+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कान्स फिल्म फेस्टिभल आजदेखि, मेरिल स्ट्रिप ‘गेस्ट अफ अनर’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १ गते १२:५४
फेस्टिभल सुरु हुनुअघि बालकोनीबाट अभिभावदन गर्दै जुरी सदस्य ग्रेट गेर्विग, लिली ग्लाडस्टोनसहित सदस्यहरु

काठमाडौं । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७७ औं संस्करण आज (मंगलबार)देखि फ्रान्सको कान्स सहरमा सुरु हुँदैछ । यो महोत्सव नेपाली समयानुसार राति सवा १० बजेदेखि सुरु हुनेछ ।

ग्रान्ड थिएटर लुमियरमा हुने उक्त उद्घाटन समारोहमा ७४ वर्षीया अमेरिकी अभिनेत्री मेरिल स्ट्रिप ‘गेस्ट अफ अनर’को रुपमा सहभागी हुनेछिन् । मेरिल ३५ वर्षपछि कान्समा उपस्थित हुन लागेकी हुन् । यसअघि उनले सन् १९८९ मा कान्समा फिल्म ‘इभिल एन्जलस’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।

निर्णायक सदस्य कार्यक्रम सुरु हुनु एक दिनअघि कान्स पुगेका छन् । यस वर्षको जुरीको सदस्यमा टर्कीका लेखक–फोटोग्राफर एब्रू सेलान, अमेरिकी अभिनेत्री लिली ग्लाडस्टोन, फ्रान्सेली अभिनेत्री इभा ग्रीन, अभिनेता ओमार साइ, लेबनानी लेखक–निर्देशक नादिन लाबाकी, स्पेनी फिल्म निर्माता जुआन बायोना, इटालियन अभिनेता पिएरफ्रान्सेस्को फाभिनो, जापानी निर्देशक कोरेकाजुए–एडेस छन् । अभिनेत्री ग्रेटा गेर्विग जुरी अध्यक्ष हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह रेडकार्पेट र प्रिमियर समारोहमा सहभागी हुँदैछन् । उनी दुई सल्लाहकारसहित मंगलबार बिहान फ्रान्स प्रस्थान गरिसकेका छन् । कान्स सहरका समकक्षीले उनलाई फेस्टिभलको निम्तो दिएका थिए ।

पहिलो दिन रेडकार्पेट समारोह हुनेछ । रेडकार्पेटमा भारतीय अभिनेत्रीहरु ऐश्वर्या राय बच्चन, कियारा आडवाणी, अदिती राव हैदरी र शोभिता धुलिपलाको सहभागिता रहनेछ । ऐश्वर्या सन् २००२ देखि लगभग हरेक वर्ष कान्समा सहभागी हुँदै आएकी छिन् ।

अदिती लगातार दोस्रो पटक रेड कार्पेटमा हिंड्ने भएकी छिन् । कान्सको रेड कार्पेटलाई फेसनको दुनियाँमा महत्वपूर्ण समेत मानिन्छ । फिल्म प्रवर्द्धनसँगै त्यहाँ हिंड्ने सेलिब्रेटीले नयाँ पहिरन प्रस्तुत गर्छन् ।

यस वर्ष फेस्टिभलको मुख्य विधा पाम दे ओर पुरस्कारका लागि २२ फिल्म प्रतिस्पर्धामा छन् । निर्देशक क्वान्टिन डुपिएक्सको फिल्म ‘सेकेन्ड एक्ट’को वल्र्ड प्रिमियरसँगै फेस्टिभल सुरु हुनेछ । जर्ज मिलरको प्रतीक्षित हलिउड फिल्म ‘फ्युरिओसा : अ म्याड म्याक्स सागा’ गैरप्रतिस्पर्धात्मक विधामा रहेको प्रतीक्षित फिल्म हो ।

कान्स फेस्टिभल २५ मेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?