+
+
Shares

आलुको बीउ कुहिँदा एक करोड बराबरको क्षति

रासस रासस
२०८१ कात्तिक २८ गते १९:५३

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका–६ मा बेमौसमी वर्षाका कारण भर्खरै रोपिएको आलुको बीउ खेतमै कुहिन थालेका छन् ।

गत कात्तिक १९ गते परेको बेमौसमी बर्सातका कारण किसानले तीन सय हेक्टर बढी क्षेत्रफलमा लगाएको आलुको बीउ कुहिएपछि किसान मर्कामा परेका हुन् । बीउ कुहिँदा करिब रु एक करोड लगानी खेर गएको किसानले बताएका छन् ।

डुडुवा–६ हिरमिनियाका किसान ओलीराम मुराउले १५ कट्ठा जमिनमा लगाएको आलुको बीउ वर्षाका कारण कुहिँदा एक लाखभन्दा बढी घाटा बेहोरेको बताए । ‘तिहारको भोलिपल्ट परेको पानी खेतभरि जम्यो, पानी जमेपछि बीउ उम्रिएन, सबै कुहियो ।’ उनले भने ।

उनले एउटा पनि नटुसाएको र खनेर हेर्दा बीउ सबै कुहिएको देखिएकाले अब हिउँदभर जमिन बाँझो हुने बताए । आलुसँगै आलुको बीउसमेत उत्पादन गर्दै आउनुभएका अर्का किसान वंशीलाल मौर्यले वर्षाले ठूलो क्षति बेहोर्नुपरेको बताए ।

‘मैले करिब ४० देखि ४५ बिघा क्षेत्रफल जग्गामा आलु लगाउँदै आएको थिएँ, आलुको बीउ मात्र उत्पादन गर्न दुई बिघा पाँच कट्ठा जमिनमा बीउ रोपेको थिएँ, खेतमा पानी जमेपछि सबै नष्ट भयो’, उनले भने ।

डुडुवा–६ का वडाध्यक्ष मोहनराम मिश्रले वडाभित्रका ७० प्रतिशत किसानको आलुखेती नष्ट हुँदा करिब रु एक करोड बराबरको आर्थिक क्षति पुगेको बताए । वडाका भङ्गोटना, चौधरीपूर्वा, उधुमगञ्ज, कालाबन्जार, मुन्सी पूर्वा, बल्दी पूर्वा, अहिरापुर, अट्वारीपूर्वा, हिरमिनिया लगायतका गाउँमा बर्षाले ठुलो क्षति पुगेको उनले बताए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत विनोद घिमिरेले पानीका कारण अन्य स्थानमा भन्दा डुडुवाका किसान बढी प्रभावित भएको जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?