 
																			३० भदौ, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ कटहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
शनिबार राति जुवा खालबाट प्रहरीले सोही गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले १८ लाख रुपैयाँ पनि बरामद गरेको छ ।
पक्राउ पर्नेमा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष ग्रामथान-४ का ५९ वर्षीय शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका-१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका-१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका-६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका-१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैंचा नगरपालिका-१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान-४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका-९ का ३८ वर्षीय लोकनाथ सापकोटा रहेका छन् ।
शिवनारायण २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीका अनुसार जुवा खालबाट १८ लाख ५१ हजार ५०० रूपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको छ ।
प्रहरीका अनुसार ग्रामथानको कटहरास्थित बाँस झ्याङभित्र जुवा खाल बनाएर खेल्दै आएको पाइएको छ ।
उक्त स्थानलाई ‘बाह्रमासे’ जुवा खाल भनिन्थ्यो । छापा हान्ने क्रममा केही व्यक्ति फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4