 
																			२७ असोज, चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ मा रहेको श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटालाई ६ महिना अगाडि मोही उत्पादन गर्दा उनलाई लागेको थिएन, यतिको मार्केट लेला भनेर ।
सहकारी दिवसको दिन गत चैत २० गते मही उत्पादन गरेर पहिलोपटक विक्रीवितरण गरेको श्री गंगानगर दुग्ध उत्पादक सहकारीलाई झरी परेको दिन बाहेक अन्य दिनमा मही विक्रीको चिन्ता परेन । ५ सय लिटर दैनिक मही उत्पादन गरेर बजार पठाउँदै आएको सहकारीले माग धेरै हुँदा १ हजार लिटरसम्म पनि मही तयार गरेर बजार पठाउने गरेको छ ।
ठूलाठूला कार्यक्रममा पहिलापहिला कोल्ड ड्रिङ्क्स बाँड्ने गरिए पनि हिजोआज मही बाँड्न थालिएको छ । माग बढ्दै गएपछि चितवनका विभिन्न डेरी तथा सहकारीहरुले मही उत्पादन गरेर बोत्तलमा प्याक गरी उत्पादन तथा म्याद सकिने समयसमेत तोकेर बजारमा बेच्न थालेका छन् ।
घरमा दही जमाएर दारको ठेकीमा मही बनाएर खाएको अघिल्लो पुस्ता मात्रै हैन, नयाँ पुस्ता समेत महीप्रति आकर्षित बनेको देख्दा आफूहरुलाई निकै खुसी मिलेको अध्यक्ष सापकोटाले बताए । ‘मलाई त लाग्थ्यो अहिलेको नयाँ पुस्ताले मही भनेको के हो कस्तो हो भन्ने पत्तो पाउँदैन, मही रूचाउँदैन होला, तर हामीले नयाँ पुस्तालाई पनि महीमा पल्काउन थालेका छौं,’ अध्यक्ष सापकोटाले भने, ‘कोल्ड ड्रिङ्क्सहरू भन्दा मही मिठो, स्वादिलो, पोषिलो हुँदो रहेछ भन्ने कुरा धेरैले बुझ्न थालेका छन् ।’ बोतलमा प्याक गरिएको मोही सात दिनसम्म उपभोग गर्न सकिने उनले बताए ।
मही आफ्नो देश भित्र उत्पादन हुने, पैसा विदेश पनि नजाने र स्वास्थ्य पनि नबिगार्ने भएकोले धेरैले दही र मही खान थालेको अध्यक्ष सापकोटाको भनाइ छ । उनको संस्थाले ५ सय मिलिलिटर (एमएल)को बोतलमा प्याक गरेको मही बेच्दै आएकोमा तिहार अगाडि फेमिली प्याक बजारमा ल्याउने तयारी गरेको छ । ५ सय एमएल महीलाई ३५ रुपैयाँमा विक्री गर्दै आएको संस्थाले २ लिटरको फेमिली प्याकलाई १ सय १० र ५ लिटरको दहीको ३ सय ५० रुपैयाँ तोकेको छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको छ । ‘कोल्ड ड्रिङ्कस् २५० एमएलकै ६०/७० रुपैयाँ पर्न आउँछ, तर मही त आधा लिटरको जम्मा ३५ त पर्छ,’ अध्यक्ष सापकोटाले भने, ‘थोरै रकममा स्वस्थ मही पेटभरी खान सकिन्छ ।’
अध्यक्ष सापकोटाले पहिलाको भन्दा पनि अझै मिठो उत्पादन गरिने बताए । संस्थाले क्रिम नकाटी दही जमाएर दारको ठेकीमा मोथेर मही बनाउन खोजेको छ । ‘हामीले २ लिटरको बोत्तलमा मही बनाउँदै आएका छौं, एउटा घर परिवारलाई एकपटकलाई पुगोस् भन्ने उद्देश्य हो,’ अध्यक्ष सापकोटाले भने, ‘आगामी दिनमा भरतपुरमा नै मही घर खोल्ने सोच बनाएका छौं, जहाँबाट दूग्धजन्य उत्पादनहरु बेच्न सकियोस् । संस्थाको पनि ब्राण्डिङ होस् ।’

मही नगदमा बिक्री हुने भएकोले रकम उठन समस्या हुँदैन । महीबाट संस्थालाई खासै फाइदा नभए पनि महीको टेष्ट र महत्व दर्शाउन उत्पादन लागतमात्रै सामान्य रूपमा उठने गरी विक्रीवितरण गरिएको अध्यक्ष सापकोटाले बताए । धेरैजसो होटलहरुले पनि चिसो पेयपदार्थको सट्टा मही दिन थालेको उनले बताए ।
महीको माग बढ्दा दूधको खपत पनि धेरै हुने भएकाले किसानलाई फाइदा हुने अध्यक्ष सापकोटा बताउँछन् ।
पालिकामा पाहुनालाई मही दिएर स्वागत
गंगानगर सहकारीले दैनिक ५५ सयदेखि ६ हजार लिटर दूध संकलन गर्दै आएको छ । ४ विगाहा जग्गामा ४० वटा गाईको नमूना फार्म पनि सहकारीले चलाएको छ । संकलित तथा उत्पादित ५० प्रतिशत दूध सहकारी आफैंले खपत गर्ने र ५० प्रतिशत बाहिरका डेरी तथा उद्योगहरुलाई बेच्ने गरिएको अध्यक्ष सापकोटाले जानकारी दिए । सो डेरीले हाल मोहीबाहेक छुर्पी, बटर, नौनी, घिउ, पनिर, चिज, दही र दूध बेच्दै आएको छ ।
चितवनकै अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले समेत महीको व्यावसायिक उत्पादन गरेर बजार लैजाने गरेको छ । संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले महीको माग धान्न नसकिएको बताए । जिल्लाका स्थानीय तहहरुले गर्ने कार्यक्रम, सहकारीका साधारणसभा, ठूला सभाहरु, विभिन्न घरायसी कार्यहरुमा समेत महीको खपत बढी हुन थालेको छ । भोजहरुमा पनि मही राख्ने चलन सुरु भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकाले त पालिकामा आउने जोकोही पाहुनालाई पनि मही दिएर नै स्वागत गर्ने गरेको छ ।
चितवनका दुग्ध सहकारीहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाबाट अनुज्ञा पत्र नै लिएर महीको व्यवसायिक उत्पादन थालेका छन् । अन्नपूर्ण दूग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष तिमिल्सिनाले गर्मीको बेलामा दैनिक १ हजार लिटरसम्म मही उत्पादन गरेर बिक्री गरेको बताए ।

