 
																			५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारीमा भएको अनियमितताबारे निष्पक्ष छानबिनको माग गरेको छ । तर अनुसन्धान प्रभावित होला भन्ने डर लागेको भन्दै कांग्रेसले प्रधानमन्त्रीको जवाफ मागेको छ ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा विषय समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले सुन तस्करीमा शक्तिशाली मानिस संलग्न भएकाले प्रहरीको नियमित अनुसन्धानबाट छानबिन सही टुंगोमा पुग्न सक्दैन भनेर एमालेले गरेको आशंका सही साबित भएको बताए । ‘शक्तिशाली नेताहरुलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही सावित भयो’ उनले भने, आयोगले प्रतिवेदन बुझाएको छ । भर्खरै हामीले समाचार सुन्यौं, कृष्णबहादुर महरा पक्राउ पर्नुभयो ।’
‘सरकारलाई धन्यवाद छ, यो आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्नुहुन्न । यसमा सरकारलाई हाम्रो पूर्ण साथ रहन्छ’ तल–माथि भए सरकारलाई प्रश्न गर्ने उनले बताए ।
यो प्रकरणले प्रतिपक्षबाट जोडदार माग नराखेको भए आयोग नबन्ने र आयोग नबने सुनकाण्ड फासफुस हुने रहेछ भनेर सिकाएको भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘आज प्रतिपक्षमा हामी छौं र यहाँबाट यस्तै अर्को एउटा विषय नउठाउने हो भने एउटा काण्ड फासफुस हुने खतरा देखिएको छ ।’
सहकारीले हजारौं मानिसको अर्बौं हिनामिना गरेको भन्दै उनले त्यसमध्ये एक पोखराको सूर्यदर्शन सहकारी भएको बताए । १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा अपचलन भएको पोखरा महानगरपालिकाले गरेको अध्ययनले देखाएको उनले बताए । अध्ययन रिपोर्टमा १०० जनाले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड अपचलन गरेको भनिएको भन्दै कांग्रेस महामन्त्री थापाले संसदमा भने, ‘त्यो रिपोर्टको ७८ औं पृष्ठमा के भनिएको छ भने त्यसरी नक्कली खाता खोल्नेमध्ये एउटा नाम हो रवि लामिछाने ।’
‘माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ, भोलि प्रधानमन्त्री बन्नुहोला । शुभकामना छ, बन्न पनि सक्नुहुन्छ । अलग विषय हो । तर रवि लामिछानेले १ करोड रुपैयाँ लिनुभएको छ, सहकारीको सदस्य हुनुहुन्न । हाम्रो कानुनले भन्छ यो गैरकानुनी छ ।’
यसबारे आफूले लामिछानेको स्पष्टीकरण पनि सुनेको भन्दै उनले भने, ‘स्पष्टीकरणमा भनिएको छ, कसैले मेरो नाममा लग्यो होला, थाहा छैन । यदि यस्तै मान्ने हो भने १०० जनाले १ अर्ब रुपैयाँ लगेको प्रकृति ठ्याक्कै यही हो ।’
‘कसैको धितो छैन, कोही सहकारीको सदस्य होइन, कुनै प्रक्रिया पुर्याइएको छैन । एक अर्ब झ्वाम ! यसरी छोड्ने हो भने अब एक जनालाई छोडेर हुँदैन सबैलाई छोड्नुपर्छ । एउटा सहकारीको मात्र छोडेर हुँदैन, सबै सहकारीलाई छाड्नुपर्छ । सरकार यो गर्न तयार हो ? मेरो प्रधानमन्त्रीलाई प्रश्न छ ।’
गोर्खा मिडिया नेटवर्कले सूर्यदर्शन, सुप्रिम, सहारा सहकारीबाट ५०औं करोड लगेको र कानुन अनुसार यो गैरकानुनी भएको उनले बताए । यो कम्पनी सञ्चालन गर्ने मान्छेहरुले पनि अपराध गरेको कानुनले भन्ने भन्दै थापाले भने, ‘यो कम्पनीको शेयर होल्डर को ? जीबी राई, रवि लामिछाने ।’
यसमा पनि आफूले लामिछानेको ११ मिनेट ५३ सेकेण्डको स्पष्टीकरण सुनेको भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘२०७८ वैशाखदेखि २०७९ जेठसम्म, जतिखेर यसको सञ्चालक श्री रवि लामिछाने पनि हुनुहुन्थ्यो, त्यो बेलामै सहकारीबाट दशौं करोड लगिएको छ । जबकि एक सुका पनि लैजान पाइन्नँ ।’ उनले अगाडि भने, ‘स्पष्टीकरणमा भनिएको छ, मैले पैसा हालेको पनि छैन, लगेको पनि छैन । कम्पनी रजिस्ट्रार कार्यालयमा १ करोड ८० लाख लिएर आएको तमसुक बाहिर प्रमाणका रुपमा आएको छ ।’
ठूलो मान्छे हो छोडिदिउँ भन्ने हो भने प्रधानमन्त्रीले संसदमा उल्लेख गरेको सहकारी कार्यदलको रिपोर्टले नै यस्तै कम्पनीहरुमा गएर अर्बौं रुपैयाँ पार्क भएको र जफत नगरेसम्म बचतकर्ताको रकम फिर्ता गर्न सकिन्न भनेको उल्लेख गर्दै कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘यो अनुसन्धानको विषय बन्छ कि बन्दैन ?’
