News Summary
Generated by OK AI. Editorially reviewed.- चिनियाँ वैज्ञानिकहरूले आलु र गोलभेँडाबीचको सम्बन्धमा अनुसन्धान गरी गोलभेँडा आलुको आमा भएको पत्ता लगाएका छन्।
- करीब ९० लाख वर्षअघि गोलभेँडा र अर्को वनस्पतिबीच हाइब्रिडाइजेसन हुँदा आलुको भूमिगत दाना बन्ने क्षमता आएको हो।
आफ्नो हास्यव्यंग्य निबन्ध ‘आलु’ मा भैरव अर्यालले गरेको दाबीलाई पत्याउने हो भने गोलभेँडा आलुको ठिमाहा छोरो हो । यद्यपि आफ्नै दाबीमा आफैमाथि शंका गर्दै भैरव लेख्छन् : तर बोट उस्तै भए पनि एउटाको जन्म जराबाट र अर्काको जन्म हाँगाबाट हुने हुँदा यो तर्क खालि पहिलेपहिले गोलभिँडा खान पल्केका बाजेहरूले छाँटेको गफ मात्रै हो जस्तो मलाई लाग्छ ।
आखिर आलु र टमाटरको नाता के हो ? यी दुईमध्ये को पहिले जन्मियो ? यो प्रश्नको गुथ्थी पहिल्याउन भैरव अर्याल त के ठूला-ठूला वैज्ञानिकहरूलाई समेत सकस परिरहेको छ।
तर हालै चिनियाँ वैज्ञानिकहरूले आलु-टमाटर सम्बन्धको पर्दा खोलिदिएका छन् ।
भैरव अर्यालले गोलभेँडालाई आलुको ठिमाहा छोरा भनेकोमा त्यसलाई गलत सावित गर्दै चिनियाँ वैज्ञानिकले गोलभेँडा वास्तवमा आलुको आमा भएको तथ्य पत्ता लगाएका छन् । अनुसन्धानबाट के पत्ता लागेको छ भने करीब ९० लाख वर्षअघि गोलभेँडाजस्तै वनस्पति र एक अर्को प्राचीन वनस्पतिबीच समागम अर्थात् हाइब्रिडाइजेसन हुँदा आलुको उत्पत्ति भएको थियो ।
त्यही हाइब्रिड अर्थात् ठिमाहाले नै आलूको भूमिगत दाना अर्थात् ट्युबर बनाउने क्षमता प्रदान गरेको थियो । सोही कन्दमूललाई नै आज हामी आलुको रूपमा खान्छौँ।
यो शोध सेल नामक जर्नलमा प्रकाशित भएको छ । अध्ययनका प्रमुख शोधकर्ता चाइनिज एकेडेमी अफ एग्रीकल्चरल साइन्सेजका जिनोम जीववैज्ञानिक सम्भेन हुआंग हुन् । उनका अनुसार वास्तवमा गोलभेँडा नै आलुको आमा हो । उक्त प्राचीन हाइब्रिडले आलुलाई नयाँ ठाउँ र कठिन जलवायुमा समेत फैलिने क्षमता दियो।
आलु उत्पत्तिको रहस्य कसरी सुल्झियो ?
