+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

इतिहास सम्झाउने २ सय वर्ष पुरानो ठकुरीको पँधेरो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १५:००

२४ माघ, म्याग्दी । तत्कालीन पर्वत राज्यअन्तर्गत प्रमुख सामरिकस्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका–२ स्थित यस स्थलमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको थियो ।

विसं १२४६ मा धर्मराज थापा ज्यामरुककोटका राजा भएपछि मात्र नाम र पहिचान पाएको ज्यामरुककोट विसं १७४३ मा मलेबम मल्ल र उनका भाइ भर्तिबम मल्लको युद्धका कारण चर्चामा आएको गाउँ हो ।

ज्यामरुककोटको दक्षिणतर्फ पर्ने अन्तिम गाउँ हो सानालेख । यो गाउँ बागलुङका धार्मिक पर्यटकीयस्थल पञ्चकोट र पन्चासेसँग गहिरो सम्बन्ध रहेको गाउँ हो । गोश्वराको पुछारमा अवस्थित सानालेख गाउँका धेरै ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिसके पनि बचेको एउटा धारो (ठकुरीको पँधेरो) भने यहाँका बासिन्दाको इतिहास झल्काउने, सानालेखका पुर्खाहरूलाई सम्झाउने र गृहिणीहरूका दुःख बिसाउने माध्यम बनेको छ ।

ज्यामरुककोटे राजा भर्तिबम मल्लका सन्तति र कल्याण मल्लका बाजेहरूले विसं १८८६ मा गाउँलेलाई ठूलो खोलाको पानी पिउनुपर्ने समस्याबाट मुक्त गराउन यो ढुङ्गेधारो निर्माण गरेका सानालेख निवासी हरिप्रसाद शर्मा बताउँछन् ।

‘यो धारोलाई ठकुरीको पँधेरो भनिन्छ । यसको इतिहास करिब दुई सय वर्ष पुरानो छ’, उनी भन्छन्, ‘ज्यामरुककोटे राजा भर्तिबम मल्लका सन्तानहरू यहाँ आएर बस्न थालेपछि उनीहरूकै सुविधाका लागि यो धारो निर्माण गरिएको थियो । त्यतिबेला पूरै गाउँमा यही एउटामात्रै धारो रहेकाले ठकुरीहरूले प्रयोग गरिसकेपछि मात्र सापकोटा र थापाहरूले प्रयोग गर्ने गर्दथे भन्ने भनाइ थियो ।’

स्थानीय पँधेरा र ढुङ्गेधाराहरू गाउँघरबाटै लोप हुन थालेको अवस्थामा आफूहरूले पुर्खाको चिनोका रूपमा यो ढुङ्गेधारो मर्मत र संरक्षण गर्दै अएको थापा बताउँछन् । ‘यो धारोसँग हाम्रा पुर्खाहरूको नाम र पहिचान जोडिएको छ । ढुङ्गेधारोलाई पुरानै स्वरुपमा संरक्षण गर्न नसकिए पनि मर्मत गरेर अहिलेसम्म जोगाएका छौँ’, उनी बताउँछन् । ‘ढुङ्गाको गौमुखे धारो हराएपछि अहिले मूल रहेको ठाउँबाट कुलेसो बनाएर पुरानै ढुङ्गा र छपनी प्रयोग गरी पाइपबाट पानी खसालेका छौँ ।’

पछिल्लो समय गाउँ–गाउँमा मोटरबाटोको पहुँच र एक घर एक धाराको अवधारणा आएपछि पँधेरा र ढुङ्गेधाराको उपयोगमा पनि कमी आएको स्थानीय बासिन्दा बताउँछन् । अव्यवस्थितरूपमा खनिएका मोटरबाटो र पाइपमार्फत घरघरमा पानी पुर्याउने होडबाजीमा कतिपय जलसम्पदा पुरिएको अवस्थामा साना लेखवासी आफ्ना पुर्खाको सम्झनाका लागि ढुङगेधारो संरक्षण गरेको बताउँछन् ।

‘यो ढुङ्गेधारोसँग हाम्रा पुर्खाहरूको नाममात्रै जोडिएको छैन, हाम्रा आमा र दिदीहरूको दुःखका कथाव्यथा पनि जोडिएको छ’, स्थानीय महेन्द्र थापा चर्चा गर्छन्, ‘त्यसबेला अहिलेको जस्तो हातहातमा मोबाइल र घरघरमा धाराको चलन थिएन । बिहान सखारै उठेपछि पहिलो काम धारामा गएर नुहाउने र पानी लिएर घरमा आउने हुन्थ्यो । दिनभरि काममा व्यस्त हुनुपर्ने आमा दिदीहरू भेटेर दुःख सुखका कुरा गर्ने फुर्सद पनि नपाउँदा पँधेरामा पानी भर्ने बेलामै आ–आफ्ना दुःखसुखका कुरा गर्ने गर्दथे ।’

