 
																			२०६२/६३ को राजनीतिक परिवर्तनपछि पनि सडक र देश नै बन्द गरेर दबाब दिने उपाय ‘न्यू नर्मल’ कै रूपमा स्थापित हुँदैथियो। त्यसलाई समाजले पचाइरहेकै थियो। तर त्यसलाई चुनौती दिंदै नेपाल बन्दमुक्त हुनुपर्ने माग सहित केही युवाहरू माइतीघरमण्डलमा उभिन थालेका थिए। उनीहरू नयाँ राजनीतिक बाटो खुलिरहेको छ भन्ने समयको पदचापको जानकारी दिने युवा होलान् भन्ने कसैलाई लाग्दैनथ्यो।
तर पनि उनीहरू थाकेनन्, हारेनन्। प्रतीकात्मक रूपमा अनेकौं सन्देश दिने अवतारमा प्रस्तुत भएर उनीहरूले आफ्नो आवाज भनिरहे। यसरी माग राखिरहँदा अरु नागरिकले दुःख पाउँदैनथे जति नेपाल बन्द र चक्काजाम गर्दा वा सडक अवरुद्ध गरेर प्रदर्शन गर्दा हुन्थ्यो।
दोस्रो संविधान निर्माण वरपरको समयमा उनीहरू काठमाडौंमा भेला भएर राजनीतिक दलहरूलाई छिटो संविधान ल्याउन दबाब दिइरहेका थिए। नयाँ समयको पदचाप सम्झिने नेता कस्तो हुन्छ होला ? उसले सोच्ने तरिका र दिनदिनको राजनीतिमा चल्ने तरिकामा कति भिन्नता हुन्छ होला ? उसले दिने विचारहरू परम्परागत राजनीतिको मापक सूचकाङ्कमा मापन हुन त नसक्ला तर पनि त्यसले कसरी परम्परागत राजनीतिलाई कोल्टे फर्काउन सक्ला ?
यस्तै प्रश्नहरूको जवाफ खोज्दै जाने हो भने हामीले राजनीतिमा उज्ज्वल थापाले लिएको विचार र त्यसलाई समाजको कसीमा जाँच्न अपनाएका परिवर्तनका नयाँ उपाय र नयाँ प्रयोग बारे बुझ्न सक्छौं।
उज्ज्वलले ४४ वर्षकै उमेरमा यो धर्ती छोडे पनि नेपाली राजनीतिमा छोडेका दिगो छापहरू अविस्मरणीय छन्। उनले नेपाली राजनीति मात्र नभई समाजमा समेत गहिरो प्रभाव पारेका छन्।
राजनीतिक दर्शन र नवीन क्रान्ति
उज्ज्वल सधैं परम्परागत राजनीति भन्दा फरक दृष्टिकोण राख्थे। उनले परम्परागत शैलीको राजनीतिक आन्दोलन र बल प्रयोगको सट्टा शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्थे। उनका विचारले शिक्षा र स्वास्थ्य क्षेत्रमा राज्यले प्राथमिकता सहित काम गर्ने मात्र होइन, परिवर्तनको तरिका पनि शान्तिपूर्ण र सृजनात्मक हुनुपर्छ भन्ने विश्वास राख्थे।
उनकै त्यो नवीन उत्साहको परिणामस्वरूप अहिले शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने तरिकामा अभिवृद्धि गरेको छ। खासगरी माइतीघरमण्डललाई सृजनात्मक आन्दोलनको नयाँ केन्द्र बनाउने गरी सरकारलाई प्रश्न गर्न उनले सिकाएको तरिका अहिले नयाँ पुराना सबै दलहरूले अपनाउन थालेको देखिन्छ।
परिवर्तनका तरिका समय अनुसार बदलिनुपर्छ भन्ने मान्यता राख्ने थापाले यसलाई आफ्नै जीवनमा आत्मसात् गरे। राज्यमा पहुँच मार्फत दोहन गर्ने परम्परागत राजनीतिक अभ्यास विपरीत उनी आधुनिक युगमा राज्य र नागरिक एकै सिक्काका दुई पाटा हुन् र राजनीतिले यसलाई नै सहजीकरण गर्नुपर्छ भन्ने मान्यता राख्थे। राज्य र नागरिकबीच मित्रवत् सम्बन्धलाई स्थापित गर्दै आ-आफ्ना दायित्व र अधिकारलाई स्पष्ट रूपमा व्याख्या गरी प्रयोग गर्नसके मात्र आर्थिक तथा सामाजिक विकास सम्भव छ भन्ने उनको बुझाइ थियो।

