 
																			१० असार, धनगढी । सुदूरपश्चिम प्रदेशको बजेटमा आफूहरुको योजना नपरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यका चार करोड र समानुपातिक प्रदेश सभा सदस्यका दुई करोड बराबरका योजना बजेटमा समेट्ने समझदारी बनेपनि कार्यान्वयन नभएको कांग्रेसको भनाइ छ ।
सोमबार धनगढीस्थित प्रदेश सभा परिसरमा पत्रकार सम्मेलन गरेर कांग्रेसले बजेटप्रति असन्तुष्टि जनाएको हो ।
‘सुरुमा हामीले मुख्यमन्त्रीलाई सांसदको सिफारिसमा १० करोड बराबरको योजना पानुपर्छ भनेर प्रस्ताव गरेका थियौँ,’ कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले भने, ‘बार्गेनिङपछि प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदको सिफारिसमा दुई करोडका योजना हाल्ने सहमति भएको थियो तर अहिले हामीले सिफारिस गरेको योजना नपरेको सुनिदैछ ।’
धामीले कांग्रेसका सबै प्रदेशसभा सदस्यले लेटर प्याडमा लेखेर योजनाको सूची बुझाएको बताए ।
पूर्व मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको १० दिनसम्म पनि बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक नगरेको बताए ।
शाहले वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक नगर्नुको कारण मनपरी ढंगले योजना समावेश गरेको छ कि भन्ने आशंका व्यक्त गरे ।
उनले सरकारले तत्काल वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गर्नुपर्ने बताए । अर्कोतिर सरकारले स्रोतको सुनिश्चितता नभएर हचुवाको भरमा बजेटको आकार बढाउने काम गरेको आरोप समेत उनको थियो ।
बजेट सार्वजनिक भएको तेस्रो तीनमै आर्थिक मामिला मन्त्रालयका सचिव कमानसिंह खत्रीको सरुवा गरिनुलाई शंकास्पद रहेको शाहले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4