 
																						१७ असोज, काठमाडौं । पानी नहुँदा बुद्धनगरमा डेरा बस्ने सुयोग नेपालको दैनिकी खल्बलिएको छ । पाँच दिनदेखि पानी नहुँदा उनी दिनहुँ जारको पानी किनेर चलाइरहेका छन् ।
‘धारोमा पानी आएकै छैन, कपडा धुन नपाएको एक हप्ता भइसक्यो । ट्यांकरको पानी पनि नआउँदा जारको पानीले मुख धुनुपरेको छ । शौचालयमा समेत जारको पानी प्रयोग गर्नुपरेका छ,’ नेपालको गुनासो छ ।
उनले पानी नहुँदा दैनिक खर्च बढेको समेत सुनाए । ‘जारको पानी दिनकै प्रयोग गर्दा खर्च कति हुन्छ, आफैं भन्नुस् । राजधानीकै अवस्था यस्तो छ । अन्तको कुरा के गर्नु ?,’ सरकारप्रति उनले आक्रोश पोखे ।
बुद्धनगरका उनीमात्र होइन, थापागाउँकी शर्मिला श्रेष्ठ पनि अहिले आक्रोशित छिन् । ‘राजधानी रे, पानीको कहिले ठेगान छैन, अब मेलम्ची कहिले आउने थाहा छैन, ट्यांकरवालाले पनि फोन गर्दा पानी झारेका छैनन्,’ घर डेरामा लगाएकी श्रेष्ठ भन्छिन्, ‘अब पानी नहुँदा तनाव हुनै नै भयो । केयूकेएलका मान्छेको काम बिल मात्रै लिने हो र ?’
उता, कीर्तिपुर नगरपालिकामा पनि पानीको समस्या भएको कार्यवाहक प्रमुख सुनिता शाक्य बताउँछिन् ।
‘अहिले कीर्तिपुरको अधिकांश क्षेत्रमा पानीको समस्या छ, मूल स्रोतहरूमै रुख ढलेको, फोहोर जम्मा भएको अवस्था छ,’ शाक्यले अनलाइनखबरसँग भनिन् ।
उनका अनुसार कीर्तिपुरमा मुख्य गरेर दूधपोखरी, नौमुले क्षेत्रको पानीको मुहान बिग्रेको छ । ट्यांकरको पानी पनि नआउँदा थप जोखिम भएको छ ।
‘पहिले धारामा पानी नआउँदा ट्यांकर आउने गर्थ्यो तर ट्यांकरले पनि भर्ने स्थानमा बाढी पस्दा त्यो पनि सम्भव छैन । त्यही भएर अहिले धेरै समस्या भएको हो । एक हप्ताभित्र समाधान हुने आश गरेका छौं,’ शाक्यले भनिन् ।

पानी वितरण ६५ प्रतिशत कम
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार अहिले नियमित हुनुपर्ने पानी वितरणभन्दा ६५ प्रतिशत घटेको छ ।
‘हामी सामान्य बेला भएको भए अहिले दैनिक १६ करोडदेखि १८ करोड लिटरसम्म खानेपानी वितरण गर्दै आएका थियौं,’ मेलम्चीका प्रवक्ता प्रकाशकुमार राई भन्छन्, ‘अहिले ६ देखि ८ करोड लिटरमात्रै पानी वितरण भइरहेको छ । अब पानी नै कम वितरण भएपछि हाहाकार त हुने नै भयो नि !’
राईका अनुसार उपत्यकामा आएको भीषण वर्षा र बाढीले केयूकेएलमा मात्रै करिब ३० करोड रुपैयाँ हाराहारी क्षति पुगेको छ ।

‘हाम्रो अहिले धेरै ठाउँको प्लान्ट र पम्प बिग्रेको छ । धेरै पम्प डुबानमा परेर बन्द भएका छन्, केही बगाएका पनि छन् । त्यो सबै क्षतिको विवरण संकलन हुँदैछ । कतिपय ठाउँमा हिलो जमेर नदेख्ने अवस्थामा छन्,’ राईले भने ।
उनका अनुसार केयूकेएलको मुहान रहेको शिवपुरी वन क्षेत्रको केही स्थानमा पहिरो जाँदा बिग्रेको छ ।
‘केयूकेएल पूर्ण क्षमतामा चल्न केही समय अझै लाग्ने देखिन्छ । हाम्रो पानी वितरण घट्दा ट्यांकरको पानी पनि हाहाकार नै हुन्छ,’ राई थप्छन्, ‘ट्यांकरले पानी भर्ने पनि स्थानीय खोला, खोल्सीबाट नै हो तर त्यो सबै बिग्रेको छ । केही ट्यांकरले इमर्जेन्सी हुनेलाई वितरण गरिरहेका छन् ।’
मौसम सफा हुने बित्तिकै पानी आउँछ : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादव मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने दाबी गर्छन् ।
यादवले मौसम सफा भएको केही दिनभित्रै मेलम्ची पानी काठमाडौंमा वितरण गरिने बताए ।

‘अहिले उपत्यकामा खानेपानीको समस्याबारे मन्त्रालय जानकार नै छ तर मेलम्चीको पानी खोल्ने बित्तिकै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान हुन्छ,’ यादव भन्छन् ।
उनका अनुसार त्यसभन्दा अघि पाइपको पनि डिजिटल प्रणाली, त्यसबाट कहाँ–कहाँ पाइप फुटेको छ, कहाँ नष्ट भएको छ, त्यो हेर्ने काम भइरहेको छ । देशभरि खानेपानीको क्षेत्रमा मनसुनजन्य विपद्बाट करिब ३ अर्ब २४ करोड क्षति भएको छ ।
बाढी प्रभावित वडामा ट्यांकर, काठमाडौंको भर केयूकेएलमै
ललितपुर महानगरपालिकाले विपद् प्रभावित वडामा ट्यांकरबाट पानी वितरण गर्ने भएको छ ।
महानगर स्तरीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले वडा स्तरबाट खानेपानी व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

मेयर चिरीबाबु महर्जनले बाढी, पहिरोपछि पानीको स्रोत प्रभावित हुने भएकाले पानीजन्य रोग फैलिन नदिन यो व्यवस्था गरेको बताए ।
‘पानी शुद्धीकरणका लागि किटनाशक औषधिको समेत व्यवस्था गरेका छौं,’ उनले भने । बैठकले अत्यावश्यक औषधि ‘जीटूजी’ माध्यमबाट खरिद गर्ने समेत निर्णय गरेको छ ।
यता, काठमाडौं महानगरपालिकाले भने खानेपानीको जिम्मा केयूकेएलले नै लिएको जनाएको छ ।
‘खानेपानीको जिम्मा केयूकेएलले नै लिएको छ । समस्या परेको विषयमा महानगरले झकझक्याउने मात्रै हो । पानी उपलब्ध उनीहरूले नै गर्छन्,’ महानगर प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘अहिले विपद्का बेला भएर पानी पर्याप्त नभएको गुनासो आएको हो ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4