उज्ज्वलले हरेक नागरिकलाई अवसरमा समान पहुँच स्थापित गर्दै उनीहरूको समृद्धिको पक्षमा उभिन सक्ने हितकारी राज्यको वकालत गरे। यस्तो राज्यमा नागरिक सर्वोच्चतालाई कायम राख्ने विधिको शासन प्रणालीहरू बन्छन् र प्रयोगमा आउँछन्। यसले हरेक क्षेत्रमा समतामूलक वृद्धि हुने वातावरण बनाउँछ।
एकातर्फ हितकारी राज्यले नागरिकको सर्वोच्चता प्रत्याभूति गर्न उनीहरूको सहभागिता र स्वतन्त्रता सुनिश्चित गर्ने विधिको विकास गर्छ भने अर्कोतर्फ समाजलाई सामूहिक हिततर्फ उन्मुख हुने जनउत्तरदायी प्रणाली र विधि बनाउँछ। यस्तो विचारलाई उनले गतिशील मध्यमार्गी (रेडिकल सेन्ट्रिस्ट) नाम दिएका थिए। उक्त विचार व्यक्तिगत पूँजीको मात्रै पूजा गर्ने व्यक्ति-केन्द्रित पूँजीवादी राज्य र देशको स्रोत-साधनले धान्नै नसक्ने गरी वितरणमुखी हुने सामूहिकताकेन्द्रित साम्यवादी राज्यभन्दा फरक हुनुपर्छ भन्ने मान्यता उनको थियो।
शान्तिपूर्ण प्रदर्शनको मार्गदर्शन
उज्ज्वल थापाले शान्तिपूर्ण प्रदर्शनको वकालत मात्र गरेनन्, उनले नवीन तथा सृजनात्मक विरोधको शैली अपनाएर राज्यलाई झक्झकाउनुपर्ने विचार बोक्थे। उनी प्रदर्शनका क्रममा हिंसा र तोडफोडको सट्टा रचनात्मक र शान्तिपूर्ण विरोधलाई प्राथमिकता दिनुपर्ने मान्यता राख्दथे। गणतन्त्र स्थापनापछि प्रतिपक्षविहीन भएको सडकमा उनले सदैव प्रश्नहरू उठाउन प्रेरित गरिरहे, प्रश्न गरिरहे।
डा. गोविन्द केसीको अनशनको आन्दोलनलाई अग्रपङ्क्तिमा रहेर नेतृत्व गर्ने होस् या सुशीला कार्कीमाथि लगाइएको महाअभियोग विरुद्ध लोकतन्त्रको पक्षमा सञ्चालित अभियान होस्– थापाको शान्तिपूर्ण प्रदर्शनको धारणा अहिले पनि नेपाली राजनीतिमा एक प्रेरणाको स्रोत बनेको छ।
उनले प्रदर्शन र आन्दोलनलाई सकारात्मक र रचनात्मक ढंगले सञ्चालन गरे। उनले युवाहरूलाई हिंसा र विध्वंसको सट्टा शान्तिपूर्ण तरिकाले आफ्नो आवाज उठाउन प्रेरित गरे। यसले उनको नेतृत्वमा भएका आन्दोलनहरू समाजमा सकारात्मक प्रभाव पार्न सफल भए।
राजनीति गतिशील अवधारणा हो र यो सधैं परिवर्तनशील हुन्छ भन्ने मान्यतालाई व्यवहारमा उतार्दै उनले राजनीतिप्रति विकर्षित युवाहरूलाई राजनीतिसम्म डोहोर्याउने वैकल्पिक बाटोहरूको खोजी गरे। उनी सदैव लोकतान्त्रिक मूल्य, मानवअधिकार र व्यक्तिगत स्वतन्त्रताको वकालत गर्थे। उनले राजनीतिमा नयाँ अनुहार र विचारधारालाई स्थान दिनुपर्ने बताए, जसले गर्दा नेपाली राजनीतिमा नयाँ ऊर्जा र जोशको सञ्चार भयो।
उद्यमशील समाज र विवेकशील नागरिक
थापाको अर्को महत्वपूर्ण योगदान उद्यमशील समाज निर्माणको अवधारणामा थियो। उनी आत्मनिर्भर समाजको पक्षमा थिए, जसले परनिर्भरतालाई हटाएर स्वाभिमान र स्वावलम्बनको विकास गर्छ। उनले नेपालमै काम गर्न प्रेरित गर्ने र नवीनतालाई प्रोत्साहन गर्ने नीति अघि सार्नुपर्ने बताउँथे। उनले नयाँ दल बनाउँदा विवेकशील नागरिक उद्यमशील समाज भन्ने नारा नै अगाडि सारेका थिए। यसको सार नै यदि राज्यमा बदलाब ल्याउनु छ भने कम्तीमा सत्तालाई प्रश्न गर्न सक्ने तथा आफ्नो कर्तव्य बुझेको र विवेकको प्रयोग गर्ने नागरिकहरूको समूह चाहिन्छ भन्ने हो।
