
काठमाडौं । लोक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको १२ औं संस्करण आयोजना हुने भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा फागुन १९ गतेदेखि मेला आयोजना हुने आयोजक संस्था नेपाल कल्चरल ग्रुपले जानकारी दिएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । यो मेला फागुन २१ गते दाङको घोराही, फागुन २३ गते पोखरा, फागुन २५ गते काठमाडौंको बसन्तपुर दरबार क्षेत्र र फागुन २६ गते लालीगुराँस नेसनल एकेडेमी मनमैजुमा आयोजना हुने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले बताए ।
मेलामा ११ देशका ३५० भन्दा बढी कलाकारले प्रस्तुति दिने जनाइएको छ । नेपालसहित अष्ट्रिया, बेल्जियम, बोत्स्वाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेसिया, इजरायल, मलेसिया, पोल्याण्ड र दक्षिण अफ्रिकाका कलाकार मेलामा सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा गायक तथा फिल्म निर्देशक नारायण रायमाझी, दुर्गा रायमाझी लगायत पनि उपस्थित थिए । मेलाका अध्यक्ष कोइरलाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।
निर्देशकमा गायक चन्द्र शर्मा, नृत्य विभाग संयोजकमा जोगेन्द्र केसी, इभेन्ट व्यवस्थापकमा कृष्ण रसाल रहने भएका छन् । फागुन २१ गते घोराहीमा हुने यस मेलामा जिल्ला उद्योग वाणिज्य संघ दाङ स्थानीय आयोजकको रुपमा हुनेछ । संस्थाले ७५ भन्दा बढी देशमा नेपाली मौलिक संस्कृति प्रवर्द्धनमा कार्य गरेको अध्यक्ष कोइरालाले बताए ।
प्रतिक्रिया 4