+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

८० वर्ष पुग्दा पनि नागरिकता पाइनन् रंगी नेपालीले

प्रकाश सिंह प्रकाश सिंह
२०८० चैत १३ गते १४:१४

१३ चैत, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–८ मा अस्थायी बसोबास गर्दै आएकी रंगी नेपाली ८० वर्ष पुगिन् । तर १६ वर्ष पूरा हुनासाथ पाउनुपर्ने नागरिकता उनले अहिलेसम्म पाएकी छैनन् ।

उनका श्रीमान् धने नेपालीको मृत्यु भइसकेको छ । श्रीमान् हुँदासम्म रंगी घुमन्ते जीवन बिताउँथिन् । जिविकोपार्जनका लागि लुगा सिलाउन कहिले श्रीमानसँगै सुदूरपश्चिमका जिल्ला चहार्थिन् त कहिले भारत पुग्थिन् । स्थायी बसोबास र जग्गा जमिन नभएका कारण रंगीका श्रीमानको समेत नागरिकता थिएन ।

धने नेपाली कामको शिलशिलामा बाजुरा आएको समयमा रंगी र उनको विवाह भएको थियो । रंगीको माइती खप्तड छेडेदह गाउँपालिका–४ मा पर्छ । तर उनको माइतीतर्फ पनि आमा, बुबा र दाजुभाइ कोही जिवित छैनन् । घर र माइती पक्षका आफन्त कोही नभएपछि उनले नागरिकता पाउन सकेकी छैनन् ।

बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जिल्लाबाट बिहे गरेर गएको हकमा यहाँबाट नागरिकता दिन नमिल्ने बताए । ‘ठेगाना नै थाहा नभएको हकमा हामीले सिधै नागरिकता दिन मिल्दैन, उहाँको बिहे कहाँ भएको हो, थाहा हुनुपर्‍यो’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेर स्थानीय तहबाट सिफारिस आउँदा नागरिकता नदिने भन्ने नै हुँदैन ।’

पौडेलले आफन्त, इष्टमित्र कोही नभएको हकमा स्थानीय तहले स्थानीयबासीसँग छलफल गरेर सिफारिस गर्न सक्ने उपाय रहेको सुझाए । उनले यो घटनाबारे मन्त्रालयलाई जानकारी गराउने र पछि खबर गर्ने पनि बताएका छन् ।

सुविधाबाट वञ्चित

श्रीमानको मृत्युपछि रंगी बूढीगंगा नगरपालिका–८ मा रहेको जेठी छोरी सिर्जना नेपालीको घरमा बस्दै आएकी छन् । तर नागरिकता नहुँदा सरकारी सेवासुविधा पाउने कुरै भएन ।

सरकारले दलित महिलालाई ६० वर्षको उमेर पुगेपछि वृद्ध भत्ता दिंदै आएको छ । रंगी भन्छिन्, ‘नागरिकता भएको भए, भत्ताको पैसाले गर्जो टार्थेँ होला । नहुँदा त्यो आशा पनि भएन ।’

रंगीले आफूसँगै कान्छी छोरीकी छोरी (नातिनी)को पनि पालनपोषण गर्दै आएकी छन् । कान्छी छोरी कामको लागि भारत पुगेकी छन् । पहिलो श्रीमानको मृत्युपछि रंगीकी कान्छी छोरी अर्को विवाह गरेर भारत पुगेकी हुन् । जन्मदिने बुवा नहुँदा रंगीकी नातिनीको पनि जन्मदर्ता भएको छैन । नातिनी उर्मीला नेपाली कक्षा ८ मा त्रिशक्ति माविमा अध्यनरत छिन् ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?