 
																						११ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि सात उम्मेदवार चुनावी मैदानमा छन् । एक्लाएक्लै चुनाव लड्ने राजनीतिक दलहरूको वाचा यहाँ लागु भएको छ, जहाँ अघिल्लो निर्वाचनमा दलहरू गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका थिए ।
नेपाली कांग्रेसबाट उपाध्यक्ष प्रत्यासी सविता बुढा दलहरू चुनावी मैदानमा एक्लाएक्लै उत्रँदा मतदाताले चासोपूर्वक हेरिरहेको अनुभूति सुनाउँछिन् । ‘यसपटक हामी सबैको मत परीक्षण पनि हुँदैछ,’ उनले भनिन्, ‘यसकारण घरदैलो अभियानमा नागरिकहरूले चासोपूर्वक सहभागिता देखाइरहेका छन् ।’
चुनाव जित्नैपर्ने दबाबमा रहेको उल्लेख गर्दै बुढा भन्छिन्, ‘यो उपचुनाव २०८४ सालको चुनावको तयारी पनि भएकोले जित्नैपर्ने दबाब छ । आगामी चुनावका लागि पनि सन्देश दिनुपर्नेछ ।’
२०७४ को स्थानीय तह निर्वाचनमा सर्केगाडमा अध्यक्ष माओवादी र उपाध्यक्ष लिएर एमाले गठबन्धनसहित चुनाव लडेका थिए । उक्त चुनावमा माओवादीका कृष्णबहादुर रोकाया एक हजार ९२० मत ल्याएर अध्यक्षमा र एमालेका जोशी धामी एक हजार ८४५ मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए ।
तर २०७९ सालमा गठबन्धन बदलियो, कांग्रेस र माओवादी मिलेर नतिजा आफ्नो पक्षमा पारे । गठबन्धनबाट कांग्रेसका ठानबहादुर रोकाया तीन हजार ५४३ मत ल्याएर अध्यक्ष र माओवादीका चन्द्रसिंह कार्की तीन हजार २६९ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका थिए ।
उपाध्यक्ष कार्कीको गत भदौ ४ गते सुर्खेतबाट नेपालगन्जका लागि छुटेको गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा पाँच राजनीतिक दल र दुई स्वतन्त्रसहित सात उम्मेदवार छन् ।
कांग्रेसबाट बुढा, माओवादीबाट देवकी तिमल्सेना, एमालेबाट जाना शाही उम्मेदवार छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाँचा बुढालाई उम्मेदवार बनाएको छ । रामशरा खड्का र नरेश शाही स्वतन्त्र उम्मेदवार छन् ।
विगतका दुइटै चुनावमा गठबन्धन गरेको माओवादी केन्द्र यसपटक एक्लै लडेर परिणाम आफ्नो पक्षमा पार्ने प्रयासमा छ । माओवादीबाट प्रत्यासी रहेकी देवकी तिमल्सेना एक्लै जितेर देशव्यापी सन्देश दिन चाहेको बताउँछिन् । ‘माओवादी केन्द्रले एक्लै चुनाव लडेर जित्छ भन्ने सन्देश दिँदैछु’ उनी भन्छिन्, ‘पार्टीभित्रैबाट बेथिति भएन भने जित निश्चित छ ।’
पार्टीको नीति एक्लै चुनाव लडेर अगाडि बढ्ने रहेको दोहोर्याउँदै तिमल्सेना थप्छिन्, ‘अहिलेको उपचुनाव २०८४ को चुनावका लागि समेत मार्गदर्शक बन्न सक्छ । यसकारण मतदाताहरूमा पनि उत्साह देखिन्छ ।’
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम् उपनिर्वाचनलाई आफ्नो पार्टीको मत परीक्षणको रूपमा लिन्छन् । ‘उपचुनावको परिणामले हामी उकालो लाग्दै छौं कि छैन भन्ने संकेत गर्छ’ मंसिर ६ गते गोरखाको पाटेचौरमा नेता–कार्यकर्ता प्रशिक्षित गर्दै प्रचण्डले भनेका थिए ।
‘खाली अर्काको खुट्टामा टेक्दा माओवादीको पहिचान हरायो, हामी एक्लै भिड्ने हो,’ प्रचण्डले भनेका थिए, ‘एक्लै भिड्दा हाम्रो असली पहिचान र ताकत देखिन्छ ।’
सर्केगाडको उपनिर्वाचनलाई माओवादी केन्द्रले पार्टीको अवस्थाको परीक्षणको रूपमा लिइरहँदा एमाले भने इतिहास रच्ने दाउमा छ ।
एमालेका उम्मेदवार जाना शाहीकी श्रीमान् मेघजंग मतदाताको प्रतिक्रियाले उत्साह थपिरहेको बताउँछन् । उनी भन्छन्, ‘कसैले पनि हार्छु भनेर चुनाव लड्दैन । चुनावी परिणाम जनताको हातमा हुन्छ । बरु यसपटक एमालेले एक्लै चुनाव लड्छ, जित्छ र इतिहास रच्छ ।’
गाउँपालिकालाई दलहरूबीचको सहमतिमा अगाडि बढाउनका लागि समेत एमालेले चुनाव जित्नुपर्ने उनलाई लाग्छ । ‘कांग्रेसको अध्यक्ष छन् । एमालेले उपाध्यक्ष जित्छ अब । माओवादीका कार्यपालिकामा प्रतिनिधिहरू छँदैछन्’, उनले भने, ‘यसले दलीय सहमतिमा गाउँपालिकालाई अगाडि बढाउनसमेत सहज हुन्छ । यो कुरा जनताले पनि बुझेका छन् ।’
गाउँपालिकाको उपाध्यक्षमा एमाले उम्मेदवार शाही भ्रष्टाचार र बेथितिविरुद्ध लड्ने प्रतिबद्धतासहित भोट मागिरहेकी छन् । स्थानीय समस्या समाधान गर्दै अगाडि बढ्न भ्रष्टाचारविरुद्ध एकजुट भएर सुशासनका पक्षमा अडिने उनको प्रतिबद्धता छ ।
२०७९ सालमा सर्केगाडका आठ वडामध्ये माओवादी केन्द्रले तीनमा अध्यक्ष जितेको थियो भने एमाले र कांग्रेसले दुई/दुई वडा अध्यक्ष जितेका थिए । त्यस्तै, एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
चुनावअघि दलहरूले गठबन्धन नगर्ने र एक्लै चुनाव लड्न भाषण गरे पनि स्थानीय तहको उपनिर्वाचनमा प्रायः सबै ठाउँमा चुनावी गठबन्धन गरेका छन् । तर, प्रमुख दलहरू एक्लाएक्लै मैदानमा उत्रिएका सर्केगाडको नतिजाले २०८४ सालको चुनावलाई समेत सन्देश दिनेछ ।
निर्वाचन आयोगका अनुसार सर्केगाड गाउँपालिकामा कूल जनसंख्या ११ हजार ४० रहेको छ । २०७९ सालको चुनावमा कुल मतदाता छ हजार ६८० रहेका थिए । यसपटक १३० जना मतदाता थपिएका छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4