 
																			२५ मंसिर, काठमाडौं । विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंमाथि प्रहरीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा प्रारम्भिक चरणको बयान लिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी होविन्द्र बोगटीका अनुसार, जिल्ला सरकारी वकिलको कार्यालय भद्रकालीमा लगेर उनको प्रारम्भिक चरणको बयान लिइएको हो ।
‘साइबर अपराधको कसुरमा अनुसन्धान गरिरहेका बेला उनी संगठित अपराध र आपराधिक विश्वासघातको कसुरमा पनि जोडिने तथ्य फेला परेको थियो’, उनले भने, ‘यसपछि साइबर अपराधको अनुसन्धान सकिएलगत्तै सीआईबी ल्याएर आपराधिक विश्वासघातमा अनुसन्धान थालेका थियौं ।’
पहिलो चरणको बयान सकिएपनि प्रसाईंसँग फेरि दोस्रो चरणको बयान हुने अधिकृतहरूको भनाइ छ । ‘कतिपय डिजिटल डिभाइसहरूको जाँचको प्रतिवेदन आउन बाँकी छ’, बोगटीले भने, ‘त्यसको प्रतिवेदन आएपछि थप सोधपुछ गर्नुपर्ने हुँदा दोस्रो चरणमा पनि बयान हुनेछ ।’
मंसिर दोस्रो साता झापाको चारआलीका ३६ वर्षीया नविन प्रधान भनिने हरिचन्द्र फुयाँललाई भारतको आछामबाट पक्राउ गरेर ल्याएसँगै प्रसाईंमाथि आपराधिक लाभको कसुरमा अनुसन्धान सुरु भएको थियो ।
भारतबाट नेपालका विभिन्न व्यवसायीलाई फोन गरेर धम्की दिएका फुयाँलले प्रसाईंको निर्देशनमा त्यस्तो फोन गरेको बयान दिएका थिए। उनको बयानपछि प्रसाईंमाथि संगठित अपराध र आपराधिक विश्वासघातको कसुरमा पनि अनुसन्धान थालिएको थियो ।
प्रहरीका अनुसार, हालसम्म चार जना व्यवसायीले प्रसाईंविरुद्ध उजुरी दिएका छन् । भारतबाट फुयाँलले विभिन्न व्यवसायी, पेशाकर्मी लगायतलाई ११३ पटक फोन गरेको कल डिटेल रेकर्ड (सीडीआर) बाट सीआईबीले फेला पारेको छ ।
‘धेरैले प्रहरीलाई खबर नै गर्नुभएको छैन, खबर नगर्नेमध्ये केहीले उनीहरूलाई रकम दिएको हुनसक्ने अनुमान छ’, एक अनुसन्धान अधिकृतले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा पक्राउ परेका थिए । उनले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुरमा अनुसन्धान थालेको थियो ।
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4