 
																			२० माघ, कञ्चनपुर । एक दशकअघि साइकल गुडाउँदै अरुका लागि दूध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका शिवचरण रानाले डेरीको मालिक बन्ने सायद कल्पना गरेका थिएनन् ।
अरुको डेरीमा दूध बोकेर कामको अनुभव बटुल्दै गएका रानाले परिश्रमको केही कमाइ बचत गर्दै गए । बचत रकमले डेरी व्यवसाय सञ्चालन गर्न सक्षम बनेको उनको भनाइ छ ।
‘दूध बोक्ने काम गर्दा आउने केही रकम बचत गरेको थिएँ’, उनले भने, ‘केही रकम कर्जाका रुपमा लिएर डेरी व्यवसाय सञ्चालन गर्दै आएको छु ।’ छ वर्षअघिदेखि रानाले ४५ लाख रुपैयाँ लगानी गरी डेरी सञ्चालन गरेका हुन् ।
गाउँगाउँबाट दूध सङ्कलन गरेर रानाले दुग्ध विकास संस्थानको धनगढी वितरण आयोजनालाई आपूर्ति गर्दै आएका छन् । दूध सङ्कलनका लागि उनले संस्थानसँग सम्झौता गरेका छन् । दूध बोक्नका लागि रानाले छ जना कामदार राखेका छन् ।
‘सबै जनाका लागि मोटरसाइकल खरिद गरेको छु । दैनिक एक हजार चार सय लिटर दूध मोटरसाइकलमा क्यान राखेर कामदारले गाउँगाउँ पुगेर सङ्कलन गर्दै आएका छन्’, रानाले भने ।
दूध बढी सङ्कलन भएका बेला डेरीसम्म ल्याउनका लागि पिकअप भ्यानको प्रयोग गर्दै आएको उनले बताए । भ्यान आफ्नै स्वामित्वको हो । मोटरसाइकल, भ्यान लगायतका साधन दूध डेरीबाट आएको आम्दानीले खरिद गरेको रानाले जानकारी दिए ।
बेरोजगार हुँदा डेढ दशकअघि उनले साइकलमा भारतबाट सामान ल्याएर झलारी बजारका व्यापारीलाई बिक्री गर्ने गरेका थिए । ‘भारतबाट सामान ल्याउँदा हुने सास्ती बिर्सि नसक्नु थियो’, उनले भने, ‘सीमा क्षेत्रमा भारतीय र नेपाली प्रहरीले भन्सार काटे/नकाटेकोदेखि अन्य धेरै हैरानी दिन्थे । पछि त्यो काम छोडेर दूध बोक्ने काम थालेको थिएँ ।’
आफन्तले दूध बोक्ने काम गर्न भनेपछि त्यही काम थालेको भन्दै पहिलो पटक चार लिटरबाट सुरु गरेको कामले अहिले व्यावसायी बनाएको रानाले बताए । ‘विस्तारै दूध बढी सङ्कलन हुन थाल्यो । महिनामा २५ हजार रुपैयाँ जति कमाइ हुन थाल्यो’, उनले भने, ‘त्यसपछि मोटरसाइकल किनेँ, दूध डेरीमा आपूर्ति गर्न थालेँ ।’
‘दूध सङ्कनल गर्ने, भण्डारण गर्ने, अन्य क्षेत्रमा आपूर्ति गर्ने कुरा डेरी सञ्चालकबाटै सिकेँ’, रानाले भने, ‘त्यसपछि केही रकम आफूसँगै थियो, केही कर्जा गरेर शान्ति दुग्ध सङ्कलन केन्द्र हुँदै डेरी खोलेँ ।’ उनका अनुसार अहिले डेरीमा दैनिक एक हजार चार सय लिटरसम्म दूध सङ्कलन हुने गरेको छ ।
महिनामा २७ लाख रुपैयाँ बराबरको दूधको कारोबार हुने गरेको रानाले जानकारी दिए । ‘सङ्कलन भएको दूधमध्ये आठ सय लिटर दूध संस्थानले खरिद गर्ने गरेको छ । अरु दूध गाउँमै खपत हुन्छ’, उनले भने ।
रानाले गाउँबाट दूध प्रतिलिटर ६६ रुपैयाँमा खरिद गरी संस्थानलाई त्यतिकै मूल्यमा बिक्री गर्छन् । संस्थानले ट्रान्सफर खर्च (टिएस) बापत प्रतिलिटर रानालाई तीन रुपैयाँका दरले भुक्तानी गर्दछ । स्थानीयलाई भने रानाले सङ्कलन भएको दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री गर्छन् । महिनामा खर्च कटाएर रानाको ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी हुने गरेको छ ।
कामदारलाई मासिक रुपमा ज्यालाबापत एक लाख २५ हजार रुपैयाँ खर्च हुने गरेको रानाको भनाइ छ । दूधकै कारोबार गरेर रानाले गाउँमै पाँच कोठाको पक्की घर बनाएका छन् । डेरीका लागि तीन वटा डिप फ्रिज, एक हजार र पाँच सय लिटर क्षमताका गरी दुई चिलिङ भ्याट मेसिन खरिद गरेका छन् ।
दूधबाट क्रिम निकाल्ने मिल्क सेप्रेटिङ मेसिन खरिदका लागि प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । ‘पूरै परिवारको खर्च दूधको कारोबारबाट धानिएको छ’, रानाले भने, ‘अहिले छोराले व्यवसायमा सहयोग गर्न थालेपछि कमाइ बढ्दै गएको छ ।’
दूधको व्यवसायबाट सन्तुष्ट भएको भन्दै उनले डेरीमा दूध सङ्कलन गरी बेच्ने काम मात्रै हुँदै आएकामा भविष्यमा डेरी प्रोडक्ट उत्पादन गरी बजार विस्तार गर्ने सोच रहेको बताए ।
‘अरुका लागि साइकलमा दूध बोक्ने मैले डेरी सञ्चालन गरी प्रशस्त आम्दानी गर्छु भन्ने सोचेकै थिएन’, रानाले भने, ‘काम गर्दै गए सफलता आफैँ हात चुम्न आइपुग्यो । अहिले दूधको व्यवसायी भनेर नगरपालिका क्षेत्रमा सबैले चिन्छन्, सम्मान गर्छन् ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4