+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

लुम्बिनी शिखर सम्मेलनबारे प्रदेश सांसदहरुले उठाए प्रश्न

'मुख्यमन्त्रीको स्वार्थले प्रदेश सभालाई गुमराहमा राखियो'

टोपराज शर्मा टोपराज शर्मा
२०८० फागुन १७ गते १०:३३

१७ फागुन, बुटवल । लुम्बिनी प्रदेश सरकारले फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा नोबेल पुरस्कार विजेताको उपस्थितिमा गर्न लागेको ‘लोरेट्स एण्ड लिडर’ शिखर सम्मेलनप्रति सत्तारुढ दल र प्रमुख विपक्षी दलका सांसदले प्रश्न उठाएका छन् ।

सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभा वैठकमा यो सम्मेलनबारे स्पष्ट जानकारी नगराई गुमराहमा राखेर अन्तर्राष्ट्रिय सम्बन्धमा नै असर पर्ने गरी गतिविधि गरेको आरोप लगाए ।

संसदलाई जानकारी नै नदिई सम्मेलनका लागि दुईपटक भारत र एकपटक अमेरिका भ्रमण गर्नु, छिमेकी देश चीनले पृथकतावादी घोषणा गरेका दलाई लामाले विद्रोह गरेकै दिन मार्च १० (फागुन २७ ) देखि २९ गतेसम्म शिखर सम्मेलन गर्ने मिति तय गरिनु र पछि यसबारे चीनले गम्भीर चासो राखेपछि एक दिन पछि मिति सार्नुले यो सम्मेलन विवादको घेरामा परेको चौधरीले बताए ।

गत कात्तिकको तेस्रो साता संघीय सरकारबाट भ्रमण स्वीकृत गराएर निजी भ्रमणका लागि भन्दै मुख्यमन्त्री एक्लै अमेरिका गएका थिए । त्यसअघि उनी दुईपटक भारत भ्रमणमा गएका थिए ।

‘यसअघि पनि संसदमा यो के हो भनेर उठेको थियो तर मुख्यमन्त्रीले यो धेरै ठूलो कुरा हैन, अनुभव आदानप्रदान, शान्ति प्रवर्द्धन भनेर अधुरो जवाफ दिनुभयो,’ चौधरीले भने, ‘संसद अधिवेशन बन्द भएका बेला बल्ल शिखर सम्मेलन भन्ने कुरा बाहिर आएपछि सांसदहरुले यसलाई गम्भीर रुपमा लिएका छन् ।’

प्रमुख सचेतक चौधरीले मुख्यमन्त्रीले संसदलाई जानकारी नगराएर गरेको अमेरिका र भारत भ्रमणले यो कार्यक्रम पहिल्यै डिजाइन गरिएको भन्ने पुष्टि भएको बताए ।

फागुन १८ गते बस्ने प्रदेश सभा बैठकमा शिखर सम्मेलनबारे प्रश्न उठाउन दलहरुबीच छलफल भइरहेको उनले बताए ।

उनले संघीय सरकारले गर्नुपर्ने शिखर सम्मेलन प्रदेश सरकारले गर्नु आफ्नो क्षेत्राधिकारभन्दा बाहिर हुने बताए ।

सुरुमा दलाई लामा पनि आउने तय भएपछि चीनले प्रधानमन्त्रीसँग चासो राखेको र त्यसपछि लामा आउने कार्यक्रम रद्द भएको आफूले सूचना पाएको चौधरीले बताए ।

प्रदेश सभाको प्रमुख विपक्षी दल एमालेले पनि यो सम्मेलनप्रति असन्तुष्टि जनाएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले यो सम्मेलनबारे सरकारले विपक्षी दलसँग कुनै छलफल समेत नगरेको बताए ।

सम्मेलनले फाइदाभन्दा चीनसँगको सम्बन्ध बिगार्न भूमिका खेलेको चौधरीले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता प्रदेश सचिव निराजन घिमिरेले भने यो सम्मेलनले चीनसँगको दूरीमा असर नगर्ने बताए ।

प्रदेश सचिव सुमन घिमिरेले सम्मेलनको आन्तरिक तयारी तीव्र पारिएको जानकारी दिए । सम्मेलनका लागि प्रदेश सरकारले साढे ६ करोड बजेट छुट्याएको छ ।

सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीको संयोजनमा शिखर सम्मेलन हुन लागेको हो ।

सत्यार्थीसँग प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको लामो समयदेखि मित्रता भएकाले उनकै साथ लिएर शिखर सम्मेलन गर्न थालिएको हो ।

चौधरीले सत्यार्थी र आफू एउटै परिवारका सदस्य जस्तो रहेको बताउने गरेका छन् ।

बालबालिकाको विकास र शान्तिमा केन्द्रित भनिएको शिखर सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल पुरस्कार विजेता सहित उच्च पदस्थ विदेशीहरु लुम्बिनी आउने छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?