+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै भोजपुरका किसान

रासस रासस
२०८१ भदौ २० गते १३:१३

२० भदौ, भोजपुर । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यहाँका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन् । अहिले किसान सुन्तला, कागती, एभोकाडो, ओखर, किवीलगायत बहुवर्षीय बालीको खेती विस्तारमा जुटेका हुन् ।

एक पटक विस्तार गरेर हुर्काएपछि दीर्घकालसम्म निरन्तर आम्दानी लिने खालका बाली विस्तारमा किसान आकर्षित भएका छन् । स्थानीय सरकारले पनि किसानलाई एभोकाडो, सुन्तला, कागती, किवी, ओखर कफीलगायत बहुवर्षीय बालीको खेतीका लागि प्रोत्साहनका कार्यक्रमसँगै अनुदान सहयोगसमेत गर्दै आएको छ ।

पौवादुङमा गाउँपालिकाले वडा नं १ श्मामशिलामा पकेट क्षेत्र निर्धारण गरेर बहुवर्षीय बाली किवीखेती विस्तार गरेर किसानलाई आवश्यक सहयोग गरिरहेको छ । गाउँपालिकाले पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका करिब ३० घरपरिवारले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाले एभोकाडो, कफीलगायतको खेती विस्तारका लागि किसानलाई आवश्यक प्राविधिक सहयोगसँगै बिरुवासमेत वितरण गर्दै जनाएको छ । गाउँपालिकाले किसानको दिगो आयश्रोतको व्यवस्थापन गर्न बहुवर्षीय बाली विस्तारमा जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

बहुवर्षीय फलफूलको विस्तारले दीर्घकालसम्म आम्दानी लिन सकिने उनको भनाइ छ । ‘किसानलाई बहुवर्षीय बालीको खेती विस्तारमा प्रोसाहित गर्दै आएका छौँ’, प्रशासकीय अधिकृत भट्टराईले भने, ‘बहुवर्षीय बालीबाट एक पटक विस्तार गरेपछि किसानले लामो समयसम्म आम्दानी लिन सक्छन् ।’

गाउँपालिकाले यहाँको भूगोल सुहाउँदो फलफूल तथा तरकारीखेतीमा जोड दिएर योजनाबद्ध रुपमा लगानी गरिरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । यहाँका छ वटै वडामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएको उनको भनाइ छ ।

‘किसानलाई प्रोत्साहन गर्न हामीले बहुवर्षीय बालीको खेतीमा जोड दिएका छौँ’, अध्यक्ष राईले भने, ‘बहुवर्षीय बाली विस्तारले किसानले निरन्तर रुपमा आम्दानी लिन सक्नेछन्, अहिले हामीले योजनाबद्ध रुपमा काम अघि बढाएका छौँ, किसान यस्ता बालीको खेती विस्तारमा जुटेको अवस्था छ ।’

टेम्केमैयुङ गाउँपालिकाले पनि बहुवर्षीय बाली विस्तारमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिइन् । गाउँपालिकाले सुन्तला, कागती, दाँते ओखर, किवीलगायत बालीको व्यावसायिक खेती विस्तारमा किसानलाई सहयोग गर्दै आएको उनको भनाइ छ ।

यहाँका नौ वटै वडाका तल्लो भेगमा सुन्तलाको राम्रो खेती हुने भएकाले सुन्तला पकेट कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । सुन्तला पकेट कार्यक्रम अन्तर्गत वडा नं २, ३ र ५ मा गत आर्थिक वर्षमा ६ लाख रुपैयाँ बराबरको बिरुवा वितरण गरिएको उपाध्यक्ष राईले बताइन् । ‘बहुवर्षीय बाली विस्तारले किसानले लामो समयसम्म आम्दानी लिन सक्छन्, विभिन्न बहुवर्षीय बालीसँगै सुन्तलाखेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेका छौँ’, उनले भनिन् ।

किसानलाई वडास्तरबाट पनि विभिन्न जातका बहुवर्षीय फलफूलखेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । साल्पासिलिछो गाउँपालिकाले किवी, सुन्तला, अलैँची, रुद्राक्ष एभोकाडो, ओखरलगायत विस्तारमा जोड दिएको प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए । वडा नं ५ मा ओखरको पकेट क्षेत्र बनाउने लक्ष्यका साथ काम अघि बढाएको उनको भनाइ छ ।

अरुण गाउँपालिकाले आँप, लिची, सुन्तला, कागती एभोकाडोलगायतको खेतीमा जोड दिएको कृषि शाखा प्रमुख रविन्द्र सापकोटाले जानकारी दिए । किसानको मागका आधारमा सुन्तला, लिची, एभोकाडो, किवीलगायत बहुवर्षीय खेतीमा किसानलाई प्रोत्साहन गर्दै आएको रामप्रसादराई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले जानकारी दिए ।

यहाँको वडा नं ५ मानेभञ्याङमा एभोकाडो तथा वडा नं ४ दलगाउँमा एभोकाडो र लिची एवं वडा नं १ ओख्रेमा किवीखेती विस्तार गरिएको उनको भनाइ छ । वडा नं ६ बैकुण्ठेमा सुन्तला नर्सरी स्थापना गरेर किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गरिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?