 
																			४ पुस, काठमाडौं । २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो बुधबार सार्वजनिक भयो । सुरुमा यो फोटो कसको हो र कहाँको भन्ने अन्यौल भयो । तर पछि प्रहरी हेडक्वाटरले यो फोटो रवि लामिछानेकै भएको पुष्टि गर्यो ।
सामाजिक सञ्जालमा फोटो भाइरल भएपछि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई बिहीबार बिहानै टेलिफोन गरी फोटोको वास्तविकताबारे सोधपुछ गरेका थिए ।
गृह स्रोतका अनुसार जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति रवि नै रहेको बताएका थिए । हिरासतको फोटो बाहिरिएपछि कास्की प्रहरीलाई यसबारे छानबिन गर्न भनेको पनि आईजी कुँवरले बताएको गृह स्रोत बताउँछ ।
आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने निकोलस भुसालले उक्त तस्वीर आफूले खिचेको सामाजिक सञ्जाल फेसबुकमार्फत नै बताएका थिए । पछि फेसबुकमा लाइभमा आउँदै उनले उक्त तस्वीर आफूले सीसीटीभी फुटेजबाट लिइएको खुलाएका छन् ।
उनले भनेका छन्, ‘मैले यो फोटो सीसीटीभी क्यामेराको फुटेजबाट खिचेको हुँ । खास मैले नखिच्नुपर्ने थियो । तर खिचेछु । उहाँ (रवि)को प्रेसर बढेको भन्ने सुनेर म बुझ्न गएको थिएँ, हौसला दिउँ भनेर गएको थिएँ । त्यतिबेला मैले सीसी क्यामेराको फुटेजबाट फोटो लिएको हो । …प्रहरीलाई बद्नाम गराउने मेरो नियत पनि होइन ।’
भुसालले भनेजस्तै उक्त तस्वीर सीसीटीभी फुटेजबाट लिएको देखिएको पनि प्रहरीको आन्तरिक छानबिनले देखाएको छ । ‘हिरासत कक्षमा भेट्न जाने व्यक्तिहरूलाई मोबाइल लैजान नदिने गरेको र फोटोको अवस्था हेर्दा पनि उक्त तस्वीर सीसीटीभीको डेक्सटपमा देखिएको दृश्यबाट दिइएको देखिन्छ’ प्रहरी स्रोतले भन्यो ।
कास्की प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा ६ वटा हिरासत कक्ष छन् । ती हिरासत कक्षमा करिब २० वटा सीसीक्यामेरा जडान गरिएको छ । रविलाई भने कास्की प्रहरीको दोस्रो तलाको हिरासत कक्षमा राखिएको छ ।
उक्त सीसी क्यामेराको निगरानी कन्ट्रोल रुमबाट गरिएको हुन्छ । कास्की प्रहरीको कन्ट्रोल रुम अर्कै भवनमा गेट नजिक छ । कन्ट्रोल रुममा वरिष्ठ सई र सञ्चार शाखाको निगरानीमा हुन्छ । त्यहाँ २४ सैं घण्टा ‘अन ड्युटी’ हुन्छ । उक्त फोटो कन्ट्रोल रुममा गएर डेक्सटपबाट खिचिएको खुलेको छ ।
स्क्रिनको फोटोको समय हेर्दा उक्त फोटो डिसेम्बर १४ तारिख (मंसिर २९ गते) को दिन दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेन्ड जाँदा खिचेको पाइएको छ ।
प्रहरीको २४ सै घण्टा निगरानीमा हुने उक्त कन्ट्रोल रुमसम्म पहुँच पुर्याएर हिरासतको फोटो खिच्नु र त्यो बाहिरिनुलाई अधिकारीहरु सुरक्षामा गम्भीर कमजोरी भएको बताउँछन् ।
गण्डकी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी भोलाबहादुर रावल भन्छन्, ‘फोटोको बारेमा छानबिन गरेर वास्तविकता पत्ता लगाउन भनेर लेखिपठाएका छौं । सम्बन्धित मान्छेले स्वीकारेको भन्ने कुरा पनि आएको छ । अब त्यतिबेला को–कसको ड्युटी थियो । घटना कसरी भयो भन्नेबारे छानबिनपछि मात्रै खुल्ला ।’ त्यसपछि कारबाहीको विषयमा निर्णय हुने उनी बताउँछन् ।
