+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

भित्र्याउन लागेको धानमा बेमौसमी वर्षाको मार

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते २०:०७
Photo Credit : RSS

२० कात्तिक,काठमाडौं । सोमबार साँझ परेको बेमौसमी वर्षाले नेपालका केही स्थानमा भित्र्याउन लागेको धानमा क्षति पुगेको छ ।

बेमौसमी वर्षाले काठमाडौं उपत्यका, मकवानपुर, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका जिल्लामा भित्र्याउने बेलाको धानमा क्षति पुगेको हो ।

बाँकेका फाँटहरूमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुगेको किसानहरूले बताएका छन् । भित्र्याउन ठिक्क परेको धानको बाला वर्षाले भिजाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिए उनीहरूको भनाइ छ ।

वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्‍याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताए । दुई बिघा खेतमा लगाएको मसिनो जातको धान काटेर स्याहार्ने बेला गए रातिको वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले बेमौसमी वर्षाले काटेको धानमा ठूलो क्षति पुर्‍याएको बताए ।

‘अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पुर्‍याएको छ, के कति क्षति भयो भन्ने तथ्यांक संकलनमा लागेका छौं,’ उनले भने, ‘बाँकेमा छिटो पाक्ने धान किसानले स्याहारिसकेका छन्, ढिलो पाक्ने धान भित्र्याउने बेला क्षति पुगेको छ ।’

उनले छिटो पाक्ने धान रोपेका बाँकेका अधिकांश किसानले धान स्याहारेर गहुँ, तोरीखेतीका लागि खेत तयारी गरिरहेको जानकारी दिए । करिब ६० प्रतिशत बढी किसानले धानबाली भित्र्याइसकेको अनुमान गरिएको घिमिरेले बताए । बाँकेमा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकामा बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याएको छ ।

काठमाडौं उपत्यकाको भक्तपुर क्षेत्रमा पनि बेमौसमी वर्षाले धान किसानलाई समस्या पारेको छ ।

भक्तपुरमा चिसो मौसम हुने भएकाले असारमा रोपेको धान कात्तिक अन्तिमतिर मात्रै भित्र्याउने गरिन्छ । ‘धान पाकेर झुलेको बेला पानीले ठटाउँदा धेरै धान झर्छ, न त्यो टिप्न मिल्छ न सोहोर्न, अब कतिपय ठाउँमा पराल मात्रै रहेको छ,’ भक्तपुरका किसान वीरेन्द्र सैँजु भन्छन् ।

कतिपय किसानले काटेर सुकाएको धान भिज्दा पनि क्षति भएको उनले सुनाए । भक्तपुरमा धान र गहुँ खेती हुने गरेको छ भने कतिपयले तरकारी खेती गर्ने गरेका छन् ।

मकवानपुरको पहाडी क्षेत्रमा रहेको धानमा पनि क्षति पुगेको छ । ‘फाँटतिर कतिपयले धान काटेर राखेका थिए, कान्ला–पाखातिरको धान पनि पाकिसकेको थियो, ह्वार्र आएको पानीले झा¥यो । भिजाएको धान पनि टुक्रेर अब कनिका मात्रै निस्किन्छ । एक्कासि आएको पानीले क्षति पुगेको छ,’ कैलाश गाउँपालिका–८ का रामचन्द्र बर्तौलाले भने ।

गुल्मीको छल्दी खोला फाँटमा काटेर झार्न सुकाएर राखेको धानलाई एक्कासि आएको वर्षाले भिजाउँदा किसान मर्माहत भएका छन् । ‘पर्सि बिटा लगाउने कुरा थियो, तर हिजो पानीले ठटायो । ३० मुरी धान भित्र्याउने ठाउँमा २० मुरी पनि नहुने भयो, त्यो पनि भिजेको भएर टुक्रेर कनिका मात्रै आउँछ,’ स्थानीय विष्णुमाया अर्यालले भनिन् ।

यी त केही ठाउँका उदाहरण मात्रै हुन । यसरी बेमौसमी वर्षाका कारण क्षति भएको धानको यकिन विवरण सरकारका कुनै निकायसँग छैन ।

ठूलो क्षति भएको छैन : कृषि मन्त्रालय

कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले एक्कासि आएको वर्षाले केही क्षेत्रको धान क्षति भए पनि ठूलो नभएको बताए ।

‘गत असोज दोस्रो साता आएको वर्षाको क्षतिको विवरण हामीसँग छ तर हिजोअस्ति केहप् ठाउँमा आएको विवरण छैन, ठूलो क्षति भएको थाहा छैन,’ केसीले भने । उनले गण्डकी प्रदेश लगायत स्थानमा भने काटेर सुकाएको धानमा क्षति पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?