+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सूर्यदर्शन सहकारी पीडितले दिए रवि लामिछाने र दिपेश पुनविरुद्ध पूरक जाहेरी

विकास रोकामगर विकास रोकामगर
२०८० माघ २२ गते २०:०१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुन

२२ माघ, पोखरा । पोखराको सूर्यदर्शन सहकारीका वचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता दीपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् ।

सहकारी पीडितहरुले रास्वपा सभापति लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले सहकारी पीडित पक्षले ‘पूरक’ जाहेरी दिएको अनलाइनखबरलाई बताए । उनले उक्त विषयमा पहिल्यै दर्ता भएर अनुसन्धान जारी रहेकाले अहिले नयाँ जाहेरी दर्ता गर्नुनपर्ने बताए ।

‘यो विषय यहाँबाट अदालतमा पनि पुगिसकेको विषय हो । यस विषयमा थप अनुसन्धानका लागि उहाँहरुले उजुरी दिनुभएको हो’, डीएसपी विकले अनलाइनखबरसँग भने, ‘यो पनि पहिलेकै विषयसँग जोडेर पूरक अनुसन्धान प्रक्रिया अघि बढ्छ ।’

सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा कोषाध्यक्ष कुमार रम्तेल कास्की जिल्ला अदालतको आदेशमा हाल पुर्पक्षका लागि थुनामा छन् । यो मामिलामा उपाध्यक्ष कैलाशकुमार दर्लामी, सदस्य शिवबहादुर गुरुङ र भगिश्वर अर्याल पनि पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राईसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।

सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीका सञ्चालक तथा पदाधिकारीले कृत्रिम सेयर सदस्य र खाता खोलेर रकम अपचलन गरेको, सहकारीको नाममा कुनै पनि सम्पत्ति नराखी व्यक्तिको नाममा गरेको देखिएको प्रहरीको निष्कर्ष छ ।

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?