आलु, जसको वैज्ञानिक नाम सोलेनम ट्युबरोसम हो, यो विश्वको महत्वपूर्ण कृषिबालीमध्ये एक हो । दक्षिण अमेरिकाको एन्डिज पर्वत तथा एसियाको हिमालय पर्वतसम्मै हजारौँ वर्षदेखि जंगली तथा घरेलु आलु फल्छन्। ती पनि विभिन्न रङ आकार र स्वादका । यद्यपि आलुको दाना कसरी बन्यो त्यो ठूलो एउटा रहस्यको विषय थियो।
यसअघिका विभिन्न अध्ययनहरूबाट के थाहा भएको थियो भने टमाटर र आलु सबैभन्दा नजिकका जीवित नातेदार हुन् । एउटा अर्को एट्युबरोसम समूहको वनस्पति पनि आलूजस्तै देखिन्छ। तर त्यसमा आलूको जस्तो कन्दमूल हुँदैन ।
शोधकर्ताहरूले यो रहस्य सुल्झाउनका लागि ४४ प्रकारका जंगली आलुका प्रजातिहरू, तीनवटा एट्युबरोसम अर्थात कन्दमुल नभएका प्रजाति र १५ वटा जंगली गोलभेँडाका प्रजातिहरूको जिनोमको सिक्वेन्सिङ गरे । वास्तवमा यो आलु र गोलभेँडाबीचको सम्बन्ध पत्ता लगाउन गरिएको अहिलेसम्मकै ठूलो अध्ययन थियो ।
अध्ययनबाट पत्ता लाग्यो कि, आलु प्रजातिहरूको जिनोममा गोलभेँडा र एट्युबरोसम वनस्पति दुवैको जीनको मिश्रण रहेको छ । यो प्राचीन हाइब्रिडको संकेत हो ।
गोलभेँडा र एट्युबरोसमका पूर्वज वनस्पतिहरू करिब १ करोड ३० लाख देखि १ करोड ४० लाख वर्षअघि नै छुट्टिएका थिए । त्यसपछि ८०/९० लाख वर्ष अघिको समयमा यी दुईबीच हाइब्रिड भयो र त्यसबाट आलुको नयाँ वंशावली जन्मियो।
आलुको दाना अर्थात कन्दमूल बनाउनमा गोलभेँडाको योगदान
आलुको कन्दमूल अर्थात् दान त्यो भूमिगत भाग हो, जसले पोषक तत्व संग्रह गर्दछ । यसले आलुलाई कठिन मौसममा जीवित रहन र बीउबिनै प्रजनन गर्नमा मद्दत गर्दछ। गोलभेँडाबाट आएको जिन SP6A नै आलुमा त्यो भूमिगत कन्दमूल बनाउने मूख्य स्विच हो । यसले जमिनमुनि दाना कहिले बनाउन सुरु गर्ने भनेर आलुको बोटलाई बताउँछ ।
त्यसैगरी एट्युबरोसम वनसत्पतिबाट आएको IT1 जिनले चाहिँ भूमिगत जराको वृद्धिलाई नियन्त्रण गर्दछ । जसका कारण आम रूपमा हुने जरा कन्दमूलमा बदलिन्छ र आलूको दाना लाग्दछ ।
वैज्ञानिकहरूका अनुसार ती दुई जिनहरूको मिलनबाटै सही रूपमा आलुको कन्दमूल बन्न सम्भव भएको हो । प्राकृतिक रूपमा हाइब्रिडाइजेसन हुँदा आलुलाई अधिक जेनेटिक क्षमता प्राप्त भयो । जसबाट तिव्र गतिमा यो नयाँ प्रजाति विकसित भयो।
हाइब्रिड पश्चात् आलुका प्रजातिहरू गोलभेँडाभन्दा २० प्रतिशत र एट्युबरोसम भन्दा ३६ प्रतिशत तिव्र गतिमा वृद्धि भए।
एन्डिज पर्वतको उचाइ तीव्र रूपमा बढिरहेको त्यो भौगर्भिक समयमै आलुको जन्म हुने त्यो हाइब्रिडाइजेसन भएको थियो । जसले गर्दा आलूलाई नयाँ वातावरणमा फैलिन मद्दत गर्यो।
वैज्ञानिक के भन्छन् ?
युनभर्सिटी अफ अर्कान्ससका क्रम विकास शास्त्रका जीव वैज्ञानिक जेरेमी ब्यूलियूले यो पछिल्लो अध्ययनलाई वनस्पतिमा प्रमुख उन्नयनका विषयमा गरिएको सबैभन्दा पूर्ण अध्ययनमध्ये एक भएको बताएका छन् । यद्यपि कतिपय वैज्ञानिकहरूले चाहिँ हाइब्रिडाइजेसनले आलुको कन्दमुल निश्चित रुपमा बनाएको भएपनि केवल हाइब्रिडाइजेसन मात्रैले विविधता बढाउनमा योगदान गर्यो भन्ने तर्क प्रश्नहरूको घेरामा रहेको बताउँछन् ।
उता शोधकर्ता सम्भेन हुआंगले चाहिँ यो खोजले नयाँ आलुका जात, खासगरी बीउ उम्रिने खालका, हरूको विकास गर्नमा सहयोग गर्ने बताउँछन् । किनकि वैज्ञानिकहरूले गोलभेँडामा आलुको जिन हालेर गोलभेँडाकै जरामा आलु फलाउन सक्दछन् । यसले विकासको पूरानो प्रक्रियालाई पुनरावृत्ति गर्नेछ।
एजेन्सी
प्रतिक्रिया 4