+
+
WC Series
पोखरा एभेन्जर्स 2025
11/1 (2.5)
VS
१०३ बलमा १५५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

अमेरिकाले धार्मिक सञ्जाल गठन गरेको भन्दै विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ६ गते १२:१६

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकाले अन्तर्राष्ट्रिय स्तरमा धार्मिक सम्प्रदायबीच वैमनस्यता सिर्जना गर्ने अभिप्रायले धार्मिक सञ्जाल खडा गरेको भन्दै विरोध जनाएको छ ।

संसारभर धर्मको आडमा आफ्नो अभियान चलाउने नीति अनुसार अमेरिकाले ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वा आस्था गठबन्धन’ (International Religious Freedom or Belief Alliance) नामको सञ्जाल बनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीले विरोध जनाएको हो ।

सो पार्टीका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उक्त साम्राज्यवादी नीतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । अमेरिकाले जसरी धार्मिक स्वतन्त्रताको प्रचार गरेको छ वास्तवमा त्यो जनताको धर्मप्रतिको स्वाभाविक चिन्ता नभएर कथित अमेरिकी स्वार्थ पूरा गर्न अघि सारिएको धर्मराजनीति हो ।’

यसले अन्य देशको सार्वभौमिकता, स्वतन्त्रता, आन्तरिक मामिला र मौलिक संस्कृतिमा हस्तक्षेप गर्ने मात्र नभई देशहरूमा अराजकता सिर्जना गर्दै धार्मिक असहिष्णुता निम्त्याउने विज्ञप्तिमा उल्लेख छ ।

‘यो अमेरिकी भूमण्डलीकृत साम्राज्यवादी नीति लागू गर्ने हस्तक्षेपकारी कदम हो,’ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भनेको छ, ‘…उक्त अमेरिकी नीतिले नेपालको स्वाधीनता, परम्परा, नेपालीजनका स्थानीय रितिरिवाज एवं संस्कारलाई तहसनहस पार्ने देखिन्छ । अमेरिकाको यस्तो नीतिको हाम्रो पार्टी कडा शब्दमा विरोध गर्दछ साथै यस्ता कुटिल चालबाट जनतालाई सचेत हुनका लागि विशेष अपील गर्दछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?