘अहिले २०१९ लाई बिर्सने गरी पर्यटकहरुको आगमन भएको महशुस गरेका छौं । अहिले व्यवसाय पर्यटक फस्टाएको अवस्था छ । आन्तरिक पर्यटकहरु समूहगत रुपमा आएर सभा सम्मेलनहरु गर्ने गतिविधिहरु वृद्धि भएका छन् । हाम्रो नीति निर्माणमा समस्या छ । राष्ट्रिय निकुञ्जलाई विगतको नीतिअनुसार उपयोग गरिरहेका छौं ।’

त्यस्तै होटल व्यवसायी बासु ढुङ्गानाले सौराहामा वृद्धि भएका पर्यटकको बसाई लम्ब्याउन आवश्यक रहेको बताउनु भयो । उनले सौराहा आउने विदेशी पर्यटकको बसाई लम्ब्याउनसके सौराहाका होटल फस्टाउने मात्रै नभएर सौराहाको अर्थतन्त्र सुधार हुने अवस्था रहेको बताए ।

उनले विदेशी पर्यटकको बसाई लम्ब्याउनको लागि सरकारले राष्ट्रिय निकुञ्जमा जानको लागि एक दिनको लागि मात्रै टिकट दिने व्यवस्था परिर्वतन गर्नु माग गरे ।

उनले भने, ‘विदेशी पर्यटकहरु चितवन भ्रमणको लागि आउनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्ज जानुहुन्छ । त्यहाँ जाँदा सरकारले पर्यटकले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै मान्यता दिएको छ । पर्यटकहरु हतारहतार एक दिनमा डुङ्गा सयर,जङ्गल ड्राइभ,हात्ती सफारी गर्ने हुँदा कतिपय कार्यक्रमहरु छुट्छन् ।’

होटल व्यवसायी प्रकाश न्यौपानेले सौराहा आउने पर्यटकले वन्यजन्तु र प्राकृति रमणीय होटलहरु बढी रुचाउने गरेको बताए ।

उनले समग्र नेपालका आउने पर्यटकमध्ये ३२ प्रतिशत मात्रै पर्यटक सौराहा आउने गरेको दाबी गरे । उनले वनवास रिसोर्ट सञ्चालनमा आएको दुई महिना मात्रै हुँदा पनि प्रकृतिसँगै पर्यटक रमाउन सक्ने होटल भएकाले वनवास रिसोर्ट रोजाईमा पर्ने गरेको बताए ।

उनले विदाको समयमा सौराहामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुले वनवास रिसोर्ट रोजाइमा पर्न थालेको बताए । उनले निकुञ्जमा भएका जन्यजन्तुको संरक्षण गर्नसके मात्रै सौराहाको पर्यटन व्यवसाय माथि पुग्ने बताए ।

सौराहामा पर्यटन आगमन सहज बनाउनको लागि सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको संख्या अझ बढ्न नसकेको व्यवसायीको गुनासो छ । त्यस्तै व्यवसायीहरुले चितवन आउने पर्यटकको लागि हवाई यातायात पनि महँगो भएको बताए ।

व्यवसायीहरुले सौराहामा पर्यटन वृद्धि भएसँगै नयाँ लगानी र सम्भावनाका ढोका खुल्दै जाने अवस्था सिर्जना हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?