समाजलाई उद्यमशील बनाउन सके मात्र नागरिक थप स्वतन्त्र बन्छन्। यस्ता स्वतन्त्र नागरिकले मात्र आफ्नो मस्तिष्क (विवेक) प्रयोग गर्न सक्छन् र राज्य नागरिकको असली नियन्त्रणमा आउँछ। उज्ज्वल यस्तो अवस्थालाई नै वास्तविक लोकतन्त्र मान्थे।
समाजलाई आर्थिक रूपले सबल र आत्मनिर्भर बनाउन युवा तथा नागरिकहरूले केवल राजनीतिक मात्र नभई आर्थिक र सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने विश्वास उनी राख्दथे।
उद्यमशीलता र नवीनताको प्रोत्साहन मार्फत देशको आर्थिक विकासलाई नयाँ बाटो देखाउन सकिन्छ भन्ने मान्यता राख्ने उनी स्टार्ट अप र साना व्यवसायहरूलाई प्रोत्साहित गर्नुपर्ने मान्यता राख्दथे। यसबाट नेपाली युवालाई स्वदेशमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने उनको विश्वास थियो।
सेवक सरकार र हितकारी/कल्याणकारी राज्य
उज्ज्वल थापा नागरिक र समाज दुवैको हितका लागि काम गर्ने हितकारी राज्यको परिकल्पना र वकालत गर्थे। उनले विधिको शासन, समतामूलक वृद्धि र जनउत्तरदायी प्रणालीलाई महत्व दिंदै भन्थे– ‘राज्य र नागरिक एकअर्काका पूरक हुन् र दुवैले एकअर्काका अधिकार र दायित्वलाई स्पष्ट रूपमा परिभाषित गर्नुपर्छ।’
उज्ज्वलले सामाजिक न्याय र समानताको पक्षमा धेरै आवाज उठाए। उनले लेखेका ब्लगहरूको संग्रह ‘ह्वाई नेपाल डटकम’ हेर्दा राज्यले नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगार र अन्य आधारभूत सेवाहरू प्रदान गर्नुपर्ने मान्यता स्पष्टताका साथ राखेको देखिन्छ। त्यति मात्र नभई हितकारी राज्यले सबै नागरिकलाई समान अवसर दिनुपर्ने र उनीहरूको जीवनस्तर उकास्नेतर्फ अग्रसर हुनुपर्नेमा उनी प्रष्ट थिए। हितकारी राज्यको अवधारणाले समाजमा सामाजिक न्याय र समानताको मर्मलाई स्थापित गराउँछ।
उनी सरकारले सेवक बनेर नागरिकको सेवा गर्नुपर्ने, जवाफदेही र पारदर्शी हुनुपर्नेमा जोड दिन्थे। सेवक सरकारको अवधारणाले नागरिक सहभागिता र सर्वोच्चतालाई प्राथमिकतामा राख्छ। जनताका हक, अधिकार र आवश्यकतालाई प्राथमिकता दिंदै जनतासँग प्रत्यक्ष संवाद गर्न सक्ने सरकारको वकालत गर्दछ। जवाफदेही र पारदर्शी शासन प्रणालीको जगमा समाजमा विश्वास र सम्मानको वातावरण सिर्जना हुन्छ। उनी यी मान्यताहरू पछ्याउन नेपाली समाजले ढिला गर्नुहुँदैन भन्थे।
विवेकशील नेपाली पार्टीदेखि विवेकशील साझासम्म
उज्ज्वल थापाले आफ्नो सोच अनुरूपको राज्य निर्माण गर्ने दल निर्माण गर्न पनि समय र ऊर्जा खर्चिए। उनको नेतृत्वमा गठन भएको विवेकशील नेपाली पार्टी नेपाली राजनीतिक परिदृश्यमा वैकल्पिक शक्तिको बहस पैरवी सुरु गर्ने अग्रणी दल बन्यो। डा. बाबुराम भट्टराईदेखि रवीन्द्र मिश्र हुँदै रवि लामिछानेसम्मले कुनै न कुनै समय आफूलाई वैकल्पिक राजनीतिको पक्षधर दाबी गरे पनि त्यस्तो राजनीति सम्भव हुन्छ भनेर पहिलो पटक दल बनाएरै परिकल्पना गरेको उज्ज्वल थापाले नै हो।