‘प्रधानमन्त्रीले हिजो पोखरामा भन्नुभएछ, अनुसन्धान गर्ने हो । हाम्रो प्रश्न छ, अनुसन्धान कसले गर्ने हो ?’ उनले प्रश्न गरे ।
प्रहरीले अनुसन्धान गर्दा शक्तिशाली मान्छेलाई लुकाउँदोरहेछ भनेर सुनकाण्डमा प्रष्ट भएको भन्दै उनले भने, ‘प्रहरीले भएको भए कृष्णबहादुर महरा वा यस्ता शक्तिशाली नेताहरुको नाम नै नपर्ने रहेछ भने यहाँ त गृहमन्त्री आफैं मुछिनुभएको छ । यसको अनुसन्धान कसरी हुन्छ ? हामीले कसरी विश्वास गर्ने ?’
जीबी राई लगायतको समूहले अबौं रुपैयाँ अपचलन गरेको र त्यसको ठूलो हिस्सा ग्यालेक्सी टीभीमा गएको भन्दै उनले राम्रोसँग अनुसन्धान गर्दा अरु ठूला नेताहरुको पनि नाम आउनसक्ने बताए । उनले भने, ‘हाम्रो यति नै माग हो, सहकारीमा जसले ठगी गरेको छ, निष्पक्ष अनुसन्धान होस् । कुनै एउटा प्रमाण नाश नहोस् ।’
तर जो मुछिएको छ, उसैले अनुसन्धान गर्छ भनेर कसरी विश्वास गर्ने भन्दै थापाले प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । उनले अगाडि भने, ‘म मेरो मित्र माननीय गृहमन्त्रीज्यूलाई पनि आग्रह गर्न चाहन्छु, यसलाई टुंग्याउन दिऊँ ।’
नखाएको विष लाग्न नहुने भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘दोष छैन भने आरोपबाट मुक्ति पाउनुपर्छ, नयाँ आउनुभएको मन्त्रीले काम गर्न पाउनुपर्छ । हामी काम गर्न दिन्छौं । तर विष खाएको छ भने लाग्छ, यत्ति मात्र हो ।’
राजनीतिक आग्रह नभएको र कसैलाई भत्काउनु पनि नभएको स्पष्टीकरण दिएका उनले अनुसन्धान प्रभावित होला कि भन्ने डर लाग्न थालेकाले प्रश्न गरेको बताए ।
भुटानी शरणार्थी प्रकरणमा आफूले खुट्टा नकमाउ सरकार भनेको, सुन काण्डमा आयोग बनाउने मागमा साथ दिएको अनि अख्तियारले अनुसन्धान गरेको मन्त्रीलाई घर पठाइदेउ भनेर बोलेको भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘यो बोल्दै गर्दा सत्ता पक्षमा थिएँ म । सिंगो सत्ता पक्ष उभियो कि उभिएन हेरिनँ । आज म विश्वास गर्छु, सत्ता पक्षबाट कोही उठेर भन्नुहुन्छ, नक्कली भुटानी शरणार्थी प्रकरण, सुनकाण्ड, बाँसबारी छालाजुत्ता प्रकरण, टेरामेक्स, एनसेल एउटा काण्डमा पनि संलग्न भएको एक जनाले पनि उन्मुक्ति नपाओस् ।’
‘रुखको छहारीमा बस्ने होस् कि, घाम ताप्ने होस् कि, हँसिया हथौडा बोक्ने होस् कि, घन्टी बजाउने होस्, कसैले पनि नपाओस् भन्ने हिम्मत राख्छौं कि राख्दैनौं ? सहकारी काण्डमा पनि शक्ति होस्, नयाँ होस्, लोकप्रिय होस् तर गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस् यति भन्ने हिम्मत हामी राख्छौं कि राख्दैनौं ?’
अनुसन्धान निष्पक्ष हुन्छ भन्ने विश्वास चाहिएको भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘हामी कहीं कतै बखेडा झिक्न चाहँदैनौं । सरकार र सदनलाई अप्ठ्यारो पार्न चाहन्नौं । तर के हामीले उठाएको यो प्रश्न नाजायज छ ?’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4