यता कास्की प्रहरीले पनि घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ । कास्की प्रहरीका प्रमुख तथा एसपी श्यामबाबु ओलियाले घटनाबारे छानबिन सुरु गरिएको बताए । फोटो के–कसरी खिचे, कसरी एक्सेस पुर्याए भन्नेबारे अहिले छानबिनकै क्रममा रहेकाले केही भन्ने सक्ने अवस्था नरहेको उनी बताउँछन् । खिच्नेलाई हुने कारबाहीबारे पनि अध्ययनपछि मात्रै भन्न सकिने उनले बताए ।
प्रहरीको सुरक्षा घेराभित्र रहेको र हिरासतजस्तो संवेदनशील ठाउँको फोटो बाहिरिनु सुरक्षाको दृष्टिकोणले राम्रो नभएको जानकारहरूको बुझाइ छ । यसमा व्यक्तिको गोपनीयताको कुरादेखि मानव अधिकारका कुराहरु पनि जोडिने र सुरक्षाको दृष्टिले पनि जोखिमपूर्ण मानिने जानकारहरू बताउँछन् ।
नेपाल प्रहरीका पूर्वएआईजी बमबहादुर भण्डारी भन्छन्, ‘यदि हिरासतकै फोटो बाहिरिएको हो भने सुरक्षाको दृष्टिले राम्रो होइन । फोटो सत्य हो भने यसमा सुरक्षा कमजोरी भएको देखिन्छ ।’
हिरासतको फोटो बाहिरिनुले सुरक्षाको कमाण्डमा प्रश्न उठ्नु स्वाभाविक रहेको जानकारहरुको बुझाइ छ । ‘जेल, हिरासत, राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थल, अति संवेदनशील क्षेत्रको सेक्युरिटी एरियाको फोटो बाहिरिनुले थप सुरक्षा चुनौती हुन्छ । यस्तोमा सुरक्षा कमाण्डको भूमिकामा प्रश्न उठ्छ । सुरक्षामा लापरबाही देखिन्छ पुष्टि हुन्छ’ एक पूर्वएआईजी भन्छन् ।
अहिलेको अवस्थामा यो फोटोलाई सुरक्षाको दृष्टिले मात्रै नहेरी अन्य कोणबाट पनि विश्लेषण गनुपर्ने तर्क केही प्रहरी अधिकारीहरुको छ । ‘सुरक्षाको दृष्टिकोणले त नराम्रो होला । जुन तरिकाले मानव अधिकार हनन् भयो भन्ने कुरा आएको थियो । यो कोणबाट पनि हामीले हेर्नुपर्छ,’ पूर्वडीआईजी हेमन्त मल्ल भन्छन् ।
फोटो खिच्नेलाई साइबर अपराध, खिच्न दिनेलाई कस्तो कारबाही ?
कानुनका जानकारहरुका अनुसार यसरी कसैको अनुमति विना फोटो/भिडियो खिच्न र सार्वजनिक गर्न पाइँदैन । अधिवक्ता विनोदमणि भट्टराई भन्छन्, ‘कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ । मुलुकी संहितामै यो व्यवस्था छ । न्यायिक हिरासतमा राखेको व्यक्तिको पनि फोटो भिडियो सार्वजनिक गर्न पाइँदैन ।’
फोटो खिच्नेलाई विद्युतीय अपराधको कसुरमा कारबाही गर्ने प्रहरीको तयारी छ । यदि भुसालले भनेजस्तै उनैले यो फोटो खिचेर बाहिर ल्याएको पुष्टि भएमा उनी साइबर कसुरमा पक्राउ पर्न सक्ने छन् ।
यसबारे कास्कीका प्रहरी प्रमुख एसपी ओलिया भन्छन्, ‘थप पुष्टि गर्ने र बुझ्ने काम भइरहेको छ । प्रमाणित भएको अवस्थामा कारबाहीको दायरामा ल्याउँछौं ।’
फोटो खिच्नेलाई साइबर अपराधमा कारबाही हुने बताइए पनि फोटो खिच्न दिने वा आफ्नो सुरक्षामा रहेको कन्ट्रोल रुमको राम्रो निगरानी नगर्नेलाई के कारबाही हुने भन्नेबारे प्रहरीले केही बताएको छैन । यसबारे गण्डकी प्रदेशका डीआईजी भन्छन्, ‘छानबिनपछि मात्रै कारबाहीको टुंगो लाग्छ । अहिले केही भन्न सक्ने अवस्था छैन ।’
 
                









 
                                     
                                 
                             
                                 
             
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4