
७ साउन, काठमाडौं । एक महिनामा सबैभन्दा धेरै मूल्य बढेका १० कम्पनीमा ५ वटा वाणिज्य बैंकहरू परेका छन् । खासगरी लगानीकर्ता तथा कारोबारीको प्रमुख रोजाइमा सस्तो मूल्यका वाणिज्य बैंक परेको देखिन्छ ।
विगत एक महिनामा वाणिज्य बैंकको समूहगत सूचक नै २९ प्रतिशत बढिसकेको छ । ‘टप फाइभ’मा परेका बैंकहरूको मूल्य भने ३९ प्रतिशतभन्दा धेरै बढेको छ ।
एक महिनामा वाणिज्य बैंकहरुमध्ये प्रभु बैंकको मूल्य सबैभन्दा धेरै ४४. १९ प्रतिशत बढेको छ । यस कम्पनीको मूल्य प्रतिकित्ता ६२ रुपैयाँ ७० पैसा बढेर हाल प्रतिकित्ता २०४ रुपैयाँ ६० पैसा कायम भएको छ । एक महिनामा कुमारी बैंकको मूल्य ४१.१५ प्रतिशत बढेको छ । कुमारीको प्रतिकित्ता ५६ रुपैयाँ ७० पैसा मूल्य बढेर हाल १९४ रुपैयाँ ५० पैसा पुगेको छ ।
मूल्य उच्च दरमा बढेका वाणिज्य बैंकमध्ये तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक छ । यसको मूल्य एक महिनामा ४०.६५ प्रतिशत (६३ रुपैयाँ) बढेर २१८ रुपैयाँ कायम भएको छ ।
चौथोमा रहेको हिमालयन बैंकको मूल्य ४०.२३ प्रतिशत (७१ रुपैयाँ ४० पैसा) बढेर २४८ रुपैयाँ ९० पैसा पुगेको छ । प्राइम कमर्सियल बैंकको मूल्य एक महिनामा ३९.६५ प्रतिशत (७८ रुपैयाँ ५० पैसा बढेर २७६ रुपैयाँ ५० पैसा पुगेको छ ।
एक महिनामा मूल्य उच्च दरमा बढेका वाणिज्य बैंक
कम्पनी | हालको मूल्य | वृद्धिदर (प्रतिशतमा) |
प्रभु | २०४.६० | ४४.१९ |
कुमारी | १९४.५० | ४१.१५ |
इन्भेस्टमेन्ट मेगा | २१८ | ४०.६५ |
हिमालयन | २४८.९० | ४०.२३ |
प्राइम | २७६.५० | ३९.६५ |
प्रतिक्रिया 4