 
																			१५ जेठ, काठमाडौं । १७औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति तथा उपराष्ट्रपतिले शुभकामना दिएका छन् । शुभकामना दिँदै उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताएका छन् ।
राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका उपलक्ष्यमा सबै नेपालीमा शुभकामना र बधाई दिँदै नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन भएको बताएका छन् । ‘१७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ’, जारी सन्देशमा भनिएको छ, ‘यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ ।’
सम्पूर्ण नागरिकलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकार सम्पन्न बनाउने तथा नागरिकलाई खुसी दिन गरिएको संकल्प पूरा गर्न आजको दिनले अझ धेरै प्रतिबद्ध बनाउने विश्वास व्यक्त गरे ।
‘जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुसी र उज्यालो पुग्दैन, त्यो बेलासम्म संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुँदैन’, उनले भनेका छन्, ‘यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु, हामी यो दायित्वलाई बिर्सने छैनौँ ।’
त्यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले जन अपेक्षा र भावनासँग जोडिनु नै गणतन्त्रको मूल भावना भएको बताएका छन् । उनले सीमान्तकृत र वञ्चित समुदायको सहभागीबिना कुनै पनि गणतन्त्र बलियो, सुदृढ र सफल हुन नसक्ने बताए ।
‘यो दिवसलाई लोकतन्त्रको पोषकका रुपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ, यसका लागि दृढ सङ्कल्प र बलियो मनमस्तिष्कका साथ हामी सबैलाई आ–आफ्नो भूमिका निर्वाह गर्दै अघि बढ्न गणतन्त्र दिवसले उत्प्रेरणा प्रदान गरोस्,’ सन्देशमा भनिएको छ, ‘यो दिवसले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, राष्ट्रहित र संविधानसहितको महान् उपलब्धिहरुको रक्षाका लागि एकजुट भई अग्रसर हुन र आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै अघि बढ्न सबैलाई प्रेरित पनि गर्न सकोस् भन्दै गणतन्त्र दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि शासन प्रणालीको सफलता वा असफलतालाई त्यसले प्रवाह गर्ने सेवाको गुणात्मकता र त्यसलाई सञ्चालन गर्ने पात्र र प्रवृत्तिले निर्धारण गर्ने बताएकी छन् ।
शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्ने धारणा राखेकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले नेपालको संविधानले जनताका आधारभूत अधिकारलाई व्यावहारिक कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तनको अनुभूति हुने परिस्थितिको निर्माण गर्न सकेमा मात्र गणतान्त्रिक शासन प्रणालीप्रति जनविश्वास आर्जन गर्न सकिने बताएकी छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4