+
+

फिल्म निर्देशक लामिछानेले अमेरिकामा गरे पुनर्विवाह

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते २०:००

काठमाडौं । ‘लम्फु’, ‘बोक्सी’जस्ता रुचाइएका फिल्ममार्फत निर्देशक गोपालचन्द्र लामिछानेले समाजलाई खास सन्देश दिने प्रयत्न गरे । यसपटक भने अब रिलमा होइन, रियलमै उनी सन्देशकर्ताको रुपमा प्रस्तुत भएका छन् ।

२५ औं वैवाहिक वर्षगाँठको छेकोमा लामिछानेले पत्नी गीतासँग पुनर्विवाह गरे । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरको हिन्दूबौद्ध मन्दिरमा उनले शनिबार विवाह गरेर सामाजिक सन्देश दिए ।

परिवार विघटन र सम्बन्ध विच्छेदजस्ता घटना बढिरहेको बेला लामिछानेको पुनर्विवाहले सकारात्मक सन्देश प्रवाह गर्न खोजेको विवाहमा सहभागि बताउँछन् । ‘१८ वर्ष नपुग्दै अभिभावकको साथ छाड्ने अमेरिकी समाजमा लामिछानेको पुनर्विवाहले सकारात्मक सन्देश दिएको छ’ फिल्मकर्मी सुमन दाहालले भने ।

छोरी मोनिका र छोरा मौलिकले बाबुआमाको पुनर्विवाह गराइदिएका हुन् । ‘यसले अभिभावक र सन्तानबीचको सम्बन्ध संस्कारमा आधारित हुनुपर्छ भन्ने दर्शाउँछ’ दाहाल भन्छन्, ‘अमेरिकी डायस्पोरालाई समेत यसले सकारात्मक सन्देश दिएको छ । समाज रुपान्तरणतर्फको यो एउटा यात्रा हो ।’

लामिछाने दम्पतीको पुनर्विवाहमा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीसहित कलाकारको बाक्लो उपस्थिती थियो । कलाकार प्रेमराजा महत, राजबल्लभ कोइराला, ऋचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साल, भावु लम्साल, राहुल केसी लक्ष्मण पौडेल, प्रवेश उप्रेती, उद्धव भट्टराई, शंकर घिमिरे, बाबुराम ढकाल, दिनेश कार्की, निर्देशक सुमन दाहाल, फिल्ममेकर पूर्णसिंह बराइली लगायतले शुभकामना दिए ।

लामिछाने यसअघि चलचित्र निर्देशक समाजको सदस्य, सह-कोषाध्यक्ष हुँदै महासचिव समेत रहिसकेका छन् । उनी अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार, इनासका प्रवक्ता र पर्वत समाज अमेरिकाका सल्लाहकार हुन् ।

गोपालले लेखेका धेरै नाटकमा गीताले समेत अभिनय गरेकी छन् । कतिपय नाटकमा उनीहरुले एकसाथ अभिनय समेत गरेका थिए । विवाहपछि आफूलाई कलाक्षेत्रमा समर्पित हुन पत्नी गीताले दिएको योगदानको गोपाल मुक्तकण्ठले प्रशंसा गर्छन् । कामको कुरा गर्दा, लामिछानेले सन् २०१२ मा रिलिज भएको फिल्म ‘किन लाग्छ माया’बाट निर्देशन करिअर थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?