+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

एकीकृत समाजवादी बैठकः सडक संघर्षमा जान नेताहरुको सुझाव

केन्द्रीय मूख्यालय आलोकनगरमा जारी स्थायी समिति बैठकमा बोल्ने सबैजसो नेताहरुले सडक आन्दोलनको कार्यक्रम घोषणा गरेर जानुपर्ने निष्कर्ष पनि सुनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २९ गते १९:४६

२९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अधिकांश नेताहरुले सत्ता निर्माणको चलखेल र पार्टी एकताको अनावश्यक उल्झन छोडेर जनताको बीचमा जानुपर्ने सुझाव राखेका छन् ।

केन्द्रीय मूख्यालय आलोकनगरमा जारी स्थायी समिति बैठकमा बोल्ने सबैजसो नेताहरुले सडक आन्दोलनको कार्यक्रम घोषणा गरेर जानुपर्ने निष्कर्ष पनि सुनाएका छन् । ‘महाधिवेशनबाट पारित समाजवादी कार्यक्रम बोकेर आन्दोलनमा जानुपर्ने निष्कर्षमा सबै नेताहरुको सहमति देखिएको छ’, स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार महासचिव घनश्याम भूसालले बैठकमा पेश गरेको कार्ययोजना र अरु समसामयिक एजेण्डामाथि नेताहरुले विचार राखिरहेका छन् । ‘कार्ययोजनामा प्रष्ट भएर अब पार्टीलाई गतिशील बनाउनुपर्छ भन्नेमा कसैको बिमति छैन’, उनले भने ।

‘आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकमा महासचिव भूसालले सडक, सदन र प्रचारका माध्यमबाट जनताको एजेण्डा उठाउने कार्ययोजना प्रस्तुत गरेका छन् । गठबन्धन र सत्ताको अलमलमा पार्टी बस्न नसक्ने निष्कर्ष सहित भूसालले मूलतः एक वर्षे कार्यक्रम घोषणा गर्नुपर्ने प्रतिवेदन प्रस्ताव गरेका छन् ।

‘महासचिवको दस्तावेजमा थप कुराहरु राखेर कार्य योजना बनाउँछौं, तर पार्टीलाई संघर्षमा लानुपर्छ भन्नेमा सबै एकमत भएका छौं’ प्रवक्ता एवं उपाध्यक्ष जगनाथ खतिवडाले भने ।

प्रवक्ता खतिवडाका अनुसार स्थायी समितिमा कुरा राख्ने नेताहरुबीच मूल एजेण्डामा सहमति छ । ‘अब सडक संघर्षमा जानुपर्छ, जनताको एजेण्डा बाहेक अर्थोकमा अल्झन हुँदैन भन्नेमा सहमति देखिएको छ’, प्रवक्ता खतिवडाले भने ।

धारणा राख्ने क्रममा नेताहरुले पार्टी निष्कृय बनेको स्वीकारेका छन् । ‘महाधिवेशनपछि पार्टी एक किसिमले निष्कृय जस्तै बन्न पुग्यो । कार्य योजना र कार्य विभाजन हुन सकेन’, स्थायी समिति सदस्य श्रेष्ठले भने । तर अब अहिलेसम्म देखिएका कमजोरी सच्याएर जानुपर्नेमा नेताहरु एकस्वर छन् ।

‘सधैं हामी सत्ताको चलखेल, राजनीतिक नियुक्तिको भागबण्डा जस्ता कुराहरुमा अल्झियौं । धेरैजसो समय वाम एकता र मोर्चाबन्दी भनिरह्यौं । यस्ता कुराले पार्टीलाई गतिशील बनाउन सकेन’, खतिवडा भन्छन्, ‘अब किसान, मजदुर, विद्यार्थी, उपेक्षित एवं पीछडिएका वर्गको एजेण्डालाई सशक्त रुपमा उठाएर जानुपर्छ भन्नेमा नेताहरुको जोड छ ।’

उनका अनुसार अघिल्लो वर्ष जागरण अभियानका क्रममा पहिचान भएका एजेण्डालाई परिमार्जन र संशोधन सहित अगाडि बढ्नुपर्ने सुुझाव नेताहरुले दिएका छन् ।

एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन गत असारमा सम्पन्न भएको थियो । महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव जस्ता मूल नेतृत्व टुंग्यायो । बाँकी नेताहरु चयनमा लामै समय लिएको एकीकृत समाजवादीले गत १२ भदौमा पदाधिकारी चयन गर्यो ।

तर अहिलेसम्म केन्द्रीय सदस्यहरुको कार्य विभाजन हुन सकेको छैन । जसले गर्दा नेताहरु कामचलाउ जिम्मेवारीमा छन्, पार्टी कामको जिम्मेवारी पाउन सकेका छैनन् ।

प्रवक्ता खतिवडा, जारी स्थायी समितिबाट कार्य विभाजन र कार्ययोजना पारित गरेर पार्टी अगाडि बढ्ने बताउँछन् । ‘कार्य विभाजनबारे हामी भोलिबाट छलफल गर्दैछौं । तर मुख्य कुरा कार्य योजना हो, त्यसलाई टुंग्याउन समय लागेको छ’, उनले भने ।

२६ मंसिरदेखि जारी स्थायी समिति बैठकमा हालसम्म १५ जनाले बोलिसकेका छन् । प्रवक्ता खतिवडाका अनुसार उनीसहित जयन्ती राई, गंगालाल तुलाधार, चन्द्रबहादुर शाही, गणेश विक, माधव पौडेल, गरिमा शाह, कल्याणी खड्का, विजय पौडेल, नागेन्द्र चौधरी, बलराम बास्कोटा, विश्वनाथ प्याकुरेल, जीवनराम श्रेष्ठ लगायतले आफ्ना कुरा राखेका छन् ।

अब श्रीप्रसाद साह, रामचन्द्र यादव सहित केहीले आफ्ना कुरा राखेपछि अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालले आफ्ना कुरा राख्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?