धारो निर्माणका लागि सोही बखत ठूलो खोलाबाट ल्याइएका विशाल छपनी र काला दर्शनढुङ्गाहरू अहिले पनि उस्तै अवस्थामा रहेका छन् । धारोको माथिल्लो पर्खाललाई दुईपटक मर्मत गरिसकिए पनि तल्लो भाग भने पुरानै अवस्थामा राखिएको थापा बताउनुहुन्छ । पानीले खियाउँदै लगेर तल्लो भागको मूलढुङ्गा ओखलजस्तो बनेको छ । लेउ लागेर चिप्लो बनेको तल्लो भागलाई सरसफाइ र पुनःमर्मत गर्नुपर्ने भएको हरि शर्माको भनाइ छ ।

पानी जम्मा हुने ठाउँमा चेपागाडा, भ्यागुता र माछाहरू देखिन्छन् । धारो रहेको ठाउँभन्दा तलपट्टीको खेत सधैँभरि पानीले भरिने गरेको छ । प्रशस्तै गड्यौला पाइने यहाँको माटो निकै खुकुलो भएकाले यहाँ धानबाली अरु ठाउँको भन्दा निकै राम्रो हुने गरेको स्थानीयको भनाइ छ ।

हिउँद होओस् वा वर्षा, जुनसुकै याममा पनि साँझ परेपछि यहाँ जुनकिरी नाचिरहेको देखिन्छ । पछिल्लो समय अरु ठाउँमा देखिन छोडेका जुनकिरी ढुङ्गेधारो परिसरमा भने प्रशस्तै देखिने गरेका स्थानीयवासी रघु शर्मा बताउँछन् ।

म्याग्दीका ग्रामीण भेगमा रहेका कैयौँ पधेरा र ढुङ्गेधारा लोप भइसकेका र भावी पुस्ताले यस्ता परम्परागत मौलिक सम्पदाहरू देख्न नपाउने हुँदा भएका ढुङ्गेधारा संरक्षण गर्न स्थानीय तहले नै सक्रियता देखाउनुपर्ने उनको भनाइ छ ।

यही ढुङ्गेधाराले गाउँको सौन्दर्य बचाइराखेको स्थानीय टोपबहादुर थापा बताउँछन्। ‘उकाली ओराली गर्दा आँत हरहर भएको बेलामा अञ्जुली थापेर ढुङ्गेधाराको पानी कलकल पिउँदा पाइने आनन्द बेग्लै हुन्छ’, उनी भन्छन् ।

पानी पँधेरो र ढुङ्गेधारोसँग गाउँको संस्कृति र सभ्यताको साइनो रहेको र ग्रामीण सभ्यताको सुरुआत नै यस्तै सम्पदाहरूबाट भएको थापा बताउँछन् । तीन दशकअघिसम्म यही पानी पँधेरो नै यहाँका महिलाहरूको दुःखसुख साटासाट गर्ने र पीरब्यथा कहने एकमात्र माध्यम हुने गरेको उनको भनाइ छ ।

पछिल्लो समय गाउँको सौन्दर्यमात्रै होइन आत्मीयता र सामूहिकतामा समेत सङ्कट देखापरेको स्थानीय बूढापाकाको भनाइ छ । सामूहिकरूपमा काम गर्ने गाउँलेहरूमा विश्वासको सङ्कट बढ्दै गएकाले एकाङ्कीपन बढेर आएको र उपभोक्तावादी संस्कृतिका कारण गाउँलेहरू पनि व्यापारीजस्ता बन्दै जान थालेका बेनी नगरपालिका–२ का वृद्ध खड्गबहादुर घिमिरे बताउँछन् ।

प्रविधिको बढ्दो प्रयोग र पश्चिमेली संस्कृतिको प्रभावका कारण गाउँको संस्कृति, मौलिकता र सम्पदा हराउँदै गएको उनको भनाइ छ । ‘पँधेरा र ढुङ्गेधारा भएको ठाउँमा जलदेवताको पूजा गर्ने गरिन्थ्यो, जलदेवताको पूजा गर्ने, गाउँभरिका मानिसहरु भेला भएर दुःखसुख साट्ने, रमाइलो गर्ने, खिर पकाएर चढाउने र प्रसादको रूपमा खाने गरिन्थ्यो’, बगरफाँटमा अर्का वृद्ध वेदप्रसाद उपाध्याय भन्छन्, ‘अब ती सबै परम्पराहरू हराएर गइसकेका छन् ।’

विकास, बासाइँसराइ र प्रविधिको पहुँचका कारण ग्रामीण संस्कृति र सभ्यताको क्षयीकरण हुँदै गएको अवस्था छ । विकास र प्रविधिलाई संस्कृति र सभ्यतासँग जोडेर संरक्षण गर्नुपर्नेमा उल्टो विनाश हुँदै गएको स्थानीय बुद्धिजीवीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?