उनले नयाँ राजनीतिक दलको रूपरेखा कस्तो हुनुपर्छ भनेर मात्र बोलेनन्, त्यसलाई परीक्षण गरेर देखाए। उनले लोकतन्त्रलाई केवल भोट हाल्नुमा सीमित नगरी नागरिकलाई विवेकशील बनाउनुपर्छ भन्ने तर्क राखे। केही थान नेताहरूको सिपाही हुनुपर्ने कार्यकर्ता निर्माण गर्ने मूलधारको चेतना विरुद्ध उनले दलमा प्रश्न नगर्ने/गर्न नसक्ने कार्यकर्ता होइन, नेतृत्वलाई चुनौती दिने विवेकशीलहरूको समूह निर्माणमा जोड दिए। उनको लोकतन्त्रप्रतिको गहिरो लगाव र प्रतिबद्धता स्वरूप नै विवेकशील नेपाली पार्टीभित्र आन्तरिक लोकतन्त्रको जीवन्त अभ्यास गरे। २१ वर्षको उमेरमा नै रन्जु दर्शनालाई पार्टीले काठमाडौं महानगरको मेयर पदको उम्मेदवार बनायो।
चुनावी परिणाममा जित र हार जे भए पनि खासमा त्यो नेपाली राजनीतिमा युवाले जितेको समय थियो। युवाहरूले आफ्नो समय आएपछि जिम्मेवारी लिन तयार हुनुपर्छ भन्ने त्यो प्रष्ट सन्देश थियो। आज त्यसकै जगमा काठमाडौं महानगरको मेयर मूलधारको दलभन्दा बाहिरबाट जित्ने माहोल निर्माण भएको हो। दलको आवरणमा भइरहेको लुटतन्त्र विरुद्ध आवाज उठाउँदै त्यसको विकल्प प्रस्तुत गर्ने उनको अभियानले कम्तीमा ८ वर्षपछि सार्थकता पाएको मान्नुपर्छ।
सामाजिक अभियान र नेतृत्व
उज्ज्वल थापा सामाजिक अभियन्ता पनि थिए। उनले नेतृत्व गरेको विभिन्न सामाजिक अभियानहरूले युवाहरूलाई सक्रिय राजनीति र सामाजिक सेवामा लाग्न प्रेरित गर्यो। थापाले नयाँ नेतृत्व विकास गर्ने, युवाहरूलाई जिम्मेवार नागरिक बनाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानहरू चलाए।
डा. गोविन्द केसीको चिकित्सा शिक्षा सुधार गर्ने आन्दोलनदेखि लुटतन्त्र मच्चाउने लोकमानसिंह कार्की विरुद्ध आवाज उठाउन होस् या दलहरूको स्वार्थमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउँदा उनले यस्ता गैरलोकतान्त्रिक कदमको विरुद्ध सामाजिक अभियान मार्फत आफूलाई सदैव अग्रपङ्क्तिमा उभ्याएका थिए। भूकम्पको समयमा काठमाडौं महानगरभित्र सबैभन्दा छिटो पुगेर त्यसमा अप्ठेरो परेकाहरूलाई सहयोग गर्ने दल थियो विवेकशील नेपाली दल।
उनी भविष्यको नेपाल कस्तो हुनुपर्छ भन्ने बारेमा गहिरो विचार राख्दथे। उनको सन् २०३० मा काठमाडौं शहर कस्तो हुनुपर्छदेखि नेपाललाई दुई छिमेकीका बीच गुरुराष्ट्र बनाउनुपर्छ भन्ने परिकल्पना नेपालको भविष्यको परिकल्पना थियो। उनले युवाहरूलाई जागरुक, आत्मनिर्भर र विवेकशील बनाउन आवश्यक रहेको वकालत गर्दथे।
उज्ज्वल थापाको राजनीतिक सक्रियता र विचारधाराले नेपाली राजनीतिमा नयाँ आयाम थपेको छ। उनको योगदानले नयाँ दलहरूलाई वैकल्पिक राजनीतिको मार्ग देखाएको छ। थापाले देखाएको बाटोले नेपाली समाजमा विवेकशीलता, उद्यमशीलता र सेवक प्रवृत्तिको सरकारको अवधारणालाई स्थापित गर्नेमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। उज्ज्वल थापाको योगदान सदैव स्मरणीय रहनेछ र उनका विचारहरूले नेपाली राजनीतिको दिशा परिवर्तन गर्न निरन्तर प्रेरणा दिनेछ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4