 
																			२१ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
३८ जनालाई प्रतिवादी बनाउँदै आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, जीबी (गितेन्द्रबाबु) राई, नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी समेतलाई प्रतिवादी बनाएको छ ।
बयानका क्रममा आफूमाथि लागको आरोप अस्वीकार गर्दै पूर्वडीआईजी जोशीले भने इन्कारी बयान दिएका छन् । कुनै समय गोर्खा मिडिया प्रालिको समेत शेयरहोल्डर रहेका जोशीले सहकारीको रकम गोर्खा मिडियामा आएको बारे आफूलाई जानकारी नै रहेको दाबी गर्दै बयान दिएका छन् ।
यसबारेले जोशीले बयानमा भनेका छन्, ‘सहकारीको रकम गोर्खा मिडियामा आएकोबारे जीबी र रविलाई नै थाहा होला । यसबारे मलाई केही जानकारी छैन ।’
यस्तो जोशीको बयान
मैले नेपाल प्रहरीमा ३० वर्षे सेवाअवध पूरा गरी हाल सेवानिवृत्ति जीवन बिताउँदै आइरहेको छु । प्रहरीमा कार्यरत रहँदा तत्कालीन जिल्ला प्रहरी परिसर टेकु काठमाडौंको प्रमुख भई आफ्नो जिम्मेवारी वहन गर्दा मेरो प्रतिवादी गितेन्द्र बाबु राईसँग निज प्रहरी कार्यालयमा सेवाग्राहीको हिसावले सेवा लिन आउँदा चिनजान हुन पुगी निजले आफू नेचर हर्वस इन्टरनेश्नल प्रालि संचालन गर्दै आइरहेको र आफू राम्रो टिभी संचालन गर्ने योजनामा रहेको भनेर सुनाएका थिए ।
साथै, निजले आफू एपि वान र नागरिक न्युज डट कम नाम गरेको टिलिभिजन तथा अनलाइनखबरहरू समेत संलग्न रही काम गर्दै आएको भनि बताएका थिए । प्रतिवादी गितेन्द्र बाबु राईसँग मेरो यसरी चिनजान भई कुराकानी हुँदै जाँदा निजले काठमाडौं शंखमुलस्थित मेरी श्रीमतिको नाममा रहेको सिङ्गो घर भाडामा लिई आफ्नो नेचर हर्बस ईन्टरनेश्नल प्रालि कम्पनी संचालन गर्न भनि म सँग प्रस्ताव लिई आएका थिए ।
मैले तत्कालीन समयमा आफ्नो उक्त घर भाडा लिई होस्टेल संचालन गर्ने व्यक्तिहरूलाई हटाई घरलाई प्रतिवादी गितेन्द्र बाबु राईको आवश्यकता र अनुरोधमा आसारा कस्ट्रक्सन कम्पनीमार्फत पुनः मर्मत गरी भाडामा दिएको हुँ ।
पछि जीबी राईले टेलिभिजन संचालन गर्नको लागि सो क्षेत्रमा दक्ष व्यक्ति को छ भनेर सोधखोज गरिरहेको अवस्थामा एपि वान नाम गरेको टेलिभिजन छाडी निजै गितेन्द्र बाबु राईसँग सम्पर्क हुन आएका लक्ष्मीप्रसाद पौडेलले न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासँग नाम गरेको कार्यक्रम संचालनकर्ता रवि लामिछानेलाई ल्याउन सके राम्रो हुन्छ भनी रवि लामिछानेको नाम प्रस्तुत गरेका थिए ।
त्यसपछि रवि गोर्खा मिडियामा जोडिए । काठमाडौं प्रहरी प्रमुख भएको बेला रविसँग मेरो चिनजान थियो । जीबीकै सल्लाह अनुसार रवि लामिछानेलाई समेत आवद्ध गरी टेलिभिजन संचालन गर्ने कुराकानी भएको र सो टेलिभिजन संचालन गर्दा मलाई विना लगानी टेलिभिजनमा सञ्चालकको हैसियतले आवद्ध हुनु भनिएको थियो ।
तपाईंको नाममा शेयरसमेत खरिद गरिराखिदिन्छु, तर उक्त शेयर तपाईंले पछि मैले भनेको व्यक्तिलाई आवश्यकताअनुसार हस्तानन्तरण गर्नु पर्ने हुन्छ भनि प्रस्ताव गरेकोले उक्त समयमा म पनि प्रहरी सेवाबाट आवकाश भएको हुनाले प्रतिवादीको प्रस्ताव स्वीकार गरी संस्थाको कुल पुँजीलाई ५ करोड कायम गरी दुवैजनाले अंकित मूल्य १०० को दरले २५ हजार कित्ता लिने बोल कबुल गरी म र जीबीले १४ भदौ २०७७ मा कम्पनी रजिस्टर कार्यालय त्रिपुरेश्वरमा गई आवश्यक कागजातहरू पेश गरी संस्थापक सञ्चालकको रूपमा हामी दुवैजना रहने गरी गोरखा मिडिया नेटवर्क प्रालि कम्पनी दर्ता गराएका हौँ ।
हामीले कम्पनी दर्ता गर्दाको अवस्थामा प्रतिवादी रवि लामिछाने भने आफ्नै काम विशेष उपत्यकाबाहिर थिए । कम्पनी दर्ता भएपश्चात कम्पनीको प्रबन्धपत्रमा जीबी र मैले कबुल गरेको शेयर खरिद गर्न आवश्यक पर्ने मेरो भागको लगानी रकम प्रतिवादी जीबी राईले नै निजसँग भएको मौखिक सहमितअनुसार निजको स्ट्यान्डर चार्टर बैंकको खाता एक करोड ७५ लाख रुपैयाँ मेरो नविल बैंकको खातामा जम्मा गरेका हुन् ।
उक्त रकम मैले सोही दिन मेरो नविल बैंकको खाताबाट जारी भएको चेकमार्फत गोरखा मिडिया नेटवर्क प्रालिको ग्लोबल आइएमई बैंक को खातमा जममा गरिदिएको हुँ ।
गोरखा मिडिया नेटवर्क प्रालिको पुंजीलाई बैंकबाट ऋण लिने प्रयोजनार्थ पाँच करोडबाट १२ करोड बनाउनुपर्छ भनेर नेपाल बैंक लि शाखा कार्यालय भूगोलपार्क न्युरोडबाट सुझाव भएअनुरुप गितेन्द्र बाबु राईले मसँग सो पुँजी बढाई ऋण लिने विषयमा कुराकानी गरी मेरो शंखमुलस्थित घर बैंकमा धितो राखी ऋण प्रवाह गर्ने कार्यमा सहयोग गर्नु पर्यो भनी भनेकोले मैले कम्पनीको पुँजी बढाउने र आफ्नो घर बैंकमा धितो राखी कम्पनीको लागि ऋण लिने निजको कुरामा सीधै असहमति जनाएको थिएँ ।
पछि केही कुरा नमिलेपछि मैले सो कम्पनी स्थापना भएको करिव ७ महिनापछि मात्र आफ्नो नाममा भएको शेयर जीबीलाई नै बिक्री गरी कम्पनीको दायित्व र जिम्मेवारीबाट पूर्ण रूपमा अलग भएको हुँ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4