चितवन, नवलपरासी, गोरखा, लमजुङका सहरी भेगसम्म प्याकेजिङ्ग गरेको मोही लैजाने गरिएको बताए । महीको खपत बढ्दा त्यसको प्रत्यक्ष असर बहुराष्ट्रिय कम्पनीका चिसो पेय पदार्थ उत्पादन गर्ने कम्पनीहरुमा परेको जानकारी आफूले पाएको अध्यक्ष तिमिल्सिनाले बताए । ‘४० देखि ५० प्रतिशतसम्म उहाँहरुको बिक्री कम भएको भन्ने सुनेको छु,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘मही र दहीको बजार आक्रामक रुपमा गएको छ, उपभोक्ताको पनि साथ सहयोग देखिन्छ ।’
अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक ७ हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आएको छ । अन्नपूर्ण नामकको आफ्नै दही, घ्यू, पनिर, बटर, नौनी उत्पादन हुन्छ । अन्नपूर्णले संकलित दूध ८० प्रतिशत आफैंले खपत गर्छ भने २० प्रतिशत मात्रै बाहिर बेच्ने गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।
भरतपुर–६ गीतानगरका उपेन्द्र पण्डितले विगत २ वर्षदेखि कोल्ड ड्रिङ्क्स घरमा ल्याउन छाडेको बताए । कोल्ड ड्रिङ्क्सको सट्टामा दही–मही नै खाने गरेको उनी सुनाउँछन् । ‘कोल्ड ड्रिङ्क्सले फाइदा गर्दैन भन्ने पनि भयो, अर्कोतिर स्वदेशी रकम विदेश किन पठाउने भन्ने पनि हो,’ पण्डितले भने, ‘हिजोआज कोल्ड ड्रिङ्क्सका बोत्तल घरमा भेटन पनि मुस्किल हुन थालेको छ ।’
सहकारी संस्थाका सदस्य हरि चापागाईंले अहिले संस्थाले महीको आक्रामक ब्यापार गरेको जानकारी दिए । ‘काठको ठेकीबाट बनाएको मही, भुटेको मकै, भट्ट, गुन्द्रुकको अचार खाएर हुर्किएको अघिल्लो पुस्तालाई पुरानो स्मृति गराउनु छ, नयाँ पुस्तालाई मही चखाउनु छ, महत्व बुझाउनु छ’ चापागाईंले भने, ‘नाफाघाटा हेरेका छैनौं, मही नेपालीहरूको पहिचान हो यसलाई ब्रान्डिङ्ग गर्नुपर्छ भन्ने मात्रै हाम्रो उद्देश्य छ ।’

महीको उत्पादन बढ्दै जाँदा किसानले उत्पादन गरेको दूध बिक्रीमा समस्या नहुने उनको विश्वास छ । उनले महीको उपभोगको फाइदाका विषयमा जनमासमा चल्न थालेका सकारात्मक बहसहरूबाट आफूहरु उत्साहित भएको बताए । ‘महीको गुणस्तर कसरी बढाउने र बढी सुरक्षित कसरी गर्ने भन्ने बारेमा मात्रै अब हामीले ध्यान दिए पुग्छ,’ चापागाईंले भने, ‘देशभर नै दही र महीको उत्पादन र उपभोग बढाउन यसले महत्वपूर्ण भूमिका खेल्छ ।’
मही खानु स्वास्थ्यलाई धेरै फाइदा : चिकित्सक
भरतपुर अस्पतालका निवर्तमान अध्यक्षसमेत रहेका फिजिसियन डा. भोजराज अधिकारी कोल्ड ड्रिङ्क्स भन्दा महीको सेवन स्वास्थ्यका दृष्टिकोणबाट धेरै राम्रो भएको बताउँछन् ।
कोल्ड ड्रिङ्क्सहरुमा चिनीको मात्रा बढी हुने तर महीमा त्यो नहुने, खाना पचाउने तत्व पनि दही–महीमा हुने भएको स्वास्थ्यका लागि राम्रो हुने उनको भनाइ छ ।
‘लामो समयसम्म राख्दा दही–महीहरु बिग्रने कारणले यसको स्टोरेज लामो समयसम्म हुँदैन, त्यसैले ताजा नै खाने गरिन्छ,’ डा. अधिकारीले भने, ‘दही–मोहीमा पाइने बेसिलस भन्ने ब्याक्टेरियाले खाना पचाउँछ र आन्द्रा तथा पेट सम्बन्धी समस्या हुनबाट जोगाउँछ ।’
महीले झाडापखाला, कब्जियत, पायल्स, कोलेस्टोरल, उच्च रक्तचाप जस्ता रोग नियन्त्रणमा पनि सहयोग गर्ने डा. अधिकारीले बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4