१ जेठ, काठमाडौं । सरकारले विगत वर्षहरूमा जस्तै यो वर्ष पनि पूँजीगत खर्च वृद्धि गर्ने घोषणा गरेको छ । हरेक वर्ष प्राथमिकता साथ यो कार्यक्रम घोषणा गरिएको छ ।
तर, विगत वर्षहरूमा वर्षैभरि ६० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुन सकेको छैन । चालू आर्थिक वर्ष अहिलेसम्म ३७ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ ।
विनियोजन कुशलता कायम गर्ने तथा सार्वजनिक ऋण अधिकतम प्रतिफल दिने क्षेत्रमा मात्रै उपयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । वैदेशिक सहायतालाई प्राथमिकताका क्षेत्रमा प्रयोग गर्ने पनि नीति कार्यक्रममा घोषणा गरिएको छ ।
चालु आवको नीति तथा कार्यक्रममा पनि यस्तै घोषणा गरिएको थियो । ‘तीनै तहको सरकारको बजेट निर्माणदेखि कार्यान्वयन प्रक्रियासम्मको पुनरावलोक गरी पूँजीगत खर्च वृद्धि गरिने छ,’ गत वर्ष प्रस्तुत गरिएको यो आवको नीति कार्यक्रममा छ ।
‘अन्तर्राष्ट्रिय विकास सहायता परिचालनलाई राष्ट्रिय गौरवका, रणनीतिक, रूपान्तरणकारी र उच्च प्रतिफलयुक्त आयोजनाहरूको सञ्चालनमा केन्द्रित गरिने छ । सार्वजनिक ऋणको अधिकतम प्रतिफल प्राप्त हुने गरी उपयोग गर्न ऋणको आयोजनागत विनियोजन गरिने छ,’ चालु आवको नीति तथा कार्यक्रममा उल्लेख थियो, ‘वैदेशिक लगानी आकर्षणका लागि ग्रिन बन्ड, पूर्वाधार बन्ड एवम् अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण परिचालन गरिने छ ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4